काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम सुुरू गर्ने भएको छ।
आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ ।
‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ १ फागुनदेखि २१ फागुनसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ।’ निर्णयमा भनिएको छ।
यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुन: आफ्नै जिल्ला/क्षेत्र/पालिका र वडामा केन्द्रित रहन भनिएको छ।
यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ(आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।
यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौँ’ उद्घोषका साथ आ–आफ्नै वडामा खट्न कांग्रेसले भनेको छ । कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरूलाई समेत सोही नीति बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ।

FACEBOOK COMMENTS