काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन र सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रम बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनका सम्भावित चुनौती सामना गर्न उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सबै सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताएका थिए । उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राख्दै सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सुरक्षा संवेदनशीलता अनुसार समन्वयात्मक ढंगले कार्य गर्नुपर्ने बताए । सामाजिक सञ्जालमार्फत हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको जानकारी पनि उनले दिए । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन अवधिमा देखिन सक्ने जोखिमको सूक्ष्म विश्लेषण गर्दै आवश्यक स्रोतसाधन उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा निर्वाचन सुरक्षा तयारी, जनशक्ति तथा स्रोतसाधन व्यवस्थापनबारे प्रस्तुतीकरण समेत गरिएको थियो।
FACEBOOK COMMENTS