काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न योग्यता, नेतृत्व क्षमता र पारदर्शी मूल्याङ्कनमा आधारित तीन चरणको प्रक्रिया अघि सारेको छ। पार्टीले सार्वजनिक गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार आकाङ्क्षीले उम्मेदवार क्लबमा आवेदन, लिडरसिप एकेडेमीमा प्रशिक्षण र छनोट रूपरेखामा आधारित परीक्षण पार गर्नुपर्नेछ ।
रास्वपाबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, मनोनयनपत्र दर्ताको अन्तिम मितिसम्म २१ वर्ष पूरा गरेको हुनुपर्ने र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ। साथै, प्रचलित कानुनले उम्मेदवार हुन अयोग्य नठहर्याएको हुनुपर्ने व्यवस्था छ । पार्टीको विधानअनुसार आकाङ्क्षी रास्वपाको सक्रिय सदस्य हुनुपर्ने तथा पार्टीको विचार, सिद्धान्त र सार्वजनिक प्रतिबद्धताप्रति पूर्ण रूपमा प्रतिबद्ध हुनुपर्नेछ।
अन्य राजनीतिक दलको सदस्यता त्यागेको हुनुपर्ने र पार्टीले माग गरेका आवश्यक कागजात उपलब्ध गराउन तयार हुनुपर्नेछ । उम्मेदवारले शैक्षिक प्रमाणपत्रको सत्यता पुष्टि गर्नुपर्नेछ। सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र, आर्थिक कारोबार, स्वार्थको द्वन्द्व तथा अदालत वा अन्य निकायमा विचाराधीन कानुनी विवादसम्बन्धी विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ। घरेलु हिंसा, यौन दुर्व्यवहार, सार्वजनिक रूपमा अमर्यादित व्यवहार र डिजिटल दुर्व्यवहारमा संलग्न नरहेको स्वघोषणा पनि गर्नुपर्नेछ । रास्वपाले उम्मेदवार छनोट प्रक्रिया तीन चरणमा अघि बढाउने रूपरेखामा उल्लेख गरेको छ। पहिलो चरणमा आकाङ्क्षीले पार्टीको उम्मेदवार क्लबमा औपचारिक आवेदन दिनुपर्नेछ।
यस क्रममा व्यक्तिगत पृष्ठभूमि, अनुभव, विशेषज्ञता र आधारभूत योग्यताको विवरण सङ्कलन तथा परीक्षण गरिनेछ । दोस्रो चरणमा लिडरसिप एकेडेमीमार्फत प्रशिक्षण दिइनेछ। त्यसपछि तेस्रो चरणमा निर्धारित मापदण्डका आधारमा आकाङ्क्षीहरूको परीक्षण र मूल्याङ्कन गरिनेछ। मूल्याङ्कनमा सार्वजनिक आचरण, नेतृत्व क्षमता, स्थानीय समुदायसँगको सम्बन्ध, संगठनात्मक क्षमता, जनविश्वास र निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावनालाई आधार बनाइनेछ । रूपरेखाअनुसार उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनबाट प्राप्त मतलाई पनि समावेश गरिनेछ।

मतभारसहित विभिन्न सूचकमा प्राप्त अङ्कलाई समग्र मूल्याङ्कनमा जोडेर उम्मेदवारको छनोट गरिनेछ। महिला, युवा तथा विभिन्न सामाजिक र भौगोलिक समुदायको प्रतिनिधित्वलाई समेत ध्यान दिइनेछ। अन्तिम सूचीमा परेका आकाङ्क्षीको कानुनी योग्यता र समावेशितासम्बन्धी मापदण्ड परीक्षण गरेपछि मात्रै आधिकारिक उम्मेदवारका रूपमा प्रमाणित गरिने व्यवस्था छ । रास्वपाले लिडरसिप एकेडेमीलाई उम्मेदवारको नेतृत्व क्षमता विकास गर्ने र स्थानीय तहको जिम्मेवारी सम्हाल्न तयार पार्ने महत्त्वपूर्ण चरणका रूपमा राखेको छ । उम्मेदवार बन्न चाहने आकाङ्क्षीलाई स्थानीय शासन सञ्चालन, नागरिक सेवा प्रवाह, नीति निर्माण, सुशासन, सार्वजनिक वित्त व्यवस्थापन, नागरिक सहभागिता र नेतृत्वका विविध पक्षमा प्रशिक्षण दिने लक्ष्य राखिएको छ ।

एकेडेमीको उद्देश्य उम्मेदवारलाई निर्वाचन जित्ने प्रतिस्पर्धामा मात्रै सीमित नराखी निर्वाचित भएपछि प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउनु हो। स्थानीय आवश्यकता र उपलब्ध स्रोतसाधन बुझ्ने, नागरिकका समस्या सम्बोधन गर्ने तथा स्थानीय सरकारलाई परिणाममुखी ढङ्गले सञ्चालन गर्न सक्ने नेतृत्व विकासमा जोड दिइएको छ । यसका साथै, एकेडेमीमा गरिएको मूल्याङ्कनलाई उत्तीर्ण वा अनुत्तीर्णमा मात्रै सीमित नराखी प्राप्त अङ्कलाई अन्तिम उम्मेदवार छनोटको समग्र मूल्याङ्कनमा समावेश गरिने व्यवस्था गरेको छ । यसबाट व्यक्तिगत पहुँच वा नेताको निर्णयभन्दा निर्धारित मापदण्ड, क्षमता र प्राप्ताङ्कका आधारमा उम्मेदवार छनोट गर्ने प्रणाली विकास गर्ने पार्टीको लक्ष्य रहेको उल्लेख छ ।

२- रुग्ण अवस्थामा रहेको भेरी करिडोरअन्तर्गत दुनै–लासिक्याप सडक खण्डको निर्माणमा उल्लेख्य प्रगति भएको छ । यस सडक खण्डमा अहिले ट्र्याक खोल्ने काममा ६० प्रतिशत प्रगति भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुगमन र पहलपछि सडक निर्माणका क्रममा देखिएको विस्फोटसम्बन्धी समस्या समाधान भएको छ । करिडोरको अन्तिम प्याकेजअन्तर्गत लासिक्याप–सिसैल खण्डको निर्माणसमेत सुरु भएको छ । यसैगरी, काम अघि बढ्न नसकेका तल्लुबगर–त्रिवेणी र त्रिवेणी–चुगाड सडक खण्डको मन्त्रालयले निरीक्षण गरी निर्माण प्रक्रिया अघि बढाएको छ ।
करिडोरअन्तर्गत पुल निर्माणमा पनि प्रगति भएको छ। यसअघि कुनै प्रगति नभएको तर्ता खोलाको पुलको तल्लो संरचना निर्माण सम्पन्न भएको छ । नलगाड र झिम्री खोलाका पुलमा एक भागको खम्बा निर्माण सकिएको छ भने बीचको भागमा जग खन्ने काम भइरहेको छ। माइदे र तासु खोलामा पनि पुल निर्माणका लागि जग खन्ने काम अघि बढेको मन्त्रालयले जनाएको छ । डोल्पासहित कर्णाली प्रदेशका विभिन्न जिल्लालाई जोड्ने रणनीतिक महत्त्वको भेरी करिडोर निर्माण समयमै सम्पन्न गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ ।

३- साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यमनका हुथी विद्रोहीविरुद्ध जारी सैन्य अभियानमा इजरायललाई सहभागी गराउने प्रस्ताव अस्वीकार गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी मध्यस्थतामार्फत साउदी अरबसँग यस्तो प्रस्ताव राखेको कूटनीतिक स्रोतलाई उद्धृत गर्दै इजरायली सञ्चारमाध्यम हारेत्जले जनाएको छ ।
हारेत्जका अनुसार साउदी युवराजले इजरायली सेनालाई यमनको अभियानमा सहभागी गराउँदा साउदी जनतामाझ विरोध बढ्न सक्ने आशङ्काले प्रस्ताव अस्वीकार गरेका हुन् । इजरायलले भने साउदी अरबसँग सैन्य सहकार्य विस्तार गरेर क्षेत्रीय सम्बन्ध बलियो बनाउने र भविष्यमा दुई देशबीच कूटनीतिक सम्बन्ध सामान्यीकरण गर्ने सम्झौताको बाटो खोल्ने अपेक्षा गरेको जनाएको छ । साउदी अरब र इजरायलबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई अब्राहम सम्झौतामा सहभागी हुन आग्रह गर्दै आए पनि रियादले प्यालेस्टाइन समस्या समाधान र स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापनालाई सम्बन्ध सामान्यीकरणको सर्त बनाउँदै आएको छ । नेतन्याहुले भने प्यालेस्टिनी राज्य स्थापनाको विरोध गर्दै आएका छन् । यस्तो अवस्थामा साउदी अरब र इजरायलबीच सम्बन्ध सामान्यीकरणको सम्भावना थप जटिल बनेको छ । यमनका हुथी विद्रोहीले साउदी अरबमा आक्रमण जारी राखेका बेला इजरायलको प्रस्ताव अस्वीकार गरिएको खबर आएको हो । हुथी आक्रमणका कारण साउदी अरबको हवाई सेवासमेत प्रभावित भएको र रियादको अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने अवधि बढाइएको समाचारमा उल्लेख छ ।
साउदी अरबका युवराज मोहम्मद बिन सलमान प्रधानमन्त्रीसमेत रहेकाले उनको स्वीकृतिबिना इजरायललाई सैन्य अभियानमा सहभागी गराउन कठिन हुने विश्लेषण गरिएको छ । हारेत्जका अनुसार सन् २०२३ को अन्त्यतिर साउदी अरब र इजरायल सम्बन्ध सामान्यीकरणसम्बन्धी सम्झौताको नजिक पुगेका थिए । तर त्यसै वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि क्षेत्रीय परिस्थिति बदलिएको थियो । यसैबीच, वासिङ्टन पोस्ट को एक रिपोर्टले हमासको सम्भावित योजनाबारे साउदी युवराजले नै नेतन्याहुलाई पहिले चेतावनी दिएको दाबी गरेको छ । तर नेतन्याहुले त्यसलाई बेवास्ता गरेको रिपोर्टमा उल्लेख छ । साउदी अधिकारीहरूले इजरायलको प्रस्ताव अस्वीकार गरिएको खबरबारे औपचारिक प्रतिक्रिया भने अहिलेसम्म दिएका छैनन् ।
४- नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए । भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गरेका थिए।
उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणसमेत गरेका थिए । सो क्रममा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्याम्ब्रियन पेट्रोल २०२६’ मा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सदस्यलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभित गरिएको थियो । नेपाली सेनाले यस भ्रमणबाट नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको द्विपक्षीय सैनिक सम्बन्ध थप सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरेको छ ।
५- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र इच्छुक कम्पनीलाई आशयपत्र दिने तयारी भइरहेको बताएका छन् । बुधबार मन्त्रालयमा ६ महिनाको प्रगति समीक्षा गर्दै उनले विद्युत् उत्पादन, प्रसारण, बजार विस्तार र आन्तरिक खपत वृद्धि तथा सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए ।
मन्त्री श्रेष्ठका अनुसार विद्युत् खरिद सम्झौताका लागि वैज्ञानिक मापदण्ड तयार गरिएको छ। निर्माणको अन्तिम चरणमा रहेका २७ जलविद्युत् आयोजनाको कुल ५४०.४७ मेगावाट क्षमताको व्यावसायिक उत्पादन सुरु हुने मिति थप गरिएको छ । नेपाल–भारतबीच विद्युत् आयात क्षमता १ हजारबाट १ हजार ४०० मेगावाट र निर्यात क्षमता १ हजार १०० बाट १ हजार ६५० मेगावाट पुर्याउने सहमति भएको पनि उनले बताए । प्रसारण पूर्वाधारतर्फ बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। बाह्रबिसे र नयाँ खिम्ती सबस्टेसन निर्माण पूरा गरी आंशिक सञ्चालनमा ल्याइएको छ। चालु आर्थिक वर्षभित्र थप १२ वटा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सिँचाइतर्फ सिक्टा आयोजनामार्फत थप १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। महाकाली, बड्कापथ, बबई र रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट पनि थप जमिनमा सिँचाइ सुविधा पुर्याइएको मन्त्रालयले जनाएको छ । ऊर्जा क्षेत्रको कानुनी सुधारअन्तर्गत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ भने जलस्रोतसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस गरिएको छ । मन्त्री श्रेष्ठले प्राकृतिक विपद्बाट ऊर्जा पूर्वाधारमा क्षति पुगे पनि विद्युत् सेवा पुनःस्थापना र आपूर्ति निरन्तर राख्न प्राथमिकताका साथ काम गरिएको बताए। बाढीपछि सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारमध्ये हालसम्म छ परिवारलाई राहत वितरण गरिएको पनि उनले जानकारी दिए ।
६- गृहमन्त्री सुधन गुरुङले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकमा भाग लिन दिल्लीमा रहेका गृहमन्त्री गुरुङले आज विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् । उनले यसअघि मंगलबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए ।
नयाँ दिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकका क्रममा भएको भेटमा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए । गुरुङको भारत भ्रमण सकेर आजै स्वदेश फर्किने तालिका रहेको छ ।
७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्वामित्वमा केन्द्रीय कार्यालय स्थापना गर्न घर वा जग्गा खरिद गर्ने भएको छ । पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी स्थायी कार्यालय सञ्चालन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार घर वा जग्गा खरिद गर्न लागिएको हो ।
प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीले केन्द्रीय समिति बैठकको निर्णयअनुसार कार्यालयका लागि उपयुक्त घर वा पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा खरिद गर्न इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ । रास्वपाले आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा जग्गालाई प्राथमिकता दिने जनाएको छ । पार्टीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुक घरधनी तथा जग्गाधनीलाई प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । पार्टीका उक्त जानकारी दिएका हुन् ।
८- नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी एसबीएल डिभेन्चरको शेयर १३.२१ प्रतिशतले बढेको छ भने नेपाल एसबीआई बैंक डिभेन्चरको शेयर पनि ८.१८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सगरमाथा जलविद्युतको शेयरमा ६.३२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २६ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २१ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
९- नेकपाका सांसद बर्षमान पुनले साउदी अरेबियाका लागि प्रस्तावित राजदुत गिरीबहादुर सुनारलाई आफ्नो नाम फिर्ता लिन आग्रह गरेका छन् । संसदीय सुनुवाईका क्रममा पुनले सुनारविरुद्ध लागेका आरोप गम्भीर भएकाले आफैले नाम फिर्ता लिन सुझाव दिएका हुन् । पुनले अभियन्ताकै पहिचान बनाएका व्यक्तिमाथि महिलाविरुद्ध हिँसाको आरोप लाग्नु गम्भीर भएको बताए ।
त्यस्तै एमाले सांसद पदमा अर्यालले पनि सुनारमाथि लागेको आरोप गम्भीर भएको बताउदै राजदुतको मापदण्ड अनुसार नभएको उल्लेख गर्दै महिलाको कुरा सुन्दा र निवेदनमा उल्लेख भएको विषय गम्भीर भएको बताएकी थिइन् । सुनारमाथि लागेका आरोपको अध्ययन नै गर्नुपर्ने भन्दै सुनारले दिने प्रमाण पनि आफुहरुका लागि सहयोगी हुने बताएकी थिइन् । सुनारले भने आफूमाथि लागेका आरोप निराधार भएको दाबि गर्दै आफुसँग सबै प्रमाण भएको बताएका थिए ।
१०- सन् २०२६ को शरद् ऋतुमा अहिलेसम्म नेपालका ४१ हिमाल आरोहणका लागि ७१ देशका १ हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले सार्बजनिक गरेको विवरण अनुसार आरोहण अनुमतिबापत १८ लाख ५४ हजार ९५९ अमेरिकी डलर अर्थात् २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । विभागको विवरणअनुसार आरोहण अनुमति लिनेमा ८३३ पुरुष र २६५ महिला छन् । उनीहरू १३० आरोहण समूहमा आबद्ध छन् ।
हिमालअनुसारको विवरणमा मनास्लु आरोहणका लागि सबैभन्दा धेरै ५०० जनाले अनुमति लिएका छन् । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण अनुमतिबाट मात्र १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर अर्थात् २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । यो कुल रोयल्टीको करिब ८० प्रतिशत हो । मनास्लुपछि आमादब्लमबाट सबैभन्दा धेरै रोयल्टी सङ्कलन भएको छ । ६ हजार ८१४ मिटर अग्लो आमादब्लम आरोहणका लागि १७८ जनाले अनुमति लिएका छन् । यसबाट १ लाख ७८ हजार अमेरिकी डलर अर्थात् २ करोड ७३ लाख १५ हजार ५०० रुपैयाँ रोयल्टी प्राप्त भएको छ । त्यस्तै, ६ हजार २६५ मिटर अग्लो हिमलुङ आरोहणका लागि ९४ जनाले अनुमति लिएका छन् ।
यसबाट ३७ हजार ६०० अमेरिकी डलर अर्थात् ५७ लाख ८८ हजार ९६० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । ८ हजार १६७ मिटर अग्लो धौलागिरि प्रथमबाट ३७ आरोहीमार्फत ५५ हजार ५०० अमेरिकी डलर अर्थात् ४८ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी प्राप्त भएको विवरणमा उल्लेख छ । अन्य हिमालमध्ये चाम्लाङ र बरुणत्सेमा १९–१९ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण प्रथममा १९, सगरमाथामा चार, मकालुमा तीन र धौलागिरि दोस्रोमा ६ जनाले आरोहण अनुमति लिएका छन् । देशअनुसार चीनका सबैभन्दा धेरै १३२ आरोहीले अनुमति लिएका छन् । त्यस्तै, रुसका ९६, अमेरिकाका ९४, फ्रान्सका ९३, जर्मनीका ८० र बेलायतका ७४ आरोहीले अनुमति लिएका छन्।
अस्ट्रेलियाका ३३, जापानका २८, इटालीका २८, स्विट्जरल्यान्डका २८, क्यानडाका २७, नेपालको २६ र भारतका २२ आरोही पनि सूचीमा छन् । यसैगरी, स्पेनका २१, दक्षिण कोरियाका १०, स्लोभेनियाका नौ, ब्राजिलका चार, सिङ्गापुरका चार, पोल्यान्डका २९, नर्वेका आठ र नेदरल्यान्ड्सका ११ आरोहीले अनुमति लिएका छन् । विभागको विवरणमा अर्जेन्टिना, बेल्जियम, बुल्गेरिया, चिली, कोलम्बिया, कोस्टारिका, क्रोएसिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इक्वेडर, इस्टोनिया, फिनल्यान्ड, जर्जिया, ग्रिस, हङकङ, हङ्गेरी, आइसल्यान्ड, इन्डोनेसिया, इरान, आयरल्यान्ड, इजरायल, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाट्भिया, लिथुआनिया, लक्जेम्बर्ग, उत्तर म्यासेडोनिया, मलेसिया, मेक्सिको, मोल्डोभा, मोन्टेनेग्रो, न्युजिल्यान्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्लोभाकिया, दक्षिण अफ्रिका, स्विडेन, ताइवान, थाइल्यान्ड, युक्रेन, संयुक्त अरब इमिरेट्स, भेनेजुएला र भियतनामलगायत देशका आरोहीले पनि विभिन्न हिमालको आरोहण अनुमति लिएका छन् ।
११- सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् । एमालेका पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए । असन्तुष्टिका बीच मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् । थापा एमालेबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को ख बाट निर्वाचित प्रदेश सांसद हुन् ।
१३- अमेरिकी कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्पनी ओपनएआईको सान फ्रान्सिस्कोस्थित कार्यालयमा गोप्य बैठकको कुराकानी रेकर्ड गर्न उपकरण लुकाएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले साउदी नागरिक ३५ वर्षीय अब्दुलरहमान अलफोजानलाई अक्टोबर ९ मा पक्राउ गरेको हो । उनीमाथि कम्पनीका अधिकारीहरूको गोप्य कुराकानी रेकर्ड गर्ने उद्देश्यले बैठक कक्षमा उपकरण लुकाएको आरोप छ । कम्पनीका अनुसार सेप्टेम्बर ३० मा सुरक्षा जाँचका क्रममा बैठक कक्षको टेलिभिजन पछाडि युएसबी पोर्टमा जोडिएको रेकर्डिङ उपकरण फेला परेको थियो । उपकरणमा माइक्रोफोन, क्यामेरा सेन्सर र तथ्याङ्क भण्डारण गर्ने मेमोरी कार्ड रहेको बताइएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार अलफोजानले उपकरण तयार पार्ने, लुकाउने र टाढाबाट सञ्चालन गर्ने विषयमा कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणालीमार्फत जानकारी खोजेका थिए । सुरक्षा कक्षको दृश्य अभिलेखमा उनी अनुमति नभएको बैठक कक्ष वरपर देखिएको पनि अनुसन्धानकर्ताहरूको दाबी छ । अक्टोबर ५ मा उनको झोलाबाट अर्को गुप्त रेकर्डिङ उपकरणसमेत फेला परेको बताइएको छ । त्यसपछि कम्पनीले उनलाई सेवाबाट हटाएको छ ।
ओपनएआईले भने अलफोजानले कम्पनीको कृत्रिम बुद्धिमत्ता प्रणालीको मूल तथ्याङ्क, स्रोत सङ्केत वा ग्राहकको जानकारीमा अनधिकृत पहुँच बनाएको अथवा बाहिर पठाएको प्रमाण फेला नपरेको जनाएको छ । सन् २०२५ को जुलाईमा ओपनएआईमा आबद्ध भएका अलफोजानले यसअघि मेटा, माइक्रोसफ्ट र जर्मन सफ्टवेयर कम्पनी एसएपीमा पनि काम गरेका थिए । उनीमाथि लागेको आरोप प्रमाणित भएमा पाँच वर्षसम्म कैद, दुई लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना र तीन वर्षसम्म निगरानीमा राख्ने सजाय हुन सक्ने अमेरिकी न्याय मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
१४- संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले थप भरपर्दो विद्युत् सेवा पाउने भएका छन् । यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको हो । राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको छ । यसबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा घरेलु उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथांकासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा विद्युत् पुर्याउन आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । चालु आर्थिक वर्षभित्रै किमाथांकामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पु¥याउने लक्ष्य राखिएको छ । संखुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राखेर प्राधिकरणले दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारको काम निरन्तर अघि बढाइरहेको छ ।
जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा भने लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ । हटियामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि भोटखोलाका दुर्गम बस्तीलाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ । अब किमाथांकासम्म प्रसारण लाइन विस्तार गर्ने लक्ष्य पूरा भएमा चीनसँग सीमा जोडिएको यस दुर्गम क्षेत्रको विद्युत् पहुँच विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल हुनेछ ।
१५- एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अघि बढिरहेको छ । सबस्टेसनमा ग्यास इन्सुलेटेड स्विचगियर तथा नियन्त्रण भवन, ट्रान्सफर्मर जडानस्थलका जग, ग्यान्ट्री र अन्य उपकरण जडानस्थलका जग निर्माण भइरहेको छ ।
निर्माण सम्पन्न भएपछि न्यू बुटवल सबस्टेसन ४०० केभी बुटवल–गोरखपुर प्रसारण लाइनको अन्तिम बिन्दुका रूपमा रहनेछ । यसले नेपालको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउनुका साथै भरपर्दो विद्युत् आपूर्तिमा सहयोग पुर्याउनेछ । यस आयोजनाले भारतसँग विद्युत् व्यापार गर्ने नेपालको क्षमता पनि बढाउने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।
१६- सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार सुधारका लागि उक्त बजेट छुट्याइएको हो ।
पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ । योजनाअन्तर्गत प्रत्येक विद्यालयमा करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ । भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका विद्यालयको पूर्वाधार सुधारसँगै विद्यार्थी अभाव झेलिरहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक संरचना पनि सुधार गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । उनले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।
१७- दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको विमान अपहरण गरी दुर्घटनाग्रस्त गराउने कथित षड्यन्त्रको अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) प्रहरीले माल्दिभ्सका दुई सहचालकलाई पक्राउ गरेको छ ।
माल्दिभ्सको समाचार पोर्टल अधाधूका अनुसार उनीहरूलाई अक्टोबर ३ मा हिरासतमा लिइएको हो । यसअघि सेप्टेम्बर ३० मा भएको घटनामा ओमानका सहचालक हम्माम अल–हम्मामीले भारतीय विमान चालक स्मित मच्छारमाथि धारिलो हतियारले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको आरोप छ । विमानमा यात्रु र चालक दलका गरी १७४ जना सवार थिए । आक्रमणमा घाइते भएका मच्छारले प्रतिकार गरेपछि चालक दल र यात्रुहरूले आरोपितलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो ।
यूएईका अधिकारीहरूले घटनालाई सम्भावित आतंकवादी आक्रमणको प्रयासका रूपमा अनुसन्धान गरिरहेका छन् । पक्राउ परेका दुई माल्दिभियन पाइलटको घटनामा संलग्नता र उनीहरूमाथिका आरोपबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । यस घटनाको व्यापक षड्यन्त्रबारे अनुसन्धान गर्न भारतको राष्ट्रिय अनुसन्धान निकायले पनि मुद्दा दर्ता गरेको छ । आक्रमणमा घाइते भएका मच्छारको अबुधाबीस्थित अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्यमा सुधार आएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
१८- शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियामा फेरबदल गरिएको छ। ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३” ले मूल नियमावलीको नियम ९९ मा संशोधन गर्दै शिक्षक सरुवाका नियमहरूलाई फेरबदल गर्न लागिएको हो । प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि ‘एक वर्ष पूरा भएका’ र अनिवार्य अवकाश हुन ‘एक वर्षभन्दा बढी समय बाँकी रहेका’ शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवाका लागि निवेदन दिन सक्नेछन् ।
विशेष अवस्थाबाहेकका साधारण स्थायी शिक्षकहरूको हकमा यसअघि राखिएको तीनवर्षे अवधि घटाएर अब एक वर्ष सेवा अवधि पूरा भएपछि नै सरुवा गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ । यसको अर्थ अब कुनै पनि स्थायी शिक्षकले नयाँ विद्यालयमा हाजिर भएको वा नियुक्ति पाएको एक वर्षमै सामान्य रूपमा सरुवा पाउन सक्ने छैनन्। यसअघि यो तीन वर्ष पुगेपछि मात्र हुने व्यवस्था थियो । सरुवाका लागि आएका निवेदनहरूमाथि विचार गर्दा मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ ।
संशोधित नियमअनुसार “ख” र “ग” वर्गका अपाङ्गता भएका शिक्षक, अरूको सहारा बिना हिँडडुल गर्न नसक्ने फरक क्षमताका व्यक्ति, गर्भवती महिला र दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिला शिक्षकलाई सरुवामा ‘पहिलो प्राथमिकता’ दिइनेछ। अन्य सामान्य शिक्षकहरूको हकमा भने विद्यालयले नै प्राथमिकताक्रम तय गर्नेछ । यसैगरी, दुई विद्यालय वा शिक्षकहरूबीच हुने पारस्परिक सरुवाको हकमा पनि निवेदन दिने शिक्षकहरूको कम्तीमा एक वर्ष सेवा अवधि अनिवार्य रूपमा बाँकी हुनुपर्ने सर्त राखिएको छ।
यसमा पनि यसअघि राखिएको तीन वर्षे बाध्यकारी अवधिलाई घटाएर एक वर्षमा झार्न प्रस्ताव गरिएको हो । नियमावलीले ‘विशेष अवस्था’ लाई पनि थप प्रस्ट्याएको छ। यसअन्तर्गत स्थायी विपद्मा परेका शिक्षक, आकस्मिक वा आपत्कालीन अवस्थाका कारण ज्यान जोगाउनुपर्ने स्थिति, वा शिक्षकको पति/पत्नी, छोराछोरी वा आमाबुवालाई गम्भीर बिरामी भई निरन्तर हेरचाह गर्नुपर्ने अवस्थालाई समेटिएको छ।
यस्तो अवस्था विशेषज्ञ डाक्टर वा मानसिक स्वास्थ्य विशेषज्ञबाट प्रमाणित भएको हुनुपर्नेछ । यसैगरी, सरकारले तोकेको कडा रोग लागेको वा मेडिकल बोर्डले सिफारिस गरेको फरक क्षमता भएका शिक्षकले पनि यो सुविधा पाउनेछन् । नयाँ संशोधन लागू भएपछि साविकको नियमावलीमा रहेको उपनियम (१५) लाई भने पूर्ण रूपमा हटाउन प्रस्ताव गरिएको छ ।
१९- युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, आर्सनल, एट्लेटिको मड्रिड, स्पोर्टिङ सिपी, आरबी लाइपजिग र भिल्लारियलले जित निकालेका छन् । त्यस्तै क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले पराजित गरेको छ भने बायर्न म्युनिख र भाइकिङले ३–३ गोलको बराबरी खेलेका छन् । बार्सिलोनाले गालातासारेलाई ४–१ गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि जोआओ कान्सेलो, फर्मिन लोपेज, एन्थोनी गोर्डन र करिम अदेयेमीले गोल गरेका छन् ।
त्यस्तै, गालातासारेका लागि अलेक्से बाट्राकोभले एक गोल फर्काएका थिए । त्यस्तै, क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले हराएको छ । इन्टरका लागि लाउटारो मार्टिनेजले दुई तथा एन्जे-योआन बोनीले एक गोल गरेका छन् । क्लब ब्रुगेसका निकोलो ट्रेसोल्डीले तीन तथा रोमियो भर्मान्टले एक गोल गरेका छन् । त्यसैगरी, आर्सनलले लिललाई ३–० गोलले पराजित गरेको छ । आर्सनलका जुरीएन टिम्बर, एबेरेची एजे र बुकायो साकाले एक–एक गोल गरेका छन् । त्यस्तै, एट्लेटिको म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हराएको छ । एट्लेटिकोका लागि पाब्लो बारियोस र एडेमोला लुकम्यानले गोल गरेका थिए । अर्को खेलमा बायर्न म्युनिख र भाइकिङबीचको खेल ३–३ गोलको बराबरीमा रोकिएका छन् । बायर्नका लागि ह्यारी केनले दुई तथा लुइस डियाजले एक गोल गरेका थिए ।
भाइकिङका लागि गियानी स्टेन्सनेस, क्रिस्टियनसेन र जोहान हाउगेनले गोल गरेका थिए । त्यस्तै, भिल्लारियलले नापोलीलाई ३–१ गोलले पराजित गरेको छ । भिल्लारियलका लागि जर्जेस मिकाउताद्जे, सान्टियागो मौरिनो र तानितोलुवा ओलुसेयीले गोल गरेका थिए भने नापोलीका अमिर रहमानीले एक गोल फर्काएका थिए । त्यसैगरी आरबी लाइपजिगले पीएसभी आइन्डहोभनलाई १–० गोलले पराजित गरेको छ । लाइपजिगका ब्रायन ग्रुडाले निर्णायक गोल गरेका थिए । त्यस्तै, स्पोर्टिङ सिपीले लेन्सलाई २–० गोलले हराएको छ । स्पोर्टिङका लागि लुइस स्वारेज र इस्सा डुम्बियाले गोल गरेका छन् । त्यस्तै, सबाहले स्लाभिया प्रागलाई २–० गोलले पराजित गरेको छ । सबाहका काहिम पेरिस र जोय-लान्स मिकेल्सले गोल गरेका थिए ।
२०- भारतीय क्रिकेट टोलीका पूर्वअलराउन्डर युवराज सिंह इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि दिल्ली क्यापिटल्सको सहायक तथा ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् । दिल्लीले युवराजलाई नयाँ जिम्मेवारी दिएको घोषणा गरेको हो । यसअघि सौरभ गांगुलीलाई टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो । युवराजका लागि यो पहिलो औपचारिक प्रशिक्षकीय जिम्मेवारी हो । युवराजले दिल्ली क्यापिटल्ससँग नयाँ अध्याय सुरु गर्न उत्साहित रहेको बताएका छन् । उनले गांगुलीसँग खेलाडीका रूपमा काम गरिसकेको र अब प्रशिक्षकका रूपमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
दिल्ली क्यापिटल्सका सहमालिक पार्थ जिन्दालले युवराजको अनुभव, जित्ने मानसिकता र खेलाडीसँग घुलमिल हुन सक्ने क्षमताले टोलीलाई फाइदा पुग्ने बताएका छन् । युवराजले सन् २०१५ मा दिल्लीबाट १४ खेल खेलेका थिए । त्यसबेला उनलाई १६ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरिएको थियो, जुन त्यतिबेला आईपीएलकै सर्वाधिक मूल्य थियो । युवराजले आफ्नो आईपीएल करियरमा १३२ खेल खेल्दै २ हजार ७५० रन बनाउनुका साथै ३६ विकेट लिएका थिए। उनले सन् २०१९ मा सबै प्रकारका क्रिकेटबाट सन्न्यास लिएका थिए ।