अमेरिकी कूटनीतिज्ञहरूले चीनको दक्षिण-पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावास छोडेका छन्।
चीनले गत साता सोमवारसम्म अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न निर्देशन दिएको थियो।
सो निर्देशन अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप दिइएको हो।
सोमवार कर्मचारीहरूले बक्स फाइल र फोहोर राखिएका झोला बोकेको देखिएको थियो भने त्यहाँस्थित अमेरिकी झण्डा झिकिएको छ।
अमेरिकी विदेश मन्त्रालयमा एक प्रवक्ताले ‘तिब्बत लगायत पश्चिमी चीनको नागरिकहरूसँगको सम्बन्धका बीच ३५ वर्ष वाणिज्य दूतावास उभिएको’ बताउँदै चिनियाँ कम्युनिस्ट पार्टीको निर्णयले अमेरिका दुखी भएको बताएका छन्।
टेक्ससस्थित वाणिज्य दूतावास बन्द गर्न चीनलाई अमेरिकाको निर्देशन
चीन-अमेरिका शीतयुद्ध विश्वका लागि ‘कोरोनाभाइरसभन्दा ठूलो खतरा’
वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड छ। उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकिरहेका छन् भने कतिपयले सेल्फी लिइरहेका छन्।
उता अमेरिकामा चिनियाँ कूटनीतिज्ञहरूलाई दिइएको ७२ घण्टे म्याद शुक्रवार सकिएपछि अमेरिकी अधिकारीहरूले वाणिज्य दूतावास भवनभित्र छिर्नका लागि ढोका खोल्न लगाएको संवाददाताहरूले देखेका थिए।
बेइजिङले “बौद्धिक सम्पत्ति चोर्नका लागि” आफ्नो वाणिज्य दूतावासको प्रयोग गरिरहेकोले बन्द गराउने आदेश दिइएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकी कदम “चीनविरोधी झूटहरूको मिश्रण” भएको प्रतिक्रिया दिए।
चीनसँगको व्यापार तथा कोरोनाभाइरस महामारी, हङ्कङमा लागु गरिएको विवादास्पद सुरक्षा कानुन लगायतका विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ।
FACEBOOK COMMENTS