काठमाडौं । ब्राजिलको दक्षिण– पूर्वी राज्य मिनास गेरैसमा लगातारको भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। सोमबार साँझदेखि सुरु भएको तीव्र वर्षापछि जुइज दे फोरा र उबा शहरमा सबैभन्दा बढी क्षति पुगेको जनाइएको छ ।
अधिकारीहरूका अनुसार जुइज दे फोरामा १८ र उबामा ७ जनाको ज्यान गएको छ । बाढी र पहिरोका कारण धेरै घर तथा भवनहरू भत्किएका छन् भने दर्जनौं व्यक्ति अझै बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ ।
राष्ट्रपति लूला दा सिल्वाले जुइज दे फोरामा विपद् अवस्था घोषणा गर्दै मानवीय सहायता र पुनर्निर्माणका लागि संघीय सरकारको पूर्ण सहयोग रहने आश्वासन दिएका छन् ।
जुइज दे फोरामा मात्र करिब ४४० जना विस्थापित भएका छन् । स्थानीय प्रशासनले अस्थायी आश्रयस्थल स्थापना गरी राहत सामग्री उपलब्ध गराउन अपिल गरेको छ। नगर प्रमुखले तीन दिनको शोक घोषणा गरेका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार यस वर्षको फेब्रुअरी महिनामा परेको वर्षा शहरको इतिहासमै सबैभन्दा बढी रहेको छ । राष्ट्रिय मौसम विभागले मिनास गेरैस र रियो दे जेनेरियोसहितका विभिन्न राज्यमा भारी वर्षाको चेतावनी जारी गरेको छ । गत वर्ष रियो ग्रान्दे दो सुल राज्यमा यस्तै विपद्मा करिब २०० जनाको ज्यान गएको थियो ।

FACEBOOK COMMENTS