दाङ । दाङमा चट्याङ लाग्दा दुई भैँसीसहित खसी, बाख्रा र कुखुरा जलेर मरेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७, घुसेरी निवासी सागर पौडेलको गोठमा चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका दुईवटा भैँसी, तीनवटा खसी, एउटा बाख्रा र १० वटा कुखुरा जलेर मरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
उनका अनुसार घटनामा एक भैँसी घाइते भएको छ भने गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । यद्यपि, मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
आगो आज बिहान करिब साढे २ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पर्सेनीबाट प्रहरी निरीक्षक देवीलाल अधिकारीको कमाण्डमा चार जनाको टोली खटिएको थियो ।
FACEBOOK COMMENTS