काठमाडौं । मातृभूमि जागरण अभियान चलाइरहेका नेता भीम रावल पनि नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुने भएका छन् ।
नेता रावलले आइतबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालसँग छलफल गरेका हुन् ।
छलफल सकारात्मक भएको र छिटै रावलको अभियान नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुने नेताहरुले बताएका छन् । प्रचण्ड निवास हात्तिबनमा भएको छलफलमा प्रचण्ड र नेपालसहित भीम रावल, भानुभक्त जोशी, शेरबहादुर कुवर, प्रकाश ज्वालालगायतका नेताहरु रहेका थिए ।
प्रचण्ड र नेपालले छिटो एक हुन आग्रह गरेकोमा रावलले आफु सकारात्मक रहेको र आफ्नो अभियानका अन्य सदस्यहरुसँग छलफल गरेर अन्तिम निर्णय लिने बताएको छलफलमा सहभागी एक नेताले बताएका छन् । रावललाई पार्टीमा नारायणकाजी श्रेष्ठ र वामदेव गौतम सरहकै वरियता दिने मोटामोटी सहमति भएको बताइएको छ ।
२०८१ को पुस १० गते एमालेले पार्टीको साधारण सदस्यबाट निष्काशित गरेपछि रावलले मातृभूमि जागरण अभियान चलाइरहेका छन् ।

FACEBOOK COMMENTS