काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – इम्पावरिङ इन्टरप्राइजेज अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन आध्यान्ता एड्भाइजरी र अमेरिकन चेम्बर अफ कमर्स इन नेपालसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
हाल सातौँ वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरू भई आज उद्यम रूपान्तरणको एक रणनीतिक प्लेटफर्मका रूपमा विकसित भएको छ ।
यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपिआई तथा होस्ट टु होस्ट कनेक्टिभिटीमार्फत उद्यमीहरूको सञ्चालन प्रणालीहरूमा बैंकिङ सेवा जडान तथा एकीकृत गर्ने तथा डिजिटल प्लेटफर्मलाई व्यवसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
यस समझदारी अन्तर्गत बैंकको उद्यम डिजिटलाइजेसन पहलबाट नवप्रवर्तनको विस्तार गर्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञतासँग जोडी पुँजी उपलब्धताका लागि तयार पार्ने उद्देश्य राखेको छ । डिजिटल अभिग्रहण देखि डिजिटल सिर्जनासम्म
यस हस्ताक्षरअन्तर्गत लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ का मुख्य आधारहरू—एपिआई सक्षमकरण, प्लेटफर्म कनेक्टिभिटी र उद्यम तयारी—सँग मेल खाने सहकार्य क्षेत्रहरू अन्वेषण गर्नेछ ।
यसमा नवप्रवर्तकहरूलाई उद्यम–सम्बन्धित डिजिटल समाधानहरूको प्रोटोटाइप विकासका लागि चुनिएका ओपन एपिआईएस वा स्यान्डलबक्स वातावरणमा पहुँच, उच्च सम्भावना भएका उद्यमहरूसँग प्रारम्भिक चरणमै संलग्न भई बजार तयारी र विस्तार क्षमताको मूल्यांकन तथा डिजिटल वित्त, फिनटेकमा आधारित वृद्धि र स्टार्टअप तथा स्केल अप पुँजी पहुँचसम्बन्धी विशेषज्ञ सत्रहरू समावेश छन् ।

यी कार्यक्रमहरूमा सातै प्रदेशका करिब ४०० युवा नवप्रवर्तक, प्रारम्भिक चरणका संस्थापक र उदाउँदा उद्यमीहरू सहभागी हुनेछन्। कार्यक्रमहरूको उद्देश्य फिनटेक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र जलवायु सहनशीलता जस्ता क्षेत्रहरूमा उद्यमी तयार पार्ने तथा एआईमा आधारित समाधानहरूको विकासलाई प्रवद्र्धन गर्ने हो । नवप्रवर्तन अर्थतन्त्रसँग उद्यम भुक्तानीको समन्वयडिजिटल डिसेम्बरको उद्यम भुक्तानी केन्द्रित दृष्टिकोणलाई नवप्रवर्तनको क्षेत्रसँग जोड्दै लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई केवल सञ्चालन सुधारको माध्यम मात्र नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत तहका रूपमा स्थापित गरेको छ ।

यस हस्ताक्षरले एकल उत्पादन अपनत्वबाट प्लेटफर्ममा आधारित बैंकिङतर्फको रूपान्तरणलाई प्रतिबिम्बित गर्दछ, जहाँ एपिआईएस,एकीकृत भुक्तानी प्रणाली र होस्ट टु होस्ट कनेक्टिभिटीले व्यवसायलाई सुरक्षित र प्रभावकारी रूपमा विस्तार गर्न सक्षम बनाउँछ । आध्यान्ता एड्भाइजरीले कार्यक्रम डिजाइन, मार्गदर्शन र संलग्नताको समन्वय गर्नेछ भने अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल र आध्यान्ता फण्ड म्यानेजमेन्टले निजी क्षेत्रका सञ्जालहरू परिचालन गरी भिजिबिलिटी, ज्ञान आदान–प्रदान र व्यापक सहभागिता सुनिश्चित गर्नेछ ।

FACEBOOK COMMENTS