काठमाडौं । बंगलादेशमा शेख हसिनाका विरोधी नेताका रुपमा परिचित विपक्षी नेता उस्मान हादीको बिहीबार राति गोली हानी हत्या भएपछि तनाव बढेको छ ।
ढाकाबाट स्वतन्त्र उम्मेदवार बन्ने आकांक्षी हादीलाई डिसेम्बर १२ मा ढाकाको पल्टन क्षेत्रमा ब्याट्रीबाट चल्ने अटोरिक्सामा सवार रहेको बेला गोली हानिएको थियो ।
उनलाई पहिले ढाका मेडिकल कलेज अस्पताल लगिएको थियो र पछि उनको अवस्था बिग्रँदै गएपछि एभरकेयर अस्पताल लगिएको थियो । गत शनिबार, उनको थप उपचारको लागि हेलिकप्टरबाट सिंगापुर लगिएको थियो । सिंगापुरमा उनको गएराती उपचारको क्रममा निधन भएको थियो ।
हादीको मृत्युले बंगलादेशको अवस्था झनै बिग्रिएको छ, धेरै स्थानमा हिंसा फैलिएको छ । प्रदर्शनकारीहरू देशका ठूला अखबारहरू, डेली स्टार र प्रोथोम आलोको कार्यालयमा जबरजस्ती प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् । आगलागिपछि बंगलादेशका दुवै अखबारहरू आज बन्द रहनेछन्, अनलाइन सेवाहरू पनि प्रभावित बनेका छन् ।
हाल ढाका भित्र र बाहिर धेरै जिल्लाहरूमा उस्मान हादीका समर्थकहरू र विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । चटगाउँमा पनि धेरै ठाउँमा विरोध प्रदर्शनहरू भएका छन् ।
यसबाहेक, शेख हसिनाको अवामी लिग सरकारमा पूर्व शिक्षामन्त्री मोहिबुल हसन चौधरीको घरमा तोडफोड गरियो र आगजनी गरिएको थियो । हादी २०२४ को विद्यार्थी आन्दोलनका प्रमुख नेताहरूमध्ये एक थिए । डिसेम्बर १२ मा ढाकामा चुनाव प्रचार गर्दा उनको टाउकोमा गोली लागेको थियो ।

FACEBOOK COMMENTS