काठमाडौं । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ ।
विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ देखि ११ बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।
“कुँडहर सबस्टेशनको एक सय ३२ केभीको बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य हुँदैछ । यसबाट कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । हामीले सोहीअनुसार सूचना गरेका छौँ”, कार्यालय प्रमुख यादवले भने ।
पोखरा प्रवेशको विजयपुरबाट यता हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् नआउने पोखरा वितरण केन्द्रले जनाएको छ । तोकिएको समभन्दा अगावै मर्मतकार्य सकिएकामा भने केही छिटो बिजुली आउनेसमेत बताइन्छ । सबस्टेशनको बसबार मर्मत सकिएपछि भने नियमित विद्युत् आपूर्ति हुने पोखरा वितरण केन्द्रले जनाएको छ ।
पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहकार्यका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ । विद्युत् प्राधिकरणले अघि बढाएको पोखराको २३ किमी क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनाअनुसार अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेटसमेतलाई भूमिगत गर्ने सम्भावनाका बारेमा महानगरले छलफल अघि बढाएको हो ।

पोखरामा हाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्र बैंकचोक–शहिदचोक–लेकसाइड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले यो कार्य भइरहेको छ ।

पोखराको सहरी सौन्दर्यकरणमा प्रत्यक्ष प्रतिकूल असर पुर्याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएकाले प्राधिकरणको योजनामा सामेल भई ताररहित अभियानमा सहयोगका लागि महानगरले आग्रह गरेको हो । महानगर २३ किमी क्षेत्रमा आगामी जुलाईभित्रमा सम्पन्न गर्नेगरी तारहरू भूमिगत गर्ने कार्य भइरहेको छ । यस परियोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताए ।

FACEBOOK COMMENTS