तेल अभिभ – नेपालबाट ईजरायलको नर्सिङ क्षेत्रमा केयरगिभर ल्याउने सम्बन्धमा छलफल गरिएको छ । २८ जुलाई, २०२० का दिन ईजरायली र नेपाली पक्षबीचमा एक उच्च स्तरिय वेमिनार छलफल भएको हो । ईजरायली परराष्ट्र मन्त्रालयको संयोजन गरिएको छलफलमा ईजरायली टोलीको नेतृत्व ईजरायलको परराष्ट्र मन्त्रालयको कन्सुलर अफेयर्स डिभिजन प्रमुख स्टेला रापले गरेकी थिईन भने नेपाली टोलीको नेतृत्व नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले गरेका थिए । ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, नेपालका लागि ईजरायली राजदूत बेनी ओमार, नेपालका लागि ईजरायली प्रस्तावित राजदूत हनान गोडेर सहितको छलफलमा ईजरायलको प्रधानमन्त्री कार्यालय, न्याय मन्त्रालय, जनसंख्या तथा अध्यागमन प्राधिकरण लगायतका सम्बन्धित निकायका अधिकारीहरुका साथै नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक लगायत परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुको समेत सहभागिता रहेको थियो।
महामहिम राजदूत डा. अन्जान शाक्यले प्रारम्भिक चरणको छलफल भएपनि लामो प्रतिक्षा तथा अनवरत प्रयासपश्चात् नेपालबाट ईजरायलमा केयरगिभर ल्याउने प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गरिन । कार्यक्रममा बोल्दै उनले दुबै मुलुक लाभान्वित हुने भएकोले यस प्रक्रियालाई छिट्टै निश्कर्षमा पुर्याएर आगामी दिनमा घरहरुमा केयर गिभर ल्याउने प्रक्रिया समेतलाई पूर्णता दिन आफू सक्रियतापूर्वक लागिपरेको बताईन।
ईजरायलीहरु नेपाल तथा नेपालीलाई निकै मन पराउने गर्छन । नेपालीहरुको ईमान्दारिता, अनि कामप्रतिको लगनशीलताबाट ईजरायलीहरु प्रभावित छन्। मिहिनेती, सिधासादा स्वभाव तथा मृदुभाषी भएकाले ईजरायलमा नेपालीहरुको माग जति छ कमाई तथा रोजगारीजन्य सुरक्षाका दृष्टिले ईजरायल पनि नेपालीको उत्तिकै रोजाइ एवं आकर्षक गन्तव्य मुलुकमा रुपमा रहेको छ। विगतमा नेपाली पक्षले गरेको गल्तीका कारण नेपालको साँख केही गिर्न पुगेको थियो जसका कारण निरन्तर पहलका वाबजुत ईजरायली पक्षलाई सकारात्मक बनाउँदै नेपालबाट ईजरायलमा केयरगिभर ल्याउने प्रक्रियालाई पुनः सुचारु गर्न धेरै गार्हो भएको राजदुत शाक्यको भनाई छ । यस माझ नेपाल एम्बेसीको अथक प्रयास पछी ईजरायली पक्षलाई सकारात्मक बनाउन सफल भएको छ। अहिले सरकारी स्तरमा एक सम्झौता गरी नेपालबाट ईजरायलको नर्सिङ क्षेत्रमा केयरगिभर ल्याउने बाटो खुलेको छ। सम्झौता अनुसार पहिलो वर्ष करिव ५०० को संख्यामा नर्सिङ क्षेत्रका नेपालीहरु ईजरायल जानेछन भने यसलाई सफल तुल्याउन सकिएमा आगामी वर्षहरुमा समेत यसले निरन्तरता पाउने देखिन्छ। त्यतिमात्रै नभएर यदि यसमा नेपाली पक्ष सफल हुन सकेमा भने सम्झौता गर्न समेत मद्दत मिल्ने बुझाई दुतावासको छ ।
FACEBOOK COMMENTS