काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- मधेश प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई संबिधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि यादवले ६ राजनीतिक दलका ७७ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् । बुधबार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेस प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए । प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
२- हेटौंडाको बजार क्षेत्रको सडक विस्तार गर्नेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रास्वपाकी पूर्व सांसद विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त अवधिसम्म सडक विस्तारको कार्य कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाले आजसम्मको समय दिदै सडक विस्तार गर्ने सूचना जारी गरेको थियो । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि मंसिर २६ गते बोलाएको छ । हेटौंडा उपमहानगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम दिदै सडक डिभिजनले मंसिर २० देखि सडक विस्तारको काम शुरु गर्ने र सीमाभित्रका संरचना हटाउने बताएको थियो ।

३- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । महाराजगञ्जस्थित देउवा निवासमा शुक्रबार भेट भएको हो । भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि दुवै नेताबीच पहिलो पटक भेट भएको हो ।

४- मधेश प्रदेशकी राप्रपा सांसद कन्चन बिच्छा पदमुक्त भएकी छन् । मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बिच्छालाई राप्रपाले पदबाट हटाउन पत्र पठाएको उल्लेख गर्दै प्रदेश सभा कार्य संचालन नियमावली २०७५ को नियम १९० अनुसार राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेशसभा कार्य संचालन नियमावली २०७५ को नियम १९१ बमोजिम सूचना प्रकाशित गरेको हो । राप्रपाकी समानुपातिक सांसद बिच्छाले केन्द्रको निर्णय विपरित एमालेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा मन्त्री बनेको र केन्द्रको निर्देशन विपरित पद नछोडेपछि राप्रपाले उनलाई सांसदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

५- प्रधानमन्त्री सुशीला कार्कीसँग आज हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेटेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उक्त पार्टीको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेको अध्यक्ष सुनारले बताए ।

सुनारले यसअघि आफ्नो निजी कारणले प्रधानमन्त्रीले आलोचना खेप्नुपरेको भन्दै क्षमा याचना पनि गरे । साथै, यो उमेरमा आएर विषम परिस्थितिमा मुलुक सम्हाल्न आएकोमा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गरे । प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावयुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताए । समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि उनले सुझाव दिए । अहिलेको सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व के कसरी हुन सक्छ भनेर आफूले पनि प्रयास गर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

६- राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गरेका छन् । एकहप्ता देखि रिक्त्त रहेको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को ब्यवस्था नभए सम्मका लागि सह सचिव मेहतालाई जिम्मेवारी दिएको हो । खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम अर्को ब्यवस्था नभए सम्मका लागि मन्त्रालयको मंसिर १६ गतेको निर्णय अनुसार जिम्मेवारी दिएको छ। यही मंसिर १२ गते टंकलाल घिसिङले आफ्नो चार बर्षे कार्यकाल पुरा गरि विदा लिनु भए पछि सदस्य सचिवको पद रिक्त थियो ।
परिषदमा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरुलाई सदस्य सचिव मेहताले सुसाशन र पारदर्शी रुपमा कानून सम्मत कार्य सम्पादन गर्न निर्देशन दिए । आफु सदस्य सचिवको पदमा रहुन्जेल परिषदमा नमूना योग्य काम गर्ने पनि उल्लेख गरेका थिए । परिषदका कार्यकारी समितिका सदस्य कमल बहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा संगठन संरचना तथा ब्यवस्थापन सर्भे लगायतका काम प्रमुख दायित्व भएको उल्लेख गरेका थिए । मेहतालाई परिषदमा कार्यकारी समिति सदस्यहरु कमल भट्टराई, भान बहादुर चन्द बोर्ड सदस्यहरु परिषदका विभाग र शाखा प्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।
७- नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल-जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याएका थिए । प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गरेकी थिइन् ।
८- शिक्षामन्त्री महाबीर पुनले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा दुई पटक सूचना प्रकाशित गरेर दरखास्त आव्हान गर्दा पनि कसैले आवेदन नदिएको बताएका छन् । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यही मंसिर ५ गतेसम्म बढाएको थियो । तर सो समयमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन ।
मन्त्री पुनले दुई पटक सूचना प्रकाशित गर्दा पनि कसैले इच्छा नदेखाएको भन्दै मातृभुमीलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भै १० वर्ष काम गरेको नेपाल आमाको कोहि इच्छुक देशभक्त सन्तान भएमा निवेदन दिन आग्रह गरेका छन् । उनले भनेका छन्: ‘सुदुरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको लागि उपकुलपति पदको विज्ञापन २ पटक सम्म गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभुमीलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भै १० वर्ष काम गरेको नेपाल आमाको कोहि इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस ।’
९- भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगो लगातार चौथो दिन पनि चालक दलका सदस्यहरू (पाइलटहरू र अन्य उडान कर्मचारीहरू) को अभावसँग जुधिरहेको छ । यसका कारण शुक्रबार दिल्ली, बेंगलुरु, पुणे र हैदराबाद लगायत धेरै विमानस्थलहरूमा ५०० भन्दा बढी उडानहरू रद्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दिल्लीमा सबैभन्दा धेरै २२५ उडानहरू रद्द गरिएका छन् ।
इन्डिगोले शुक्रबार रातिसम्म दिल्ली विमानस्थलबाट प्रस्थान गर्ने सबै घरेलु उडानहरू रद्द गरेको छ । बेंगलुरुमा १०२, पुणेमा ३२ र हैदराबादमा ३२ उडानहरू रद्द गरिएका छन् । उडान रद्द र ढिलाइका कारण देशभरका हजारौं यात्रुहरू कठिनाइको सामना गरिरहेका छन् । धेरै विमानस्थलहरूमा, मानिसहरू २४ घण्टासम्म उडानहरूको लागि पर्खिरहेका छन्, सिँढी र कुर्सीहरूमा बसेर रात बिताउन बाध्य छन् । यसैबीच, इन्डिगोले फेब्रुअरी १०, २०२६ सम्म उडान शुल्क समय सीमा नियमहरूबाट छुटको लागि नागरिक उड्डयन महानिर्देशनालयलाई अपील गरेको छ ।
कम्पनीले तीन महिना भित्र आफ्नो सञ्चालन सामान्यमा फर्किने आश्वासन दिएको छ । यसअघि महानिर्देशनालयका अधिकारीहरूले बिहीबार इन्डिगो एयरलाइन्सका अधिकारीहरूसँग भेट गरेका थिए । एयरलाइन्सले आफ्नो ए ३२० फ्लीटको लागि उडान शुल्क समय सीमा का केही प्रावधानहरू अस्थायी रूपमा छूट गर्न अनुरोध गरेको र सञ्चालन सामान्यीकरण गर्न तीन महिना लाग्ने बताएको थियो । महानिर्देशनालयले इन्डिगोलाई सुधारका धेरै प्रमुख पक्षहरूलाई सम्बोधन गर्न आग्रह गरेको छ । महानिर्देशनालयले इन्डिगोलाई चालक दल भर्ती, प्रशिक्षण रोडम्याप, रोस्टर पुनर्संरचना, सुरक्षा योजना प्रदान गर्न र प्रत्येक १५ दिनमा प्रगति रिपोर्ट पेश गर्न आग्रह गरेको छ । इन्डिगोले यात्रुहरूसँग माफी माग्दै चाँडै सञ्चालन पुनर्स्थापित गर्न काम गरिरहेको बताएको छ ।
१०- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । शुक्रबार आयोगले सूचना जारी गर्दै मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपरान्ह ४ बजेसम्म समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेश गर्न आव्हान गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची-२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरूले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्ने र उम्मेदवारको बन्द सूची पेश नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नपर्ने आयोगले सुचनामा जनाएको छ ।
११- नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो । त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा आवद्ध गरी सञ्चालनमा ल्याइएको छ ।
अब उक्त सबस्टेसनहरु मिनभवनस्थित प्राणिकरणको भवनमा बनाइएको नियन्त्रण कक्षबाट सञ्चालन गरिएको छ । स्वचालित रुपमा सबस्टेसन सञ्चालन तथा नियन्त्रणका लागि नयाँ नियन्त्रण कक्षसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ । स्यूचाटार, टेकु, मातातीर्थ, चावहिल, के ३ र लामासाँघु गरी बाँकी ६वटा सबस्टेसन दुई महिनाभित्र स्वाचालित प्रणालीमा आवद्ध गरिनेछ । स्वचालित सबस्टेसन स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग सुपरवाइजरी नियन्त्रण तथा डाटा प्राप्ति मार्फत आवद्ध हुनेहुँदा यसबाट एकीकृत प्रणाली सञ्चालन थप मजबुत र स्थिर हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सबस्टेसन पूर्ण रुपमा स्वचालित भएपछि बारम्बार हुने विद्युत अवरोध न्यून हुने, वास्तविक समयको तथ्याङ्क प्रयोग हुने भएकाले भार (लोड) व्यवस्थापन सहज हुने, सञ्चालन सम्भार खर्च कम हुने, प्राविधिक क्षति कम हुने र स्मार्ट ग्रिड विकास हुने बताए ।
उनले स्वचालित बनेपछि क्रमिक रुपमा मानवरहित अवस्थामा अर्थात भौतिक रुपमा सञ्चालनका लागि कर्मचारी ड्युटीमा खट्नु नपर्ने बताए । एशियाली विकास बैंक (एडिबी)को विद्युत प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजनाअन्तर्गत प्राप्त भएको सहुलितपूर्ण ऋणमा सबस्टेसनलाई स्वचालित बनाइएको छ । समग्र आयोजनाको लागत करिब ६१ करोड रुपैयाँ रहेको छ । त्यस्तै देशभरका बाँकी ६४ वटा ग्रिड सबस्टेसन स्वचालित बनाउन एडिबीको सहुलितपूर्ण ऋणमा काम भइरहेको छ । उक्त काम आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि सम्पूर्ण ग्रिड सबस्टेसन स्वचालित हुनेछन् ।
१२- पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले फिल्ड मार्शल असिम मुनीरलाई देशको पहिलो रक्षा बल प्रमुख नियुक्त गरेका छन् । प्रधानमन्त्री शाहबाज शरीफले फिल्ड मार्शल असिम मुनीरको नियुक्तिको बारेमा राष्ट्रपतिलाई गरेको सिफरिसको आधारमा राष्ट्रपति जारदारीले नियुक्त गरेको जियो न्यूजले उल्लेख गरेको छ । दुवै पदमा असिम मुनीरको कार्यकाल पाँच वर्षको हुनेछ । असिम मुनीरले २०३० सम्म दुवै पदमा रहनेछन् ।
यसबाहेक, राष्ट्रपति जरदारीले वायुसेना प्रमुख एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धुको कार्यकाल दुई वर्षको लागि बढाउने प्रस्तावलाई अनुमोदन गरेका छन् । पाकिस्तानमा कानुन संशोधन गरेर संघीय रक्षा बल बनाउने व्यवस्था गरिएको थियो । संघीय सरकारले रक्षा बल प्रमुखको सिफारिसमा जारी गरिएको लिखित आदेश अन्तर्गत सेना प्रमुखको शक्ति प्रयोग गर्न उप-प्रधान सेनापति वा उप-प्रधान सेनापतिलाई अधिकार दिन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै संघीय सरकारले रक्षा दल प्रमुखको विशिष्ट कर्तव्य र जिम्मेवारीहरू निर्धारण गर्ने, जसमा बहु-डोमेन एकीकरण, पुनर्संरचना, र सशस्त्र बलहरूमा संयुक्तता सुनिश्चित गर्ने लगायतका विषयहरु रहेका छन् ।
१३- पूर्वमन्त्री सुमना श्रेष्ठले समानुपातिक बन्द सूची बुझाइसकेपछिको महाअधिवेशनले पुराना दलहरु भित्र के फरक ल्याउला भन्दै प्रश्न गरेकी छन् । सामाजिक सञ्जाल मार्फत सुमनाले समानुपातिक बन्द सूची बुझाइसके पछिको महाअधिवेशनले पुराना दलहरु भित्र के फरक ल्याउला भन्दै नेतृत्व परिवर्तन सँगै प्रसाशन, शिक्षा, स्वास्थमा भएका पार्टीका संगठनहरू खारेज हुने प्रतिबद्धता नभएसम्म खास ठूलो परिवर्तन नहुने दाबी गरेकी हुन् ।
साथै उनले विदेशबाट र देशभित्र पनि गृह निर्वाचन क्षेत्र बाहिरबाट मतदानको अधिकार सुनिश्चित गर्न दलभित्र बाहिर सबैले पहल गर्न आग्रह गरेकी छन् । उनले भनेकी छन्- ‘विदेशबाट र देशभित्र पनि गृह निर्वाचन क्षेत्र बाहिरबाट मतदानको अधिकार सुनिश्चित गर्न दलभित्र बाहिर सबैले पहल गरौँ । गरिखाने वर्ग जसको परिश्रमले देश चलेको छ, उहाँहरूलाई अवहेलना नगरौँ ।’
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ५२ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले घटेर ३५५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३६२५ मा कारोबार भएको थियो ।
१५- गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्याएको वीपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक—सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ । त्यसमध्ये ४ खण्डका पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ ।
पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का सहयायतामा पुनर्निर्माण हुनेछ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिएका छन् ।
सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपानेलगायतका टोलीसहित अनुगमनमा पुगेका घिसिङले सडकको विभिन्न खण्डमा भइरहेको पुनर्निर्माण, निर्माण सम्पन्न हुने तालिका, यातायात सञ्चालनका लागि हाल अस्थायी रुपमा गरिएको डाइसर्भनको व्यवस्था,जाइकाले निर्माण गर्ने खण्डको तयारी अवस्थालगायतका विषयमा छलफल गरेका थिए । हाल अस्थायी रुपमा सवारी साधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरु भएसँगै काम नगर्ने उल्लेख गर्दै मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम सुरु हुनुभन्दा अगाडि नै आवश्यक संरचनाको निर्माण सम्पन्न गर्न आग्रह गरे ।
उनले जलशक्ति थप र विद्युतको व्यवस्था गरी राती पनि काम गर्ने व्यवस्था गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए । संघीय राजधानीलाई पूर्वी क्षेत्र संग जोड्नको लागि महत्वपूर्ण रहेको उक्त वीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाई रहेको वीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाई पुनर्निर्माण गरिंदैछ ।
१६- फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २० अर्ब डलरको मूल्यको सर्च इन्जिन कमेट जस्ता उत्पादनहरू सहितको एआई स्टार्टअप, पर्प्लेक्सिटी एआईमा लगानीको घोषणा गरेका छन् । रोनाल्डोले भिडियोमार्फत साझा गर्दै सफलता प्राप्त गर्न जिज्ञासाको महत्त्वलाई जोड दिए । उनले भनेका छन्- ‘जिज्ञासा सफल हुन आवश्यक छ । जब तपाईं हरेक दिन नयाँ प्रश्नहरू सोधिरहनुहुन्छ तब तपाईं सधै जित्नुहुन्छ । त्यसैले म पर्प्लेक्सिटीमा मेरो लगानीको घोषणा गर्न पाउँदा गर्व गर्छु ।’
रोनाल्डोले यो साझेदारीले ‘सबैलाई थप महत्वाकांक्षी प्रश्नहरू सोध्न प्रेरित गर्ने’ र उनीहरूको संयुक्त प्रयासको सुरुवात मात्र भएको बताएका छन् । २०२२ मा स्थापित पर्प्लेक्सिटीले इन्भेस्टमेन्ट राउन्डमा २०० मिलियन डलर सुरक्षित गरेपछि सेप्टेम्बरमा यसको कम्पनिको भ्यालुएसन २० अर्ब डलरको मूल्याङ्कनमा पुगेको थियो । लगानीकर्ता बन्नु अघि एआई खोज प्लेटफर्ममा रोनाल्डोको संलग्नता एक प्रयोगकर्ताको रूपमा सुरु भएको थियो । अक्टोबरमा, उनले पर्प्लेक्सिटीलाई आफ्नो प्रेस्टिज ग्लोब अवार्ड स्वीकृति भाषण बनाउन मद्दत गरेकोमा श्रेय दिएका थिए । प्रमुख प्लेटफर्महरूमा एल अर्बभन्दा बढी फलोअर्स भएको रोनाल्डोको सामाजिक सञ्जालमा विशाल उपस्थितिसँगै, उनको लगानी र साझेदारीले पर्प्लेक्सिटीको प्रयोगकर्ता आधारलाई उल्लेखनीय रूपमा विस्तार गर्न सक्ने विश्लेषण गरिएको छ । फुटबल स्टारले आफ्नो घोषणामा ‘पर्प्लेक्सिटीले विश्वको जिज्ञासालाई बढावा दिइरहेको’ भनेका छन् । रोनाल्डोले कम्पनिमा कति लगानी गरेका छन् भन्ने बारेमा भने स्पष्ट भएको छैन ।
१७- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकाले युक्रेनलाई धोका दिन सक्ने चेतावनी दिएका छन् । जर्मन अखबार डेर स्पीगलका अनुसार, डिसेम्बर १ मा युरोपेली नेताहरूको लिक भएको गोप्य भिडियो कलमा म्याक्रोनले सो चेतवानी दिएको खुलेको हो । यसमा जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टब, नाटो महासचिव मार्क रुट, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको कुराकानी समावेश रहेको दाबी गरिएको छ ।
यस कलको क्रममा, म्याक्रोनले अमेरिकाले बलियो सुरक्षा ग्यारेन्टी बिना युक्रेनलाई क्षेत्र छोड्न बाध्य पार्न सक्ने शंका व्यक्त गरेका थिए । अखबारसँग यो कलको लिखित रेकर्डिङको पहुँच रहेको दाबी गरिएको छ । नेताहरूले स्पष्ट रूपमा उनीहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई प्रमुख सहयोगीहरू अमेरिकी राजदूत स्टीव विटकोफ र ट्रम्पका ज्वाइँ, जारेड कुशनरमा कुनै विश्वास नरहेको बताएका छन् । जर्मन चान्सलर मर्जले जेलेन्स्कीलाई भनेका छन्- ‘आगामी दिनहरूमा धेरै सावधान रहनुहोस् । तपाईं र हामीसँग खेल खेलिँदैछ ।’ फिनिश राष्ट्रपति स्टब र नाटो प्रमुख रुटले पनि जेलेन्स्कीलाई दुई अमेरिकीहरूसँग एक्लै छोड्न सकिँदैन भनेर दोहोर्याएका थिए । युक्रेनी राष्ट्रपति कार्यालयले भने प्रतिक्रिया दिदै सम्पूर्ण प्रतिवेदनलाई गलत र गलत जानकारीको रूपमा खारेज गरेको छ ।
१८- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा म्यानचेस्टर युनाइटेडका लागि डिओगो डालोटले शुरुवाती गोल गरेका थिए भने वेस्टह्यामका सोउन्गोउटोउ मागासाले एक गोल फर्काएका थिए । यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको १४ खेलमा २२ अंक भएको छ र लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै वेस्टह्यामको १४ खेलमा १२ अंक रहेको छ र हाल १८औं स्थानमा रहेको छ ।
१९- भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरेको र गीताको शिक्षाले विश्वभरका लाखौंलाई प्रेरणा दिने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको लागि बिहीबार साँझ दिल्ली आइपुगेका हुन् ।
उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण भयो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा स्वागत गरेका थिए । विमानस्थलमा औपचारिक स्वागत पछि, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको आधिकारिक निवास ७, लोक कल्याण मार्गमा यात्रा गरेका थिए । युक्रेनसँगको युद्ध पछि राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो । यस भ्रमणको क्रममा, रुसी राष्ट्रपतिले प्रधानमन्त्री मोदीसँग २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् ।
२०- जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तीन टिम प्लेअफमा पुगेका छन् । बिहिबारको खेलपछि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । सुदूरपश्चिमको ६ खेलमा सबै खेल जितेर १२ अंक रहेको छ र शिर्ष स्थानमा छ ।
त्यस्तै काठमाडौँ गोर्खाजले लिग चरणका सबै ७ खेल खेलेर १० अंक हासिल गरेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यसैगरी ६ खेलमा ८ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको विराटनगर किंग्सपनि प्लेअफमा पुगेको छ । त्यस्तै अब प्लेअफमा पुग्ने चौथो स्थानका लागि अन्य टिमबीच प्रतिष्पर्धा रहेको छ । अब शुक्रबार हुने लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीचको खेलमा लुम्बिनी विजयी भएमा लुम्बिनी प्लेअफमा पुग्ने छ भने अन्य सबै टिम बाहिरिने छन् । अहिलेसम्म प्राविधिक रुपमा कर्णाली याक्स मात्र बाहिरिएको छ ।
FACEBOOK COMMENTS