काठमाडाैं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ।
यो प्रदर्शनी २०८२ भाद्र ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। स्टल बुकिङका लागि २०८१ फाल्गुन २७ (आज) देखि चैत्र ४ गतेसम्म रजिष्ट्रेशन खुला गरिएको छ। सर्वेक्षणमा स्टलको उच्च माग देखिएकाले विगतझैं गोला प्रथाबाट वितरण गरिनेछ।
प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल सवारी, अटो कम्पोनेन्ट्स्, ग्यारेज उपकरण, वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरू समूहगत रूपमा सहभागी हुनेछन्। रजिष्ट्रेशन सोहीअनुसार व्यवस्थित गरिएको छ। भारत र चीनलगायतका अटोमोवाइल कम्पनीहरूबाट जानकारी माग भइरहेकाले यस वर्ष छिट्टै रजिष्ट्रेशन खोलिएको आयोजकले जनाएको छ।
नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार यो प्रदर्शनीले सवारी क्षेत्रका उद्योगी, व्यवसायी, कर्मचारी र उपभोक्तालाई सकारात्मक ऊर्जा र नवीन प्रविधिको अवसर प्रदान गर्नेछ। अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनामा योगदान पु¥याउँदै आएको यो क्षेत्रको महत्त्वलाई शोले थप उजागर गर्ने नाडाको विश्वास छ। यसले नेपालको अटोमोवाइल बजारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा पनि गरिएको छ।
FACEBOOK COMMENTS