काठमाडौं । सभामुख देवराज घिमिरेले छिमेकी मुलुक चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन् ।
पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ लोकार्पण कार्यक्रममा उनले चीनको राजनीतिक स्थिरता र विकासप्रतिको स्पष्ट नीति निकै प्रशंसनीय रहेको बताए । चीनसँग कसरी साझेदारी गरेर नेपालले आफ्नो विकासमा तीव्रता ल्याउन सक्छ भन्ने कुरामा ध्यानुपर्नेमा उनको जोड थियो । तर राजनीतिक अस्थिरताकै कारण देशको अवस्था सङ्कटमा पर्न लागेको सभामुख घिमिरेको भनाइ छ ।
कार्यक्रममा पूर्वमुख्यसचिव एवं पूर्व चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, प्रा डा युवराज सङ्ग्रौला र चिनियाँ प्रोफेसर चाङ यु याङले लेखक आचार्यको पुस्तकमाथि समीक्षा गरिन ।
पूर्वमुख्यसचिव पौड्यालले आचार्यको पुस्तकमा चिनियाँ विकास नीतिको दस्तावेज समेटिएको सुनाए। साथै, चीनले लोकतान्त्रिक पद्धतिलाई कसरी बुझ्छ र आफूले जनताका लागि कसरी काम गरेको छ भन्ने दृष्टिकोणको नालीबेली पुस्तकमा समेटेको उनले बताए ।
कार्यक्रममा प्रा डा सङ्ग्रौलाले भने छिमेकी मुलुक चीनको राजनीतिक, आर्थिक अवधारणालाई नेपालले सकारत्मक रूपमा लिएर यहाँको गरिबी निवारणमा सहकार्य गर्न अतिआवश्यक रहेको धारणा राखे । त्यसैगरी, चिनियाँ प्रोफेसर यु याङले चीन र नेपालको सम्बन्ध इतिहासदेखि नै सुन्दर रहँदै आएको र भविष्य पनि उज्ज्वल रहेको सुनाए ।

कार्यक्रममा लेखक आचार्यले विश्वभर चीनको नीतिगत दृष्टिकोणको निकै चासो र चर्चाले हेर्ने गरिएको बताए । उनका अनुसार नेपालले पनि अध्ययन र चासो लिन आवश्यक छ ।

FACEBOOK COMMENTS