काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाविरुद्धको आचारसंहिता उल्लंघन गरेको आरोपमा अफगानिस्तानका अलराउन्डर मोहम्मद नबीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।
आईसीसीले नबीलाई लेभल–१ को आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उनको म्याच फीको १५ प्रतिशत जरिवाना गर्ने निर्णय गरेको हो । उनले खेलाडी तथा खेल सहयोगी स्टाफसम्बन्धी आईसीसी आचारसंहिताको धारा २.४ उल्लंघन गरेको जनाइएको छ, जुन अन्तर्राष्ट्रिय खेलका क्रममा अम्पायरको निर्देशन अवज्ञा गर्नेसँग सम्बन्धित छ ।
घटना अफगानिस्तानको इनिङ्सको १४औँ ओभर सुरु हुनुअघि भएको थियो । उक्त समयमा नबीले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडीले लगाएको हातको ब्यान्ड (रिस्ट ब्यान्ड) सम्बन्धमा अम्पायरसँग विवाद गरेका थिए । सो क्रममा अम्पायरको निर्देशन नमानिएको भन्दै आईसीसीले कारबाही गरेको हो ।
यो खेल भने अत्यन्त रोमाञ्चक बनेको थियो । निर्धारित ओभरमा नतिजा ननिस्किएपछि दुई पटक ‘सुपर ओभर’ खेलाइएको थियो । अन्तत: दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गर्दै जित हात पारेको थियो ।
FACEBOOK COMMENTS