पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन शुभारम्भ भएको छ ।
‘स्वास्थ्यको लागि पोखराको लागि’ भन्ने नाराका साथ उक्त म्याराथनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका हुन् ।
पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनमा खुल्ला म्याराथन ४२.१९५ किमी, राष्ट्रिय तथा प्रदेशस्तरीय म्याराथन, ४५ वर्ष माथिको म्याराथन, हाफ म्याराथन महिला–पुरुष, १० किमी दौड, विद्यालय स्तरीय ५ किमी दौड, भेट्रान्स, कर्पोरेट दौड तथा ‘रन फर फन’ लगायतका इभेन्टहरू समावेश गरिएको मञ्चले जनाएको छ ।
म्याराथनमा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, केन्या, नाइजेरिया, बेल्जियम लगायत विभिन्न देशका धावकहरूले सहभागिता जनाएका छन् । म्याराथनतर्फ प्रथम हुनेले ४ लाख, द्वितीयले २ लाख र तृतीयले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पोखरा म्याराथन पोखरामा हुने सबैभन्दा ठुलो दौड प्रतियोगिता हो । संसारका विरलै शहरहरुमा हुने यस प्रकारको म्याराथनले पोखरालाई समेत अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार तथा प्रवद्र्धनमा सहयोग गर्ने विश्वास गरिएको छ ।

FACEBOOK COMMENTS