काठमाडौं । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर निर्णयको कडा आलोचना गरेको छ ।
चीनले अमेरिकाले मनमानी दोहोरो मापदण्ड अपनाएको आरोप लगाउदै चीनले हाल जारी रहेको द्विपक्षीय वार्तालाई असर पुग्ने बताएको छ ।
ट्रम्पले शुक्रबार नोभेम्बर १ देखि चीनबाट उत्पन्न हुने सबै उत्पादनहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । उनले अमेरिकी सफ्टवेयर र प्रविधिमा कडा निर्यात नियन्त्रणको पनि घोषणा गरेका छन् ।
ट्रम्पले यो कदम चीनको आक्रामक व्यापार नीतिहरूको प्रतिक्रिया भएको बताएका छन् । उनले बेइजिङले दुर्लभ खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाएर विश्वलाई बन्धक बनाउन खोजिरहेको आरोप लगाएका छन् ।
चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ– ‘अमेरिकी निर्णयले चीनको हितलाई गम्भीर रूपमा हानि पुर्याउनेछ र द्विपक्षीय व्यापार वार्तालाई बिगार्नेछ । चीन लड्न चाहँदैन, तर यो डराएको पनि छैन । आवश्यक परेमा, प्रतिशोधात्मक उपायहरू लिइनेछ ।’
बेइजिङले अमेरिकाले निरन्तर चिनियाँ कम्पनीहरूलाई प्रतिबन्ध र निर्यात नियन्त्रण सूचीमा राखिरहेको आरोप पनि लगाएको छ, जसले व्यापार सम्बन्धलाई अस्थिर बनाउने बताएको छ ।
चीनले चेतावनी दिदै अमेरिका पछि हटेन भने, यसले अमेरिकी जहाजहरूमा विशेष बन्दरगाह शुल्क लगाउने र आफ्नो हितको रक्षा गर्न ठोस कदम चाल्ने बताएको छ ।
यो तनाव यस्तो समयमा बढेको छ जब ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को महिना दक्षिण कोरियामा भेट्ने अपेक्षा गरिएको थियो । तर, ट्रम्पले अब बैठक रद्द गर्ने धम्की दिएका छन् ।
FACEBOOK COMMENTS