काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावाँ–व्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ ।
महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको टोलीले राष्ट्र बैकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर यस्तो आग्रह गरेको हो । चालू आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावाँ–व्याजको किस्ता बुझाउने समय नजिकिँदै गर्दा विद्यमान विभिन्न समस्या देखाउँदै समयसीमा थप गर्न आग्रह गरेको महासंघले बताएको छ ।
देशका विभिन्न भागहरूमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटनालगायत अविरल वर्षा तथा बाढीपहिरोले देशको पूर्वी एवम् मध्य भागमा क्षति पुगेकाले क्षतिले ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएकाले सावाँ–व्याज भुक्तानीको समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरिएको महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए ।
उनले यो समयमा भएका यी घटनाबाहेक नेपालीहरूको महान चाड दसैँ तथा तिहारको कारण लामो समय सार्वजनिक विदा पर्न गएको र ऋणीहरूलाई समयमै किस्ता बुझाउन समस्या भएको तर्क गर्दै यस्तो आग्रह गरिएको बताएका छन् । महासंघका सदस्य संघ संस्थाहरूबाट उक्त अवधि थप गराउने पहल गरिदिन अनुरोध भएका कारण छाता संस्थाका कोणबाट आफूहरूले अभिभावकत्व निर्वाह गरेको उनको भनाइ थियो ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा महासंका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।
यो पनि पढ्नुहोस्–
उद्योगी–व्यवसायी आर्थिक दबाबमा छन्, असोजमा कर तथा राजस्व बुझाउन सक्दैनन् : एनसीआईसीके
लगानी, रोजगारी र निर्यात प्रभावित हुने भन्दै निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह
FACEBOOK COMMENTS