काठमाडौं । कृषि विकास बैंक लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।
बंगलादेशको ढाकामा आयोजित एक विशेष समारोहका बीच बैंकलाई सो सम्मान प्रदान गरिएको हो । साफाले दक्षिण एसियाका ‘पब्लिक सेक्टर बैंक’हरूको समूह अन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स, इन्टिग्रेटेड रिपोर्टिङ अवार्ड्स एन्ड कर्पोरेट गभर्नेन्स डिस्क्लोजर’ विधामा कृषि विकास बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले प्रकाशन गरेको वार्षिक प्रतिवेदनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र उत्कृष्ट संस्थागत सुशासन कायम राख्न सफल भएको भन्दै साफाले बैंकको उच्च मूल्यांकन गरेको हो ।
बैंकले गत वर्ष पनि यस विधामा साफा अवार्ड प्राप्त गरेको थियो । लगातार दोस्रो वर्ष अवार्ड प्राप्त गरेसँगै बैंकको वित्तीय सुशासन र पारदर्शिता अन्तर्राष्ट्रिय स्तरमै पुनः प्रमाणित भएको छ ।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (आईफ्याक) को एक सञ्जाल साझेदार संस्था हो । यसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स र अफगानिस्तान लगायत दक्षिण एसियाली क्षेत्रका ११ वटा चार्टर्ड एकाउन्टेन्ट निकायहरू आबद्ध छन् । साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित हुने वित्तीय प्रतिवेदनहरूको सूक्ष्म मूल्यांकन गरी उत्कृष्ट संस्थाहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ ।

