काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले अहिलेको आन्दोलनको कारण नेपालको अर्थतन्त्रमा ठूलो बज्रपात भएको भए पनि आफूहरू नभाँचिएको बताएका छन् ।
हिजो शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले नेपालका निजी क्षेत्रले थुप्रै उतारचढाव र उथलपुथल भोग्दै अगाडि बढिरहेकाले अहिलेको परिस्थितिमा पनि अगाडि बढ्न सकिने बताएका हुन् ।
‘हाम्रो मुलुकमा पटक–पटक हरेक १० वर्षमा उथलपुथल भयो । भूकम्प, कोभिडपछि अहिले फेरि ठूलो उथलपुथल भयो । हाम्रो अर्थतन्त्र विस्तारै तङ्ग्रिदै थियो, फेरि ठूलो बज्रपात भयो,’ पूर्व अध्यक्ष मल्लले भने, ‘नेपालमा आर्थिक स्थायत्वि डगमगायो, हल्लियो । तर, हामी भाँचिएका छैनौं । निजी क्षेत्र दरिलो रूपमा अघि बढ्न तयार छ । यद्यपि, निजी क्षेत्रलाई स्वदेशमा काम गर्ने वातावरण गर्नुपर्छ ।’
उनले अब देशमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिँदै विदेशबाट आएको पैसा बैंकमा राख्ने भन्दा पनि अब राष्ट्रिय पूर्वाधार निर्माण, जलविद्युत् परियोजनामा लगानी गर्न सुझाए । उनले युवा जनशक्तिलाई स्वदेशमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । ‘अब सरकार थिंक–ट्यांक अनुसार चल्नुपर्छ । हाम्रो सेवा समयमा होस् । मुलुक अगाडि बढ्छ,’ मल्लले भने ।
यस्तै, उनले निजी क्षेत्रमा आक्रमण गर्ने काम भएको भन्दै दु:खेसो पोखे । सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालतजस्ता भवनको पूर्वाधार पनि नेपाली जनताले थोपा थोपा योगदान गरेर बनाएको उनले स्मरण गराए । ‘तोडफोड, आगजानी जसले गरेको हो त्यसलाई कानूनी दायरमा ल्याउनुपर्छ । जेन्जी आन्दोलनमा घुसपैठ भएको कुरा आएको छ, जसले गल्ती गरेको छ उसलाई सजाय हुनुपर्छ,’ उनले भने ।
उनले देशमा नेतृत्वमा पुगेकाहरूले मपाईंत्व गरेको र बुढो भएपछि पनि समयमा रिटायरमेन्ट नलिएको भन्दै यसअघिको विकृतिको भण्डाफोर गरे । यसअघिका सरकारले विज्ञहरूको सल्लाह, सुझाव ग्रहण नगरेको भन्दै नयाँ सरकारले सबैको राय, सल्लाह र सुझाव लिनुपर्नेमा उनको भनाइ छ ।
नेपालमा भएका आन्दोलनमा आर्थिक क्षेत्र जहिल्यै पनि तहसनहस हुने गरेको मल्लले स्मरण गराए । अब प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भयो भने खर्च कम हुने उनको तर्क छ । अब तडकभडक भन्दा चुस्तदुरुस्त सरकार चाहिने उनले बताए । उनले भने, ‘यो चुनावी सरकार हो । जेन्जी पुस्तालाई राहत दिनुपर्छ । मृत्युवरण गरेकालाई शहीद घोषणा गर्नुपर्छ ।’
FACEBOOK COMMENTS