काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) ले आयोजना गरेको ‘काठमाडौं बिजनेश एक्सपो’मा ६० युनिट रगत सङ्कलन गरिएको छ ।
एक्सपोका अवसरमा संघले आयोजना गरेको रक्तदान कार्यक्रममार्फत ६० युनिट रगत सङ्कलन गरिएको हो । संघले यही माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चारदिने एक्स्पोमा चारै दिन रक्तदान शिविर पनि सञ्चालन गरिएको थियो ।
संघका महासचिव दुर्गाराज श्रेष्ठका अनुसार पहिलो दिन ७, दोस्रो दिन १३, तेस्रो दिन १८ र चौथो तथा अन्तिम दिन २२ युनिट रगत सङ्कलन गरिएको हो । एक्सपोका एक्जिविटर र अवलोकनकर्ताहरूले समेत शिविरमा सहभागिता जनाएका थिए ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण निराश बनेका उद्योगी–व्यवसायीलाई ऊर्जा भर्ने र मुलुकको आर्थिक अवस्थालाई थप चलायमान बनाउने उद्देश्यसहित संघले पहिलोपटक ‘काठमाडौं बिजनेश एक्सपो, २०२६’ आयोजना गरेको थियो ।
काठमाडौं उपत्यका केवल प्रशासनिक राजधानी मात्र नभई आर्थिक, सांस्कृतिक र पर्यटकीय केन्द्र भएको तथा एक्सपोमार्फत स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखेर आयोजना गरिएको एक्सपो सभ्य, भव्य र उत्साहपूर्णरूपमा सम्पन्न भएको संघका मेला समिति सभापति उज्वल जंग पराक्रम शाहले जानकारी दिए ।

यो पनि पढ्नुहोस्–

समग्र आर्थिक पुनर्जागरणको मञ्च बन्यो ‘काठमाडौं बिजनेस एक्सपो, २०२६’, हेर्नुहोस् ३८ तस्बिर

FACEBOOK COMMENTS