चितवन । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरु स्थायी नहुने बताएका छन् ।
प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने बताए ।
उपमहासचिव भट्टराईले भने “दुनियाका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेको, जमिनमा टेकेका दलहरुले नै त्यो देश थाम्ने हो । कुनै खास एजेन्डा र हुईममा बनेका दलहरु स्थायी हुँदैनन् ।” यिनीहरुले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने भन्दै उनले थपे “राजनीतिक दल भनेको राष्ट्रका खम्बाहरु हुन् । त्यो खम्बा कमजोर हुनु हुँदैन ।” अहिले नेपालमा नक्कली मानिसहरु देखा परेर पपुलिजमको आधारमा नक्कली पार्टी खडा गरेको उनले बताए ।
राजनीतिक दल र नेतृत्व जनतासँग संवाद गर्ने हुनुपर्ने भन्दै उनले जनताले सुनिने र देखिने हुनुपर्ने बताए । उनले भने “राजनीतिक दल र नेतृत्व जनताको पहुँचमा हुनुपर्छ । जनताले छुन, हेर्न र आलोचना गर्न सक्ने र जनताको विरोध र आलोचना सहन सक्ने हुनुपर्छ ।” जनताले नदेखेको छुन पनि नपाएको र प्रश्न पनि गर्न नपाएको नेतृत्व अहिले आईरहेको उनको भनाई छ । उनले प्रश्न गर्दै भने “नेतृत्व जनतासँग बोलिदैन, सुनिदैन । नागरिकसँग संवाद गर्दैनन् भने ति दलहरुले के गर्छन् ?”
यो राष्ट्रको भविष्यसँग जोडिएको विषय भएकाले आम जनतालाई आवेग र उत्तेजनामा आएर वा पपुलिजमको भरमा नभई ठण्डा दिमागले सोचेर आगामी ५०–१०० वर्ष देश कसरी अगाडि जान सक्छ भन्ने सोचेर मतदान गरी विश्वासिलो नेतृत्व चयन गर्न उनले अपिल गरे ।

आज मुलुक लुलो र कमजोर बनाईएको भन्दै उनले भने “पुलिस प्रशासनको मनोबल गिराईएको छ, अदालतको आत्मबल कमजोर बनाईएको छ ।” एमाले जस्तो पार्टी बलियो र पहिलो बनेन भने राज्यका यी अंगहरुको आत्मविश्वास नै नबढ्ने उनको भनाई छ । उनले अगाडि थपे “राज्यका यि अंगहरुको र आम नागरिकको सुरक्षा एमालेले मात्रै गर्न सक्छ, एमाले नेतृत्वमा बन्ने सरकारले गर्छ ।” यही आत्मविश्वास लिएर एमाले चुनावी मैदानमा जाने र पहिलो पार्टी बन्ने उनले बताए ।

कतिपयलाई एमाले महाधिवेशनको धङ्धङ्गी यो निर्वाचनमा देखिन्छ कि ? भन्ने भ्रम रहेको भन्दै उपमहासचिव भट्टराईले भने “मलाई पनि विम्बको रुपमा टिप्पणी गरेको सुन्छु । उम्मेदवारी ट्ङ्ग्याउनु अघि हामीले व्यापक छलफल ग¥यौं, सहमति, विमति अनेक भए । जब एमालेका नामबाट, सूर्य चिन्ह लिएर उम्मेदवारी दर्ता भयो एमालेको सिंगो पार्टी पंक्ति एकढिक्का भएर सबै उम्मेदवारलाई जिताउन लागेको छ ।”

एमालेका १६३ जना उम्मेदवार सबै साझा भएको उनको भनाई छ । उनले अगाडि थपे “सिंगो एमालेको मिसन ‘फागुन २१, सूर्य चिन्ह, नेकपा एमाले’ हो । पार्टी र मेरो व्यक्तिगत मिसन पनि यही हो ।” यो पार्टीभित्र अन्तरविरोध गर्ने बेला नभएर अरु पार्टीसँग लड्ने समय भएको उनको भनाई छ ।

एमालेलाई राष्ट्रिय शक्ति बनाउँदै समानुपातिकमा अघिल्लो निर्वाचनभन्दा मत बृद्धि गरेर ४० लाख पु¥याउने भन्दै उनले अगाडि थपे “प्रत्यक्षमा पनि उल्लेख्य संख्या बृद्धि गर्ने गरी एमालेले एकल बहुमत ल्याएर सरकार बनाएर आजका तमाम विकृति विसंगतिलाई अन्त्य गर्दै अघि बढ्छौं ।” यसो हुन सके मात्रै मुलुक सबल र सुदृढ हुने उनको भनाई छ ।
FACEBOOK COMMENTS