काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ प्रति आपत्ति जनाएको छ ।
निर्देशिकामा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यावहारिक, लगानी प्रतिकूल र शेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गर्दै चेम्बरले आपत्ति जनाएको हो ।
सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियडपछि संस्थापक शेयर स्वत: सर्वसाधारणमा परिणत नहुने व्यवस्थाप्रति गम्भिर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको छ ।
सीडीएससीको निर्देशिका लागू भएमा नेपालको शेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने, र विशेषत: ऊर्जा क्षेत्र, सिमेन्ट, होटल, उत्पादनमुलक उद्योग, मिडिया लगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ । प्रस्तावित सो व्यवस्था अन्तराष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरित हुने पनि चेम्बरको ठहर छ ।
चेम्बरद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो निर्देशिका लगानीकर्ताको हितविरुद्ध जान्छ, र नेपालको परिपक्व नबनेको पुँजी बजारमा यस्ता व्यवस्थाले लगानीको वातावरणमा अन्योलता र असुरक्षा थप्नेछ ।’
विगत केही वर्षदेखि सीडीएससीले शेयरको अभौतिकीकरण प्रक्रिया रोकेको अवस्थामै अहिले निर्देशिका ल्याएर संस्थापक शेयरमा स्वत: रूपान्तरण रोकिने तथा वर्गीकरणमा अलग–अलग आईएसआईएन नम्बरको व्यवस्था गर्ने निर्णयले बजारमा विश्वासको संकट सिर्जना गरेको चेम्बरले जनाएको छ ।
नेपालमा शेयर बजार अझै पनि लगानीमैत्री बन्न सकेको अवस्था छैन । यस्तोमा सीडीएससीजस्तो संस्थाले आफैंले बनाएका पुराना मापदण्ड उल्ट्याउँदै नयाँ व्यवस्था ल्याउँदा बजारमा नकारात्मक मनोविज्ञान उत्पन्न भएको चेम्बरको भनाइ छ ।
चेम्बरले यो निर्देशिका तत्काल संशोधन गरी व्यावहारिक र लगानीमैत्री खालको व्यवस्था बनाउन सरकार तथा नियामक निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ । अन्यथा, लगानीकर्ताको भरोसा घट्दै जाने, संस्थापक शेयर निष्क्रिय हुने, र बजारमा तरलताको संकट बढ्दै जाने गम्भीर जोखिम रहेको चेम्बरले जनाएको छ ।
नेपालको समग्र पुँजी बजारको विकास, लगानी सुरक्षाको प्रत्याभूति र निजी क्षेत्रको विश्वास कायम राख्न सीडीएससीले ल्याएको निर्देशिकालाई पुनर्विचार गर्न समेत चेम्बरले धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।
यो पनि पढ्नुहोस्–
एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने चिन्ताका कारण ऊर्जा उद्यमीहरूको दौडधुप बढ्यो
FACEBOOK COMMENTS