काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथी कारबाही गर्न र त्यस घटनाको विषयमा जाहेरी लिन नेपाल प्रहरीसँग आग्रह गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको टोलीले आइतबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई भेट गरि सो आग्रह गरेको हो ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वको सो टोलीले घटनामा संलग्नहरु माथी कारबाही नगर्ने हो समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा महानिरिक्षक कार्कीको गम्भीर ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आन्दोलन पछि निजी क्षेत्रको मनोबल कमजोर मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पु¥याएको बताए ।
“जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन् । यद्यपी पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ” उनले भने ।

उनले घटनाका दोषीहरूमाथिको जाहेरी दर्ता नलिने र कारवाहीमा उदासीनता देखिए दण्डहीनता बढन गई लगानीको वातावरणलाई गम्भीर असर पर्ने र आउने दिनमा फेरि यस्ता घटना दोहोरिन सक्ने जोखिम कायम रहने धारणा राखे ।

निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीको लागि पहिलो शर्त शुरक्षा भएको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभूती नहुने हो भने आर्थिक गतिविधि र लगानी निरुत्साहित हुने बताए ।

“आन्दोलन पछि व्यवसायीहरुले प्रमाणसहित जाहेरी दिएपनि नलिएको अवस्था छ । काठमाडौं बाहिरका जिल्लाहरुबाट पनि जाहेरी नलिएको गुनासो व्यवसायीहरुबाट आइरहेको छ । यसले व्यवसायीहरुमा एक प्रकारको निराशा छाएको छ । तसर्थ यसलाई गम्भीर रुपमा लिन आग्रह गर्दछु ” उनले भने ।

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हरेक आन्दोलनमा निजी क्षेत्रमाथी आक्रमण हुने गरेपनि यो पटक निजी क्षेत्रमाथी योजनाबद्ध रुपमा आक्रमण गरिएको बताए । उनले शान्ति सुरक्षा विना स्थायित्व कायम नहुने र स्थायित्व बीना आर्थिक गतिविधी चलायमान नहुने हुनाले शान्ति सुरक्षाको प्रत्याभूति अत्यन्तै आवश्यक रहेकोमा जोड दिए ।

त्यस अवसरमा प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले शान्ति–सुरक्षा कायम गर्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध भएर लागेको बताए ।
आन्दोलनका क्रममा गलत घुसपैठ गरी हिंसा, तोडफोड र अराजक कार्यमा संलग्न जो–कसैलाई पनि प्रमाणका आधारमा कानूनी कारबाही दायरामा ल्याइने धारणा राखे । “निजी क्षेत्र अर्थतन्त्रको प्रमुख आधार हो । यो क्षेत्रको संरक्षण विना अर्थतन्त्र चलायमान हुन सक्दैन । नेपाल प्रहरी निजी क्षेत्र, आम नागरिकको सुरक्षाको लागि सधैं संवेदनशील छ । यसमा सबैको सहयोग अपरिहार्य छ ” उनले भने ।
प्रहरी महानिरीक्षक कार्कीले आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी सम्पत्ती माथी भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याईने र यसका लागि सबै जिल्लास्थित प्रहरी कार्यालयहरुलाई निर्देशन दिइएको जानकारी दिए ।
FACEBOOK COMMENTS