कांग्रेस केन्द्रीय समिति बैठक जारी, विभिन्न १३ एजेन्डामा छलफल
कर्पोरट खबर
9:39 pm, सोमबार, असार १६, २०८२
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।
बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा केन्द्रीय सदस्यहरुले धारणा राखे ।
यस्तै, शुभेच्छुक संस्थाबारे छलफल, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा र संसद् तथा सरकारमा पार्टीको भूमिकाको प्रभावकारिता, समसामयिक विषयलगायत विविध एजेन्डामा छलफल जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरे ।
यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकका एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण सम्बन्धमा बैठकलाई जानकारी गराए । साथै उनले केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय सम्बन्धमा र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन तथा बिस्तार सम्बन्धमा प्रस्ताव प्रस्तुत गरे ।
FACEBOOK COMMENTS