काठमाडौं । राजधानीको सुन्धारा क्षेत्रमा बिहीबार बिहान युवाहरूबीच झडप भएको छ।
जेन्जी आन्दोलनपछि मुलुकमा अन्तरिम सरकार गठनको बहस चर्किँदै जाँदा विभिन्न समूहहरू नेतृत्वको दाबी गर्दै सुन्धारामा उत्तिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक हाल सरकारविहीन अवस्थामा पुगेको छ।
यस्तो परिस्थितिमा नेपाली सेनाले अस्थायी रूपमा सत्ता व्यवस्थापनको कमान्ड लिएपछि सेनासँग समन्वय गर्न भन्दै युवाहरू फरक–फरक समूहमा विभाजित भएर सक्रिय भएका छन्।
सैनिक मुख्यालय जंगीअड्डाले बुधबार माइकिङमार्फत सार्वजनिक रूपमा युवाहरूसँग संवादका लागि आफ्नो समूहको ‘लिडर’को नाम र सम्पर्क विवरण टिपाएर बिहीबार बिहान सम्पर्कमा आउन आह्वान
गरेको थियो। सोही अनुसार विभिन्न समूहहरू आफ्ना सिफारिससहित जंगीअड्डा पुगेका थिए।
तर अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा साझा धारणा नजुट्दा सुन्धारामा भिडन्तको स्थिति उत्पन्न भएको हो। एकअर्काको सिफारिसलाई अस्वीकार गर्दै केही समूहहरूबीच विवाद चर्किएको थियो।
अन्तरिम सरकारको सम्भावित नेतृत्वको रूपमा पूर्व प्रधानन्यायाधीश शुशीला कार्की, काठमाडौंका मेयर बालेन शाह, ऊर्जा विज्ञ कुलमान घिसिङ र धरानका मेयर हर्क साम्पाङको नाम अघि सारिएको छ।
यिनै नामलाई लिएर बुधबार पनि जंगीअड्डा अगाडि विवाद र भनाभन भएको थियो।
सेनाले जंगीअड्डा परिसरमा भिड जम्मा हुन नदिएपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका हुन्। सेनाले सुरक्षा संवेदनशीलता भन्दै जंगीअड्डा क्षेत्रभित्र भिड प्रवेशमा रोक लगाएको छ।
झडपको प्रकृति गम्भीर नभए पनि स्थिति तनावग्रस्त रहेको जनाइएको छ। सुरक्षाकर्मीहरूले अहिले सुन्धारा क्षेत्रमा निगरानी बढाएका छन् भने कुनै अप्रिय घटना हुन नदिन सावधानी अपनाइएको छ।
FACEBOOK COMMENTS