काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको ४ अर्ब २ करोड दाबी भुक्तानी भएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमाको करिव २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको हो ।
प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिव १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिव ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४४ करोड १० लाखमध्ये करिव ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव ५५ करोड ४ लाख दाबी रकममध्ये करिव ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिव ३९ करोड १८ लाख दाबी रकममध्ये करिव ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।
त्यस्तै पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम सहित दाबी भुक्तानी जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानीसहित दाबी परेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS