काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले किओच काठमाण्डू चिल्ड्रेन्स हस्पिटल (काठमाण्डू इन्स्टिच्युट अफ चिल्ड्रेन्स हेल्थ– किओच) मा बालबालिकाको मुटु परीक्षण सुरू गरेका छन् ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत डा. कोइरालाले आज शुक्रबारदेखि किओच काठमाण्डू चिल्ड्रेन्स हस्पिटलमा पनि मुटुरोग भएका बालबालिकाको परीक्षण सुरू गरेका हुन् ।
आफ्नो ‘ड्रिम प्रोजेक्ट’को रूपमा हालै स्थापना गरिएको उक्त बाल अस्पतालमा आजदेखि आफूले समेत सेवा सुरू गरेको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् । ‘आजदेखि किओच काठमाण्डू बाल अस्पतालमा मुटुरोग भएका बालबालिकाको परीक्षण गर्न सुरू गरेको छु,’ उनले लेखेका छन् ।
नेपालमा मुटुको शल्यक्रिया सेवालाई सर्वसुलभ र व्यवस्थित बनाउने प्रमुख अभियन्ताका रूपमा चिनिने डा. कोइरालाकै अगुवाइमा किओच काठमाण्डू चिल्ड्रेन्स हस्पिटल निर्माण गरी गत आइतबार (पुस १३ गते) देखि आंशिक सञ्चालनमा ल्याइएको हो ।
‘तपाईंका बालबालिकाको स्वास्थ्य हाम्रो प्राथमिकता’ मूल मर्मसहित सञ्चालनमा ल्याइएको यो गैरनाफामूलक अस्पताल डा. कोइरालाको ‘ड्रिम प्रोजेक्ट’ मानिएको छ । किनकि उनले सातवटै प्रदेशमा बालबालिकाका लागि विशिष्टीकृत स्वास्थ्य सेवा पुर्याउने उद्देश्य राखेका छन् ।

यसअघि त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशक र सहिद गंगाला राष्ट्रिय हृदय केन्द्रमा निर्देशक भएर काम गरिसकेका डा. कोइरालाले हजारौँ नेपालीको मुटुको सफल शल्यक्रिया गरिसकेका छन् । त्यसमध्ये धेरैजसो असहाय र बालबालिका रहेका छन् ।

किओच अस्पताल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा अवस्थित छ । २०० श्याको अत्याधुनिक सुविधासम्पन्न बाल अस्पताल अन्तर्राष्ट्रियस्तरको भएको बताइएको छ ।

अस्पतालमा सामान्य बाल स्वास्थ्य, बाल मानसिक स्वास्थ्य, बाल शल्यचिकित्सा/बाल मुत्र रोग, नवजात शिशु सेवा, बाल नसासम्बन्धी रोग, बाल पेटसम्बन्धी, बाल रक्तसम्बन्धी रोग/बाल क्यान्सर, बाल नेफ्रोलोजी, बाल मुटुरोग, बाल नाक, कान घाँटीसम्बन्धी, बाल दन्त चिकित्सा, बाल हाडजोर्नी, प्रयोगशाला, एक्स–रे, यूएसजी, इको, ईसीजीलगायत सुविधा उपलब्ध रहेको छ ।

FACEBOOK COMMENTS