सुर्खेत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको जनश्रम बंगाल र अरबको खाडीमा बेचेर देश कहिल्यै धनी नहुने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई सम्मान’ कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताए । ‘विद्युतिकरण गाउँगाउँमा पुर्याउनुपर्छ,’ उनले भने, ‘विद्युत नपाएका ग्राहकले पाउनुपर्छ र उहाँहरुले विजुली पाएपछि उद्योग–धन्दामा लाग्नुपर्छ ।’
उनले यहिको माटोमा श्रम गर्नुपर्नेमा जोड दिए। त्यसका लागि विजुली सबैभन्दा महत्वपूर्ण र सस्तो कच्चा पदार्थ हो,’ उनले भने, ‘नेपाल जस्तो देशमा मात्रै होइन युरोप अमेरिकामा पनि ऊर्जा अर्थतन्त्रको सबै भन्दा ठूलो ड्राइभर हो । त्यसैले हामीले उर्जामा जोड दिनुपर्छ ।’
शाक्यले आफ्ना उत्कृष्ट ग्रहकलाई सम्मान गर्ने, विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरुको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियान कोसी प्रदेशबाट सुरुवात गरेको भन्दै अहिले कर्णालीसम्म आइपुगेको पनि जानकारी दिए ।
‘गत जेठमा कोसी प्रदेशबाट सुरु गरेको यो अभियान मधेस प्रदेश, गण्डकी हुँदै कर्णालीमा सम्पन्न भएको छ,’ उनले भने, ‘उद्योगी–व्यवसायीसँग नेपाल विद्युत प्राधिकरण नकारात्मक भयो कि भन्ने आशंका चिर्न र हाम्रा इमान्दार ग्राहकलाई अन्याय गर्नुहुँदैन उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर यो अभियानको सुरुवात गरेको हो ।’

उनले अभियानले प्राधिकरणलाई ग्राहकमुखी भएर सोच्न बाध्य बनाएको र त्यसले थप अघि बढ्न प्रेरणा मिलेको उल्लेख गरे ।

शाक्यले प्राधिकरणको मुख्य स्रोत नै उभपोक्ता भएको भन्दै विद्युत उपयोग गर्ने उपभोक्ताले उत्पादनमुखी काम गरेर अर्थतन्त्रमा टेवा दिएको उल्लेख गरे ।

‘एक रुपैयाँको विजुली प्रयोग गरेर उपभोक्ताहरुले त्यसको चार–पाँच गुणा बढी उत्पादन गर्नुभएको हुन्छ र त्यहि अनुसारको योगदान मुलुकको अर्थतन्त्रमा दिइरहनु भएको हुन्छ,’ उनले भने, ‘रोजगारीको सिर्जना त्यहिबाट हुन्छ र त्यसले हामी सबैको जीवनस्तरमा सुधार गरेको हुन्छ ।’

त्यसले प्राधिकरण मात्रै नभई राज्यको अर्थतन्त्रमा पनि ठूलो योगदान भैरहेको उल्लेख गरे । ‘त्यसैले हामीले त्यो योगदानको सम्मान गर्न खोजेको हो,’ उनले भने, ‘यो सम्मानलाई संस्कारका रुपमा पनि अघि बढाउन खोजेका हौँ ।’

प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशिभुषण साहले कार्यकारी प्रमुख नै कर्णाली आएर उहाँको हातबाट कालोसूचिमा नपरेका र सबै भन्दा बढी विद्युत खपत गर्ने १० उत्कृष्ट ग्राहकलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको बताए । उनले कार्यकारी निर्देशकको निर्देशन अनुसार अब करीब १ लाख ८० हजार ग्राहक रहेको कर्णाली प्रदेशका १० वटै विद्युत केन्द्रबाट पनि उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कामको थालनी गर्ने जानकारी दिए ।
सम्मानित हुने उत्कृष्ट १० उद्योगी तथा व्यवसायीको तर्फबाट केशव बुढाथोकीले आफूहरुले लामो समयदेखि भोल्टेज कम र अघोषित लोडसेडिङको समस्या भोग्न बाध्य भएको भन्दै नियमित विद्युत आपूर्तिको व्यवस्थाका लागि भरपर्दो पहल गरिदिन आग्रह गरे ।
कार्यकारी निर्देशक शाक्यले १३२ केभी प्रसारण लाइन सञ्चालनसँगै कर्णालीको औधोगिकरण सुरु हुने र कर्णाली विकासको गतिमा अघि बढ्ने पनि दाबी गरे ।
कर्णालीको निरीक्षण भ्रमणकै क्रममा उनले कोलपुर, सुर्खेत, दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दै यस्तो बताए । कर्णालीमा १३२ केभी प्रसारण लाइन पहिलो पटक सञ्चालनमा आउन लागेको हो ।
‘कर्णाली कति पछाडि परेको छ भन्ने कुराको बोलीले भन्दा पनि प्रमाणले भन्ने हो भने हेर्नुहोस् त १३२ केभी प्रसार लाइन अहिलेसम्म आएको छैन,’ उनले भने, ‘यो भन्दा ठूलो प्रमाण के हुन्छ ? पुरै कर्णालीमा १३२ केभी प्रसारण लाइन अब बढीमा १५ दिन भित्रमा सञ्चालनमा आउँछ ।’
उनले ढिलामा १५ दिन भित्र उक्त प्रसारण लाइन चार्जमा ल्याउन निर्देशन समेत दिए । ‘त्यसपछि यहाँका उद्योगधन्दा अर्को वर्षमा सबै भन्दा बढी उद्योगधन्दामा खर्च गर्ने अवस्था आउनेमा आशावादी छु,’ उनले भने, ‘अर्को वर्ष फेरि सम्मान गर्न यहाँ आउँदा कर्णालीमा ठूला उद्योग सुरु भएर ती उद्योगी ग्राहकलाई सम्मान गर्न पाउने वातावरण बन्ने छ भन्नेमा पनि म ढुक्क छु ।’
उनले आफू २०६६ सालदेखि निरन्तर कर्णालीमा आइरहको भन्दै सुर्खेत विमानस्थलमा ओर्लिदैँ गर्दा ती पुराना दिनका याद आएको पनि उल्लेख गरे ।
शाक्यले सुर्खेतको निार्माणाधिन स्वचालित सव–स्टेशन नजिकै प्रमुख राजमार्ग छेउको टावर नजिकै रहेको र प्राधिकरणले अधिकरण गरेको जग्गामा उक्त राजमार्गमा प्रयोग गर्ने विद्युतीय सवारीलाई सहज हुने गरी चार्जिङ स्टेशन प्रयोगका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिए ।
आयोजनाका प्रमुख रविकुमार चौधरीले पनि कोलपुर–सुर्खेत खण्डको काम अन्तिम चरणमा रहेको भन्दै शाक्यको निर्देशन अनुसार अबको १५ दिन भित्र यो लाइन चार्ज गर्न सफल हुने प्रतिवद्धता व्यक्त गरे । ‘अर्को दोस्रो खण्डको सुर्खेत–दैलेख खण्डको काम पनि तिव्र गतिमा अघि बढेको छ,’ चौधरीले भन्नुभयो, ‘अर्को वर्ष भित्र दैलेखसम्म पुर्याउने छौँ । प्राधिकरणका कार्यकारी निर्देशकज्यु आएर हामीलाई जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । हामी त्यहि अनुसार कामलाई गति दिन्छौँ ।’
चौधरीले करीब ७५ करोडमा निर्माण भएको सव–स्टेशन तयारी अवस्था छ र करिब ६५ करोमा निर्माण भएको प्रसारण लाइनकाचाँहि दुइ स्पान तार तानेर परीक्षण गर्न बाँकी रहेका छन् ।
शाक्यले कर्णाली प्रदेशका १० वटै विद्युत केन्द्रका प्रमुखहरुसँग उनीहरुको प्रगति विवरण, त्यहाँको समस्या र समाधानका उपायहरुसँग केन्द्रित भएर छलफल पनि गरे । उनले आफ्ना गुनासा र समस्याहरु सुनाउँदा लिखित र योजनासहित समस्याको पहिचना गरी समाधानको उपाय खोज्ने गरी ल्याउन पनि सुझाव दिए ।
सम्मानित हुने १० उद्योग र व्यवसायी
गुनाङडोङ युनटाइन रमा जेभी क्रसर, सुर्खेत, खलङ्गा सितलपार्टी खानेपानी उपभोक्ता, सल्यान, सुभघाट सहरी खानेपनी, सुर्खेत, विजयी श्री चौरजहारी सुखा खानेपानी तथा सरसफाई रुकुमपश्चिम, खलङ्गा सितलपार्टी खानेपनी र उपभोक्ता सल्यान, वीरेन्द्रनरगर औधोगिक क्षेत्र सुर्खेत, शंखमुल ग्रमिण विद्युत लुहाम बजार, सल्यान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत र शुभघाट सरकारी खानेपनी सुर्खेत रहेको छ ।
FACEBOOK COMMENTS