लकडाउन र सवारी पासमा कडाइ गरिएका बेला उपत्यका छिर्ने एम्बुलेन्सको संख्या ह्वात्तै बढ्ने र प्रशासनले कडाइ नगरेका बेला त्यो संख्यामा उल्लेख्य कमी हुने गरेको देखिन्छ ।
काठमाडौँ, श्रावण २७ – सडक छेउमा रोकिएको एम्बुलेन्सबाट ५ जना पोकोपन्तुरोसहित ओर्लिन्छन् । एम्बुलेन्स चालक र ती व्यक्तिबीच सडक छेउमै विवाद सुरु हुन्छ । ५ सय रुपैयाँ थपिदिनुस् भन्ने चालकको आग्रहलाई उनीहरूले बेवास्ता गरेपछि चर्काचर्की अझ बढ्दै जान्छ । गत शनिबार साँझ नयाँ बानेश्वरमा देखिएको यो प्रतिनिधि दृश्य हो, जसले बुझाउँछ एम्बुलेन्सको दुरुपयोग कसरी बढिरहेको छ ।
राजधानीमा कोरोना संक्रमण बढ्दै गएपछि बाहिरबाट आउने सवारीमा कडाइ गरिए पनि कतिपय एम्बुलेन्सले बिरामी होइन, यात्रु ओसारिरहेका छन् । नागढुंगा, मुड्खु र भक्तपुरको जगाती नाकाबाट उपत्यका छिरेका एम्बुलेन्सको तथ्यांकलाई केलाउँदा यस्तो दुरुपयोगका उदाहरण धेरै फेला पर्छन् । लकडाउन र सवारी पासमा कडाइ गरिएका बेला उपत्यका छिर्ने एम्बुलेन्सको संख्या ह्वात्तै बढ्ने र प्रशासनले कडाइ नगरेका बेला त्यो संख्यामा उल्लेख्य कमी हुने गरेको देखिन्छ ।
लकडाउन (चैत ११–साउन ७) अवधिमा चैतअघिका महिनाभन्दा दोब्बर बढी एम्बुलेन्स उपत्यका छिरेको तथ्यांकले देखाउँछ । साउन ७ मा लकडाउन अन्त्य भएर सवारी आवागमन मात्रै नियन्त्रण गरिएको समयमा भने राजधानी छिर्ने एम्बुलेन्सको संख्या निकै घट्यो । चैतमा भन्दा कोरोना संक्रमण साउनमा विस्तार भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत माघमा सबै नाकाबाट १५ सय ४८ र फागुनमा १६ सय २ एम्बुलेन्स उपत्यका छिरेका थिए । यो तथ्यांकले सामान्य अवस्थामा उपत्यकामा कति एम्बुलेन्स आउँदा रहेछन् भनेर बुझाउँछ । लकडाउनको सुरुवाती महिना चैतमा भने उपत्यका छिर्ने एम्बुलेन्सको संख्यामा थोरै वृद्धि भएर १८ सय ५ मात्रै पुगेको छ ।
वैशाखमा संक्रमितको संख्या बढेपछि र सवारी पासमा गृह मन्त्रालयले कडाइ गर्न थालेपछि उपत्यका भित्रिने एम्बुलेन्सको संख्या चैतको भन्दा करिब ५ सयले बढेर २३ सय ११ पुगेको थियो । जेठमा गृहले सवारी पासमा कडाइ गर्न देशैभरका जिल्ला प्रशासनलाई सर्कुलर गर्यो । गन्तव्य जिल्लाबाट पनि सवारीको अनुमति लिनुपर्ने नियम बनाइयो । यस्तो नियमले पास वितरणलाई संकुचित बनायो । यसको असर उपत्यका छिर्ने एम्बुलेन्सको संख्यामा देखियो । जेठमा वैशाखको भन्दा दोब्बरले बढी अर्थात् ५ हजार ४९ एम्बुलेन्स उपत्यका छिरे । यो संख्या असारमा ह्वात्तै घटेर ३ हजार ८७ पुगेको छ भने साउनको २५ गतेसम्म १४ सय ९३ मा सीमित भएको छ । उपत्यकाबाहिरका निजी अस्पतालमा सेवा प्रवाह खुम्चिँदा र कतिपय सिलबन्दी भएकाले राम्रो उपचारको आशमा उपत्यका छिर्ने एम्बुलेन्सको संख्या बैशाख र जेठको तुलनामा झनै बढ्नुपर्ने हो । तर यो संख्या असार र साउनमा निकै घटेको छ ।
उपत्यका छिर्ने एम्बुलेन्सको संख्यामा देखिएको अनौठो ग्राफले एम्बुलेन्सको यात्रा लकडाउनको मोडालिटीअनुसार फरक पर्ने नाकामा खटिएका प्रहरी अधिकारीहरू बताउँछन् । सवारी पास सहज भएका बेला एम्बुलेन्सको संख्या घट्ने र पास पाउन जटिल भएका बेला संख्या बढ्नु अस्वाभाविक रहेको थानकोट वृत्तका डीएसपी घनश्याम श्रेष्ठले बताए । ‘यो त बिरामी ओसार्ने बहानामा एम्बुलेन्सबाट भइरहेको यात्रु ओसारपसारको व्यापारजस्तो पो देखियो,’ उनले भने ।
एम्बुलेन्स रोकेर धेरैबेर सोधपुछ गर्दा अमानवीय देखिने र प्राइभेट क्लिनिकदेखि निजी अस्पतालको रेफरपत्र नै देखाएपछि पठाउनैपर्ने हुँदा यात्रु बोकेका एम्बुलेन्स निर्बाध उपत्यका छिरिरहेका छन् । ‘प्रहरीले हेरेका भरमा बिमारी चिन्ने कुरा पनि भएन । धेरैबेर एम्बुलेन्स रोक्दा साँच्चिकै बिमारी बोकेको रहेछ भने त्यो पनि गलत हुने भयो,’ डीएसपी श्रेष्ठले भने, ‘यही अप्ठ्यारोको फाइदा उनीहरूले उठाइरहेका छन् ।’
निजी गाडीले भन्दा चर्को शुल्क लिएर एम्बुलेन्सले नक्कली बिमारी ओसारिरहेको भए पनि फर्जी कागजातका आधारमा उनीहरूले सजिलै उन्मुक्ति पाइरहेको जगाती वृत्तका एक प्रहरीले बताए । काठमाडौंमा डेरा गरी बस्ने एक परिवारले जनकपुरबाट एम्बुलेन्समा ३० हजार तिरेर रिजर्भमा आएको आफूले सुनेको उनको भनाइ छ । ‘त्यो परिवारले एक बच्चीलाई बिमारी भएको कागजात बनाएर निजी अस्पतालबाट नक्कली रेफर कागज बनाएर ल्याएको भन्ने सुनेको थिएँ,’ उनले भने ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकाल भने एम्बुलेन्सहरूले अवैध रूपमा यात्रु बोक्छन् भन्ने सुनेर आफूहरूले गोप्य टोली खटाएर अनुगमन गर्दा त्यस्तो फेला नपारेको दाबी गर्छन् । राजधानीबाहिरका निजी अस्पतालहरूले बिमारी भर्ना गर्न आनाकानी गर्ने र गरिहाले पनि काठमाडौंमै रेफर गरिदिने चलन बढेकाले उपत्यका छिर्ने एम्बुलेन्सको संख्या बढेको उनको तर्क छ । ‘राजधानीनजिकका जिल्लाका बिरामी सकेसम्म काठमाडौं छिर्न सके राम्रो उपचार पाइन्छ भनेर पनि एम्बुलेन्समा आउने क्रम बढेको हुन सक्छ,’ उनले भने, ‘एम्बुलेन्सले यात्रु बोकेको थाहा पाइएमा त्यस्तालाई कडा कारबाही गर्छौं ।’
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS