-सुनदा खड्का
कोभिड –१९ को महामारीले गर्दा ल्यान्डपोर्ट अनि एयरपोर्ट सबै बन्द भएपछि रोजगारी, आफन्तसँग भेटघाटलगायत विभिन्न प्रयोजनले विदेश गएका नेपाली पनि स्वतः तीन चार महिनादेखि विदेशमै थन्किनुप¥यो । नेपालको लकडाउन लम्बिँदै जाँदा देश फर्किन अझै कति कुर्नुपर्ने हो भन्ने अस्तव्यस्तताका बीच नेपाल सरकारले अमेरिकामा अड्किएका आफ्ना नागरिकलाई नेपाल आउन चार्टर उडानको व्यवस्था मिलायो । यसबाट धेरै जनालाई राहत मिल्ने देखियो । अमेरिकाबाट नेपाल जाने फ्लाइट दुईवटा एयरपोर्ट (न्युयोर्क र टेक्ससको ड्यालस)बाट मात्र हुने भएपछि म पनि आफ्नो आमाबुबालाई लिएर टेक्सस राज्यको ह्युसटनबाट चार सय किलोमिटर टाढाको ड्यालस पुगेँ ।
त्यहाँ पुग्दा थाहा भयो, कैयौँ नेपाली निकै टाढाका राज्य कोलोराडो र क्यान्ससदेखि आफन्तजनलाई स्वदेश फर्काउन १४–१५ घन्टाको यात्रा तय गर्दै ड्यालस आएका रहेछन् । स्वदेश फर्कने प्रतीक्षामा रहेका अधिकांश त वृद्धवृद्धा नै हुनुहुन्थ्यो । कोही घरपरिवारका कारण त कोही व्यावहारिक बाध्यताले ‘बरू मरे नेपालमै मरिन्छ’ भन्ने सोच राखेर अनेक कठिनाइका बाबजुद एकतर्फी १६ सय अमेरिकी डलर तिरेर नेपाल फर्किंदै हुनुहुन्थ्यो । तर, आफ्नो देशको एयरपोर्टमा पाइला टेक्न नपाउँदै त्यहाँको अव्यवस्थित प्रक्रिया अनि नेपाली सेनाको लाचार र अमानवीय व्यवहारले २४ घन्टा लामो यात्रा तय गरेर थाकेर आएका ती नेपालीको मन निकै खल्लो बनायो ।
कोभिड–१९ को केन्द्रविन्दु बनेको अमेरिकाबाट फर्केका नेपालीका लागि थप सावधानी अपनाउनु जायज हो । नेपालमा महामारी नफैलाउन सजग हुनु आवश्यक पनि थियो । तर, जब २४ घन्टे यात्राले आलसतालस भएका कैयौँ वृद्धवृद्धालाई टन्टलापुर घाममा घन्टाँै उभ्याइन्छ, थकान अनि घामले आत्तिएका ती नेपालीलाई पानीको समेत व्यवस्था गरिन्न, तब ती नेपालीलाई छर्लंग हुन्छ, आफ्नो देश भनेर मरिमेटे पनि अक्षम राज्यव्यवस्थाको बन्दी बनेको देशले असहायको पानीले प्यास मेट्ने प्रयत्नसमेत नगर्ने रहेछ । कैयौँ घन्टा लाइन बसेपछि जब प्रदेश अनुसार छुट्याएर होल्डिङ सेन्टर लाने प्रक्रिया सुरु भयो, त्यहाँको विडम्बना त असह्य नै रहेछ । आफ्नो लगेज बसमा लोड गर्न नसकेपछि थकानले आकुलव्याकुल वृद्धवृद्धाले गरेको गुहारसमेत सेनाका राष्ट्रसेवक जवानहरूले सुनेको नसुन्यै गरेछन् । उनीहरूमा एक चिम्टी मावनता नदेख्दा ती वृद्धवृद्धाको मनमा लाग्यो होला, यिनीहरु क केवल चिल्ला गाडी चढेर हिँड्ने भीभीआईपीको सेवाका लागि मात्र तयार राखिएका रहेछन् । आफूले तिरेको करको रकमबाट पालिएका राष्ट्रसेवकबाट जनताले सहयोग एवं सुरक्षा अपेक्षा गर्नु अन्यथा पनि त होइन ।
हुन त अमेरिकाको सुखसयलमा बसेर फिल्डमा काम गरिरहेका नेपालीलाई खोट लगाउन सजिलो छ भन्ने पनि धेरै होलान् । तर, यो लेख एउटा घटनामा मात्र आधारित छैन । केही दिनअघि मात्रै साउदी अरबबाट आएका नेपालीको कोभिड १९ को महामारीमा भोग्नुपरेको समस्या अनि आफ्नो देशमा आएपछि पाएको अमानवीय व्यवहारको फेहरिस्त सुन्दा लाग्यो, समस्या अमेरिकाबाट या खाडीबाट आउने नेपालीको गुनासामा होइन, आफ्ना नागरिकको कष्ट बुझ्न नसक्ने नेता, नीतिनिर्माता अनि गनिएका राष्ट्रसेवकहरूमा रहेछ । खाडीको रेमिट्यान्सले राष्ट्रको २५ प्रतिशत जीडीपी धानिएको तथ्य आँखै अगाडि भए पनि बेरोजगार भएका नागरिकबाट ५००–६०० डलर बराबरको टिकट काट्न लगाइनु पक्कै न्यायसंगत होइन । जबकि, यस्तो प्रतिकूल अवस्थामा स्वदेश फर्कने टिकटको खर्च रोजगारदाता कम्पनीबाटै भराउन सकिने प्रावधान रहेको नेपाल सरकारकै अधिकारीहरुले बताउँदै आएका छन् । हाम्रो देशको शासन व्यवस्था यतिसम्म अकर्मण्य हुँदा, गरिबीको मारमा परेका नेपालीलाई यतिसम्म अवहेलना गरिँदा एकोहोरो राष्ट्रप्रेमको नारा कहिलेसम्म पो टिक्ला ? जब महिनाँै खाडीमा दालमोठ चिउरा खाएर ऋण गरेर बल्लबल्ल घर फर्केका आफ्ना नागरिकलाई देश टेक्नासाथ एक बोतल पानीको समेत व्यवस्था गरिँदैन, तब लाग्छ, देशले त गल्फमा छटपटिएका आफ्ना कर्मठ नागरिकलाई होइन, उनीहरुमार्फत आउने रेमिट्यान्सलाई मात्र माया गर्ने रहेछ ।
देशको शासन व्यवस्थाले जनताको घाउ निको गर्नुको सट्टा त्यहाँ नुन छर्किन्छ, नेपालीलाई आफ्नो राष्ट्रप्रेम एकतर्फी लाग्न थाल्छ, आफू टुहुरो भएको आभास हुन्छ । नेपाली नै नरहे, नेपालीको सम्मान नै नभए, नेपाल अनि नेपालप्रेम कसरी रहला त ? के राष्ट्रप्रेम सधैँ एकतर्फी हुनुपर्ने हो ? स्वदेश अनि विदेशमा बस्ने नेपालीले कहिलेसम्म देशको लाचारी सहालान् त ? देशलाई स्विजरल्यान्ड बनाउने खोक्रो आश्वासन दिनुभन्दा पहिले आफ्नो नागरिकको पीडा अनुभूत गर्ने व्यवस्था पो गर्ने हो कि?
(लेखक अमेरिकाको एमडी एन्डरसन क्यान्सर सेन्टरमा विद्यावारिधि गर्दै छिन् ।)
FACEBOOK COMMENTS