काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ २३ गते आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै ओलीले आफू र नेकपा एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गरे ।
“केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छस मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो । यो कुरा पूर्ण रूपमा निराधार छ । हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ,“ ओलीले लेखेका छन् ।
संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको हमला मान्ने ओलीले स्पष्ट पारेका छन् ।
“संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले “आन्दोलन” होइन, “राज्यविरुद्धको हमला” मान्छ,“ ओलीले लेखेका छन्, “संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो, र त्यसपछि दुई घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ ।“

आफू खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार रहेको ओलीले बताए । सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न आग्रह गरे । “१९ जना नानीबाबुको मृत्युप्रति म अत्यन्त मर्माहत छु,“ उनले भने, “एउटा आग्रह गर्न चाहन्छु– माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसदे् भवनजस्तो कानुनले बल प्रयोग गर्नैपर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो ? यो प्रश्नको पनि जवाफ खोज्नुहोला ।“

यस्तो छ ओलीको स्टाटस


FACEBOOK COMMENTS