काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘एडीबीएल स्मार्ट प्लस’मा आन्तरिक राजस्व विभाग (आईआरडी)को करदाता प्रोत्साहन कार्यक्रम समावेश गरेको छ ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर अनुपालन बढाउने उद्देश्यले बैंकले एपमा यस्तो सुविधा थपेको जनाएको छ ।
नेपाल सरकार तथा आन्तरिक राजस्व विभागद्वारा सञ्चालित यस कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको क्यूआर भुक्तानी गर्ने ग्राहकले दैनिक १ लाख रुपैयाँसम्म र प्रत्येक १५ दिनमा १० लाख रुपैयाँसम्मको बम्पर नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।
कसरी सहभागी हुने ?
कार्यक्रममा सहभागी हुन ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी कृषि विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत मर्चेन्ट क्यूआर प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।
त्यसरी भुक्तानी गर्दा सम्बन्धित प्यान वा भ्याट बिल लिएर प्रमाणीकरणका लागि सुरक्षित राख्नुपर्नेछ ।
दैनिक १ लाखदेखि बम्पर १० लाखसम्म पुरस्कार
आन्तरिक राजस्व विभागले तोकेको व्यवस्थाअनुसार योग्य डिजिटल कारोबार स्वत: भाग्यशाली छनोट प्रक्रियामा सहभागी हुनेछन् ।

एक जना भाग्यशाली ग्राहकले दैनिक पुरस्कारका रूपमा कर कट्टीपछि १ लाख रुपैयाँ नगद पाउनेछन् ।
त्यस्तै, प्रत्येक १५ दिनमा एक जना ग्राहकले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जित्नेछन् ।