काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधन भएको १३औँ दिनको पुण्यतिथिमा अक्षय कोष स्थापनाको घोषणा गरिएको छ ।
संघले श्रद्धाञ्जली सभाको आयोजना गर्दै १० लाख रुपैयाँको अक्षय कोष निर्माण गर्ने घोषणा गरेको हो । संघका अध्यक्ष समीर बलामीले कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गरे ।
हरेक वर्ष माघ १८ गते स्व. दिनेश सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गर्ने र संघको वार्षिक उत्सवका अवसरमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित उक्त अक्षय कोष स्थापना गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अक्षय कोषमा सहयोग गर्न सबैसँग अपिल गरे । उनले बोर्डका तर्फबाट अक्षय कोषमा ५१ हजार रुपेयाँ सहयोग प्रदान गर्ने घोषणा गरे ।
यसअघि, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
FACEBOOK COMMENTS