सिरिश कुमार मुरारका
संयोजक, नेपाल मोबिलिटी एक्स्पो, २०२५
नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई संगठित गरी दिगो र सुरक्षित बनाउने मुख्य उद्देश्य राखेर २०८१ फागुन ९ गते गठन भएको नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफेक्चर एसोसिएशन (नाइमा) ले यही साउन २१ देखि २५ गतेसम्म ‘नेपाल मोबिलिटी एक्स्पो, २०२५’ आयोजना गर्दैछ । स्थापनापछि पहिलोपटक आयोजना गर्न लागेको एक्स्पोको आवश्यकता, औचित्य, उद्देश्य, अटो क्षेत्रमा पर्ने सकारात्मक प्रभाव र तयारीको अवस्थालगायत विषयमा एक्स्पोका संयोजक सिरिश कुमार मुरारकासँग कर्पोरेट खबरले लामो कुराकानी गरेको छ । प्रस्तुत छ कुरारकासँग कर्पोरेट खबर डटकमका ज्योति जीसीले गरेको कुराकानीको सम्पादित अंश–
नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन (एनएआईएमए–नाइमा) ले आउँदो साउन २१ देखि २५ सम्म ‘नेपाल मोबिलिटी एक्स्पो, २०२५’ आयोजना गर्दैछ । यसको आवश्यकता, औचित्य र उद्देश्य के–के हुन् ?
नाइमाले आफ्नो छोटो यात्रामा पहिलोपटक ‘नेपाल मोबिलिटी एक्स्पो, २०२५’ आयोजना गर्न लागिरहेको छ । खासगरी नयाँ प्रविधि, स्टार्टअप, निर्माणकर्ता र सेवाप्रदायकबीच सहकार्यको अवसर प्रदान गर्न तथा आम उपभोक्ता र व्यवसायीलाई नवप्रवर्तन र लगानीमा आकर्षण गर्ने उद्देश्य राखेर यो एक्स्पो आयोजना गर्दैछौँ ।
अर्को कुरा नेपालमा महत्त्वपूर्ण चाडपर्व दसैं तथा तिहार नजिकिँदै छ । यो पर्वलाई हामी नेपालीले नयाँ लगाउने, मीठो खाने र केही नयाँ सुरूवात गर्ने अवसरका रूपमा पनि लिने गरेका छौँ । त्यसकारण हाम्रो यो एक्स्पो दसैंलक्षित पनि छ । किनकी दसैंमा नयाँ गाडी वा मोटरसाइकल किन्ने र आफन्तकहाँ टीका अनि आर्शीवाद थाप्न जाने इच्छा धेरैको हुन्छ । विभिन्न अफरहरूसहित उहाँहरूको त्यो इच्छा पूरा गर्नका लागि पनि हामीले यो एक्स्पो आयोजना गर्न लागिरहेका छौँ । यो नेपाली अटो इन्डष्ट्रीको ‘टोटल एक्जिविसन’ हो ।
यो एक्जिविसनमा टू–ह्वीलर्स, फोर–ह्वीलर्स र थ्री–ह्वीलर्सको कम्प्लिट सोलुशन पाउनुहुनेछ । यहाँ न्यू टेक्नोलोजी इलेक्ट्रिक भेहिकल (ईभी), इन्टर्नल कम्बोस्ट इन्जिन (आईसीई) का टू, थ्री र फोर ह्वीलर्सको प्रदर्शनी हुनेछ । यसले हाम्रा ग्राहकहरूलाई एकै ठाउँबाट सबै कुराको एकसाथ जानकारी लिन र वस्तु तथा सेवाबीचमा तुलना गर्न अनि खरिद गर्न सहज हुनेछ । यसले नेपाली उपभोक्ताको दसैं तथा तिहारजस्ता पर्वहरूलाई थप उल्लासमय बनाउने विश्वास हामीले लिएका छौँ ।
साथै, नेपालको आर्थिक स्थितिलाई माथि उठाउनका लागि पनि हाम्रो एक्स्पो महत्त्वपूर्ण हुनेछ । संसारको इतिहास हेर्ने हो भने अर्थतन्त्रको विकासका लागि अटोमोबाइल क्षेत्र निकै महत्त्वपूर्ण सावित भएको पाउँछौँ । नेपालको अर्थतन्त्र उकास्न पनि अटोमोबाइल क्षेत्रको विकास र विस्तार अपरिहार्य छ । मेरो विचारमा अटो क्षेत्रबिना अर्थतन्त्र उकास्न सम्भव छैन ।
यस प्रकारका प्रदर्शनीहरू केवल आफ्नो सामान बिकाउनका लागि मात्रै केन्द्रित हुने गरेको देखिन्छ । त्यस्तोमा नेपालको अटो क्षेत्रले पाउने लाभ के हो ?
दसैंको बेला प्राय: सबैले अफर निकाल्नु नै हुन्छ । तर, ती अफरहरू सुनेपछि वा देखेपछि हरेक गाडी र मोटरसाइकल/स्कुटरको शोरूममा पुग्न ग्राहकहरूलाई समय हुँदैन । तर, एकै छानामुनी तीनै अफरहरूका साथ सबै ब्राण्डका गाडीहरू हेरेर, तुलना गरेर आफ्नो क्षमता अनुसारको खरिद गर्न पाउनु ग्राहकहरूका लागि यो एक्स्पो सहज थलो हो । प्रदर्शनी आफैंमा बिक्रीको थलो होइन, तर माध्यम भने पक्कै हो । अर्को कुरा, यहाँ व्यापारीहरूले गाडी बेच्ने मात्र उद्देश्य राखेका हुँदैनन् । उनीहरूले भविष्यमा आउन लागेको र आफूले ल्याउन लागेको नयाँ ब्राण्ड र प्रडक्टहरूको बारेमा पूर्वजानकारी पनि दिने गर्दछन् । त्यसकारण यी सबै गतिविधिहरू अटो क्षेत्रलाई फाइदा पुर्याउनकै लागि हुन् ।
तपाईं ‘नेपाल मोबिलिटी एक्स्पो, २०२५’ को संयोजक हुनुहुन्छ । तयारीहरूबारे पनि केही जानकारी गराइदिनुहोस् न ?
हामीले एक्स्पोको तयारी धमाधम गरिरहेका छौँ । प्रदर्शनकर्ता व्यवसायीहरू र ग्राहकहरूलाई सहभागितामा सहज हुनेगरी तयारीलाई अगाडि बढाइरहेका छौँ । यो बीचमा हामीले स्टल बुकिङको काम सम्पन्न गरिसकेका छौँ । जसअनुसार यो एक्जिविसनमा टू–ह्वीलर्सका १७ वटा ब्राण्ड, फोर–ह्वीलर्सका २१ वटा ब्राण्ड, कमर्सियल भेहिकलका सातवटा र थ्री–ह्वीलर्सका एउटा ब्राण्डले सहभागिता जनाउने सुनिश्चित भएको छ । त्यसका लागि हामीले कूल ४८ वटा स्टल व्यवस्थापन गरेका छौँ । यी स्टलहरूमा आईसीई र ईभी दुईवटै रहनेछन् । अबको हाम्रो तयारी फिनिसिङको हो, जसले हाम्रा एक्जिविटर र ग्राहकलाई अधिक सहजता प्रदान गरोस् ।
आजको दिनमा भृकुटीमण्डपमा ५० वटा भन्दा बढी स्टल चाहेर पनि राख्न सकिने अवस्था छैन, स्पेस छैन । त्यसकारण हाम्रा ५० जना सदस्यहरूका लागि पुग्नेगरी स्टलहरू निर्माण गरेका छौँ । ती स्टलहरू फराकिला हुनेछन्, जहाँ एक्जिविटरहरूले आफ्नो मुख्य ब्राण्डका साथै अन्य सहायक वस्तु तथा सेवाहरूको पनि प्रदर्शन गर्न सकून् ।
भव्य तयारीका साथ पहिलोपटक हुन लागेको ‘नेपाल मोबिलिटी एक्स्पो, २०२५’ मा नयाँचाहिँ के देख्न पाइन्छ ?
केही नयाँ दिनकै लागि ‘नेपाल मोबिलिटी एक्स्पो, २०२५’ आयोजना गर्न लागेका हौँ । हामी अवश्य पनि नयाँ केही दिनेनै छौँ । तर, के नयाँ दिँदैछौँ भन्ने कुरा अहिले भन्न चाहादैनौँ । किनकी अहिले नै भन्यौँ भने भिजिटरहरूको ‘एक्साइटमेन्ट’ घट्न सक्छ । अर्को कुरा, व्यवसायीहरूले ल्याउने भन्नुभएको प्रडक्टहरू सम्बन्धित ठाउँहरूबाट यहाँसम्म ल्याउन सक्नुहुन्छ कि हुन्न भन्ने कुराले पनि अर्थ राख्छ । किनकी वर्षातको समय छ, बाढी–पहिरोलगायत प्रकोपका कारण बाटोघाटोहरूमा समस्या आयो भने लक्षित वस्तु तथा सेवाहरू प्रदर्शनीस्थलसम्म नआइपुग्न पनि सक्छ । अहिले हामीले कुरा गरिराखेको समयमा नेपाल चीन जोड्ने मितेरी पुल बाढीले बगाएको अवस्था छ ।
यो एक्जिविसनमा प्रडक्टहरूका साथै अन्य नयाँ स्वाद पनि हामी दिँदैछौँ । त्यो स्वाद भनेको अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल तथा अन्तर्क्रियाका कार्यक्रमहरू हुन् । हाम्रो नाइमाको सातवटा पिलरका रूपमा अटो शो प्लानिङ कमिटी, वर्कफोर्स ट्रेनिङ एण्ड बेष्ट प्राक्टिसेस कमिटी, रोड सेफ्टी एण्ड इन्फ्रास्ट्रक्चर कमिटी, इन्नोभेसन एण्ड सस्टेनाबिलिटी कमिटी, ब्राण्डिङ एण्ड कस्टमर एजुकेशन कमिटी र पोलिसी एड्भोकेसी कमिटी छन् । ती सबै कमिटीले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयहरूमा सरकारी निकाय, पत्रकार, उपभोक्ता, ट्राफिक प्रहरी, विद्यार्थीलगायत अन्य सरोकारवालाहरूसँग कुनै न कुनै रूपमा छलफल र बहस चलाउने छ । अर्को कुरा, यो एक्जिविसनमा थ्री ‘एस’ सिस्टम अर्थात् सेल्स, स्पेयर्स एण्ड सर्भिसको कम्प्लिट प्याकेज पाउनुहुनेछ ।
एक्स्पो भ्रमणका लागि आउने सहभागीहरूको सङ्ख्या र कारोबार लक्ष्य कति अपेक्षा गर्नुभएको छ ?
हाम्रो यो एक्जिविसन ‘प्रोफिटएविलिटी’ का लागि होइन, इभेन्टलाई ‘सक्सेस’ बनाउने प्रमुख लक्ष्य हो । किनभने नाइमाको यो ‘फर्स्ट एक्जिविसन’ हुँदैछ । एक्जिविटर, भिजिटर वा उपभोक्ता र अन्य व्यक्तिहरू सबैले राम्रोसँग सुविधाका साथ प्रदर्शनस्थलमा समय बिताउन सक्ने वातावरण बनाउन हामी लागि परेका छौँ । एक्जिविटरले आफ्ना वस्तु तथा सेवाहरू सहज रुपमा ग्राहकसम्म पुर्याउन सकून् र यो एक्जिविसनलाई उदाहरणीय बनाउन सकौँ यो नै हाम्रो एकमात्र लक्ष्य र उद्देश्य हो । कारोबार लक्ष्य नभए पनि सहभागीहरूको सङ्ख्या अधिक होस् भन्ने अपेक्षामा छौँ ।
यहाँले सुविधा र सहजताको कुरा गर्नुभयो । त्यसको महत्त्वपूर्ण ‘कम्पोनेन्ट’का रूपमा टिकट र पार्किङलगायतको व्यवस्थापन कसरी गर्ने तयारी गर्नुभएको छ ?
टिकटका लागि हामीले खल्तीसँग टायअप गरिसकेका छौँ । यसबाट भिजिटरहरूले आफ्नो अनुकुल अनुसार घरबाटै टिकट लिन सक्नुहुनेछ । यसका साथै प्रदर्शनस्थलमा पनि फिजिकल र डिजिटल दुवै प्रकारका टिकट काउन्टरको व्यवस्था गरिने छ । सर्वसाधारणले प्रतिव्यक्ति २०० रुपैयाँ र विद्यार्थीले प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क तिरेर एक्जिविसन भिजिट गर्न सक्नुहुनेछ । ज्येष्ठ नागरिकलगायतका हकमा पनि विशेष व्यवस्थाका साथ हामी एक्जिविसनमा उपस्थित हुनेछौँ । पार्किङलगायत विषयमा हामीले अधिकतम सहजता उपलब्ध गराउनेगरी ‘वर्कआउट’ गरिरहेका छौँ ।
नाइमाले पहिलोपटक यो एक्स्पो आयोजना गर्न लागेको भए पनि नेपालमा अटोसम्बन्धी शोहरू विगतदेखि हुँदै आएका छन् । अन्य अटो शोका तुलनामा यो के आधारले भिन्न रहनेछ ?
अन्य संस्थामा सदस्य सङ्ख्या नै तीन हजारसम्म छ । नाइमामा रहनुभएका कतिपय व्यवसायी मित्रहरू अन्य संस्थामा पनि सदस्य हुनुहुन्छ । तर, नाइमाको फोकस फोर र टू ह्वीलर्समा छ । हामी ‘फोकस अप्रोच’मा जान चाहान्छौँ । फोर र टू ह्वीलर्स म्यानुफ्याक्चर्सतिर पनि लागिसकेको छ । त्यससँग सम्बन्धित नीतिगत कुराहरूमा कहाँ–कहाँ समस्या आउँछ त्यस विषयमा समाधान खोज्दै राज्यका निकायहरूसँग लविङ गर्ने भन्नेमा हाम्रो फोकस हुन्छ । नाइमामा जे–जे ब्राण्ड छन् ती सबै अरु संस्थामा पनि जोडिएकै छन् । अन्य संस्थालाई ‘डिस्करेज’ गर्ने उद्देश्य छैन । हाम्रो उद्देश्य भनेको फोर र टू ह्वीलर्सको एजेण्डालाई बोकेर अगाडि बढ्ने हो । यसमा आएको चुनौतीलाई समाधान गर्नु हाम्रो अर्जुनदृष्टि रहनेछ । त्यसकारण अन्य संस्थाको इभेन्टहरूमा तुलना गरिरहन पर्दैन भन्ने मलाई लागेको छ । समग्रमा भन्नुपर्दा, अटोमोबाइलसँग सम्बन्धित समस्या र समाधान नाइमाको अस्तित्वमा छन् । त्यसै अनुसार हाम्रा गतिविधिहरू केन्द्रित हुनेछन् ।
यो एक्स्पोले नेपाली अटोमोबाइल उद्योगमा नयाँ प्रविधि, लगानी र रोजगारीका क्षेत्रमा के कति योगदान पुर्याउनेछ ?
सरकारकै तथ्याङ्कहरू अध्ययन गर्ने हो भने पनि नेपालको अटो क्षेत्रमा एक लाख भन्दा बढी मानिसहरू प्रत्यक्ष–परोक्षरूपमा संलग्न रहनुभएको छ । पछिल्लो समय फोर र टू ह्वीलर्सको एसेम्बलदेखि यहीँ उत्पादन गर्नेसम्मका उद्योगहरू स्थापना हुने क्रम सुरू भएको छ । यसले मुलुकमा ठूलो सङ्ख्यामा रोजगारी सृजना गर्ने अपेक्षा राखेका छौँ । यसरी रोजगारी सृजना गर्ने व्यक्ति वा उद्योगहरूलाई प्रोत्साहित गर्नकै लागि यसप्रकारको मेलाहरू हामीले आयोजना गर्नुपरेको हो । तसर्थ यो एक्स्पोले पनि मुलुकको रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने विश्वास हाम्रो छ । अहिले पनि अटो सेक्टरले मुलुकमा उत्पादित अटो क्षेत्रका दक्ष जनशक्तिहरूलाई राम्रो सेवासुविधाका साथ नेपालमै रोजगारी उपलब्ध गराउँदै आएको छ । यसमा राज्यले पनि समय सुहाउँदो कोर्सहरू पढाएर उहाँहरूलाई अहिलेको समस्या र चुनौतीसँग जुध्न सक्ने बनाउन आवश्यक छ । सीटीईभीटीले अहिले दिइरहेकोजस्तो व्यावसायिक शिक्षाले अहिलेको माग धान्न सक्दैन । परिमार्जन गर्न जरुरी छ ।
यस्तै, हामीले मेला वा प्रदर्शनी गर्ने भनेको नै नवप्रवर्तनलाई परिचय गराउनका लागि हो । संसारमा आएका नयाँ र प्रविधियुक्त सवारी साधनहरूको आयात गरेर मात्रै हुँदैन त्यसको जानकारी उपभोक्तासम्म पुर्याउनु र बजारीकरण मुख्य कुरा हो । त्यसका लागि पनि यो एक्स्पो सामूहिक प्रयत्न हो, जसले संसारभर आएका नयाँ प्रविधियुक्त सवारी साधनबारे एउटै छानामुनिबाट धेरैलाई जानकारी दिन सकोस् । बजार र ग्राहकको बढोत्तरीसँगै लगानीको क्षेत्र स्वत: बढ्ने भएकाले यो एक्स्पोबाट तपाइँले भन्नुभएकोजस्तो प्रविधि, लगानी र रोजगारी सृजनाको क्षेत्रमा कोसेढुङ्गा सावित हुने विश्वास हाम्रो छ ।
पछिल्लो समय नेपालमा आईसीई गाडीको तुलनामा इलेक्ट्रिक भेहिकल (ईभी) को आयात, बिक्री र प्रयोग दिनप्रतिदिन बढिरहेको छ । यो एक्स्पोबाट ईभीलाई कसरी इन्टरड्युस गराउँदै हुनुहुन्छ ?
अहिले आईसीई इन्जिनको तुलनामा ईभी गाडीको बिक्री बढी छ । पछिल्लो समय आईसीई गाडीको बिक्री पनि क्रमश: बढ्दो क्रममै छ । जे–जे भए पनि यो एक्स्पोमा यो गाडी डिस्प्ले गर, त्यो गर हामी भन्दैनौँ र भन्न पनि मिल्दैन । हामीले ब्राण्डलाई डिस्प्ले गर्न दिने हो । अहिले त धेरैजसो ब्राण्डका दुईवटै गाडी छन्, अझ हाइब्रिड पनि आइसकेका छन् । त्यस्तोमा उहाँहरूले सबै वा कुनै एउटा वा दुईवटा डिस्प्ले गर्नुहुन्छ भने त्यो उहाँहरूको मार्केट पोलिसीमा भर पर्छ । हामी सबैले सम्झिनुपर्ने कुरा, यो मोबिलिटी एक्स्पो हो, यहाँ आईसीई, ईभी र हाइब्रिड सबैको डिस्प्ले हुन्छ ।
यो मोबिलिटी एक्स्पोको संयोजन गरिरहँदा आइपर्ने चुनौतीहरूचाहिँ के–के रहेछन् ?
सबैभन्दा पहिला त हामीकहाँ पूर्वाधार कै चुनौती छ । मैले अघि पनि भनिसकेँ भृकुटीमण्डपमा ५० वटाभन्दा बढी स्टल व्यवस्था गर्नै सकिँदैन । अर्को कुरा सुविधायुक्त शौचालय र पार्किङको अभाव छ । लार्ज स्केलमा प्रदर्शनी गर्न सकिने कुनै पनि अवस्था छैन । अहिले वर्षातको समय छ, पानी दिनप्रतिदिन परिरहेको छ । मलाई लाग्छ हाम्रो एक्जिविसनको समयमा पनि पार्न पर्छ होला । त्यहाँको हल चुहिने छ, रिपेयर गरिएको छैन । मेला व्यवस्थापनका लागि यो ठूलो चुनौती हो । पर्याप्त ठाउँ नहुँदा स्टल राख्छु भन्नुहुने कयौँ व्यक्तिहरूलाई हामीले हात जोरेर बिन्ती गरेरै क्षमा माग्नुपरेको अवस्था छ ।
अन्य देशका एक्जिविसनहरू यसरी हाम्रोजस्तो सहरभित्र हुँदैनन् बाहिर हुन्छन् । जहाँ व्यवस्थित पार्किङका साथै भिजिटरहरूको सहजताका लागि सटल बसहरू चलाइएको हुन्छ । सहरबाहिर हुँदा ठूलो स्पेसमा पनि गर्न सकिन्छ । त्यस्तो व्यवस्था नेपालमा छैन, तर चाँडै होस् भन्ने अपेक्षासहित आशावादी छौँ । प्राय: बजेटहरूमा प्रदर्शनीस्थल बनाउने योजनाहरू आइरहेका हुन्छन् तर, कार्यान्वयन भइरहेको पाइँदैन । हाम्रा लागि बीआईसीसी सहज स्थान हुन्थ्यो तर, संसद भवन बनाइएकाले अहिले त्यो अवस्था पनि छैन ।
नाइमाको मोबिलिटी एक्स्पो सकिएपछि प्राप्त हुने परिणामहरू केही आँकलन गर्न सकिन्छ त ?
आजको दिनको टेक्नोलोजीलाई अगाडि ल्याउनु, त्यो टेक्नोलोजीसँग रिलेटेड वस्तु तथा सेवाबारे जानकारी पाउनु, जव इन्करेजमेन्ट गर्नु यो एक्स्पोको परिणाम हुनेछन् भन्ने विश्वास हामीले गरेका छौँ । यस्तै, एक्स्पोका माध्यमबाट गाडी किन्ने र चढ्नेको सङ्ख्या बढ्छ । यसबाट मुलुकलाई राजस्व सङ्कलन गर्न पनि थप टेवा पुग्ने छ ।
अन्तिममा केही थप्न चाहानुहुन्छ कि ?
सबै कुरा आइसक्यो । यद्यपि, हामीले एउटा प्रयास गरिरहेका छौँ कि जुनसुकै ब्राण्डले नयाँ केही घोषणा गर्न चाह्यो भने त्यसको समय व्यवस्थापन ‘वान डोर सिस्टम’ बाट पालैपालो गर्न सकियोस् भनने छ । त्यसबाट सञ्चारकर्मी साथीहरूलाई समाचार सङ्कलन गर्नदेखि एक्जिविटरहरूको प्रडक्टबारे प्रचारप्रसारमा पनि सहज र प्रभावकारी बनाउन मद्दत मिल्ने छ । त्यसका लागि हामी एक्जिविटरहरूसँग छलफल गरिरहेका छौँ । सायद यो काम पनि हामी गर्न सक्छौँ होला ।
FACEBOOK COMMENTS