काठमाडौं । विश्व वातावरण दिवस २०८२ को अवसरमा, नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथनको आयोजना हुने भएको छ ।
राष्ट्रिय स्तरको यो कार्यक्रमले प्रविधि विज्ञ, सिर्जनशील व्यक्तिहरू, उद्यमीहरू र जलवायुका अभियान्ताहरुलाई समेटेर फोहर व्यवस्थापनको बढ्दो समस्यालाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ ।
यो विशेष कार्यक्रम जेठ २२ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा आयोजना हुँदैछ जहाँ देशका प्रतिभाशाली समाधानकर्ताहरू फोहरलाई अवसरका रूपमा परिवर्तन गर्ने कार्यमा संलग्न हुनेछन् ।
एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा आयोजनामा हुने यो ह्याकाथन डिजिटल प्रविधिमा आधारित हुँदै कामगर्दै आएका सेवा प्रदायक, नेपालको औपचारिक फोहर व्यवस्थापन क्षेत्र र प्रगतिशील स्थानीय सरकारबीचको सरकारी–निजी साझेदारीको एक सशक्त उदाहरण हो । ह्याकाथनको उद्देश्य फोहर व्यवस्थापन, रिसाईकल पूर्वाधार, प्लास्टिक प्रदूषण र फोहरमैला व्यवस्थापनमा काम गर्ने अनौपचारिक कामदारहरू विशेष गरी महिलाहरूको सशक्तिकरणका लागि प्रविधिमा आधारित समाधानहरू विकास गर्नु हो ।
“डिजिटल इनोभेसन र वातावरण संरक्षणको प्रयासलाई एकै प्लेफर्ममा जोड्ने यस किसिमको नविन पहलमा साथ दिन पाउँदा हामी निकै खुसी छौ । यस ह्याकाथनले नेपालको सबैभन्दा चुनौतीपूर्ण समस्याहरु मध्येको एक—फोहर व्यवस्थापनका लागि सिर्जनात्मक र प्रविधिमा आधारित समाधानहरूको विकास गर्ने विश्वास लिएका छौ,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।
नेपालमा दैनिक ३,००० टनभन्दा बढी फोहर उत्पादन हुँदै आएको छ, तर औपचारिक रिसाइकल प्रणाली अझै विकासोन्मुख अवस्थामा रहेको छ र फोहर व्यवस्थापनको क्षेत्रमा महिलाहरूको सहभागिता ५% भन्दा कम रहेको छ । यो ह्याकथनले अहिलेको परिस्थितिलाई परिवर्तन गर्दै नविन, समावेशी र कार्यान्वयनयोग्य विचारहरूलाई प्रोत्साहन गर्दै समुदाय र जलवायु दिगोपनमा आधारित परिवर्तनशील अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको छ ।
“यो केवल ह्याकाथन मात्र होइन, फोहरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनःपरिकल्पना गर्ने राष्ट्रिय आह्वान हो,” खालिसिसि का संस्थापक तथा सिईओ अमुन थापाले भने । “यस प्लेटफर्म मार्फत हामी समस्या समाधान गर्न दिगो प्रणाली विकासका लागि युवा, महिला र प्रविधिकर्मीहरूलाई सक्षम बनाउने मार्गहरू निर्माण गर्दैछौं ।”
ह्याकथनमा सहभागी हुन जेठ १५ सम्म आवेदन खुला रहेको छ । यसमा विद्यार्थी, स्टार्टअप, ईन्जिनियर, डिजाइनर, कोडर, फोहरमैला व्यवस्थापनमा अनौपचारिक रुपमा योगदान पुर्याउँदै आएकाहरु लगायत सफा तथा स्मार्ट नेपाल बनाउन इच्छुक सबैले भाग लिन सक्छन् । ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँ बिनाको फोहर, फोहरमा महिलाको उद्यमशीलता र डिजिटाईज ट्रास गरी चार मुख्य विषयगत क्षेत्रहरूमा प्रतियोगीहरूले समाधान विकास गर्नु पर्नेछ ।
यस ह्याकाथनलाई गोल्यान गु्रप, प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआईवाइइएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, व्यापार पाठशाला, एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टले सहयोग गरेका छन् ।
FACEBOOK COMMENTS