काठमाडौं । होटेल सारथीले साधारण सेयर आईपीओ ल्याउने भएको छ । त्यसका लागि होटल र सिटिजन्स क्यापिटलबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
होटेल सारथी, धुलिखेलमा आयोजित समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ । आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन् ।
२०७२ सालमा स्थापना भएको होटेल सारथी सुपरिचित पर्यटकीय गन्तब्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो । २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् । २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको होटलको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस होटल संचालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट, माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो बिशेष पहिचान बनाउन सफल भएको छ ।
FACEBOOK COMMENTS