काठमाडौँ । विभिन्न कम्युनिष्ट घटक र समूहहरूको जोडघटाउबाट निर्मित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला निर्वाचनको कडा परीक्षामा छ ।
एकताको ढोल पिटिए पनि जनस्तरमा यसको कुनै पत्यारिलो आधार देखिँएको छैन । नेतृत्वले बहुमत ल्याउने दाबि गरिरहदा भुइँतहको वस्तुगत परिस्थिति भने निकै फरक देखिन्छ । सत्तामुखी दाउपेच र अस्तित्व रक्षाका लागि गरिएको यो एकताले आम मतदातामा भरोसा जगाउन सकेको छैन ।
नेकपाले आफ्नो स्वरूप बदलेको दाबी गरे पनि यसको भित्री संरचना र प्रवृत्तिमा कुनै तात्त्विक भिन्नता देखिँदैन । पार्टीले आफूलाई परिवर्तित शक्ति को रूपमा प्रमाणित गर्न ठूलो संघर्ष गरिरहनु परेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले नेतृत्व गरिरहेको यो नयाँ भनिएको शक्तिलाई जनताले पुरानै ‘मदिरा’ नयाँ ‘बोतल’ मा राखेको रूपमा बुझेका छन् ।
नाम फेरेर केवल सत्ता र पदमा टिकिरहने प्रपञ्च रचिएको भन्ने भाष्य बलियो बन्दै जाँदा पार्टी गम्भीर पहिचान संकटमा फसेको छ । पुरानै कार्यशैली र उही अनुहारहरूको निरन्तरताले गर्दा यो शक्तिले नयाँपनको सन्देश दिन पूर्णतः असफल देखिएको छ ।
विगतका कयौँ निर्वाचनहरूमा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले ‘गठबन्धनको वैशाखी’ टेकेर आफ्नो साख जोगाउँदै आएका थिए । तर, यस पटकको निर्वाचन उनीहरूका लागि वैशाखी विनाको हिँडाइ जस्तै हुनेछ । एक्लै चुनावी मैदानमा उत्रिँदा उनीहरूको वास्तविक शक्तिको धरातल कति छ भन्ने कुरा यसै पटक प्रष्ट हुने देखिन्छ ।

आम रूपमा पार्टीको नाम मात्र फेरेको, पुरानै नेतृत्व कायम रहेको र उस्तै शैलीमा काम गरिरहेको कारण यो चुनावले प्रचण्ड र माधव नेपाललाई आफ्नो ऐना देखाइदिने विश्लेषण गरिएको छ ।

अर्कोतर्फ नेकपा यतिबेला राजनीतिक चक्रव्यूहमा फसेको जस्तो पनि देखिएको छ । एकातिर नेकपा एमाले रक्षात्मक देखिएको छ, तर उसको संगठन अझै पनि मजबुत छ । अर्कोतिर नयाँ र पुराना शक्तिहरूको उदयले नेकपालाई ‘रनभुल्ल’ मा पारेको महसुस गर्न सकिन्छ ।

नेकपाका लागि मुख्य चुनौती नयाँ पुस्ता र शहरी मतदातामाझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिर्जना गरेको लहरले खडा गरेको छ । त्यस्तै आन्तरिक रूपमा विशेष महाधिवेशन पछि नेतृत्व परिवर्तन गरेर नयाँ बनेको दाबि गर्दै चुनाव होमिएको नेपाली कांग्रेसको पक्षमा जनमत ढल्किँदा नेकपालाई आफ्नो सिट सुरक्षित गर्न सकस परेको छ । मुख्य प्रतिष्पर्धी एमाले रक्षात्मक हुँदा त्यसको फाइदा उठाउनु पर्नेमा संगठन र स्पष्ट जनादेशको अभावमा नेकपा आफैं दिशाहीन देखिएको छ ।

धेरै दल र समूहहरू एउटै छातामुनि आए पनि ती बीचमा ‘जनमतको एकता’ हुन सकेको छैन । नेतृत्व तहमा हात मिलाउँदैमा तल्लो तहका मतदाताहरू स्वतः गोलबन्द हुन्छन् भन्नु भ्रम मात्र हो । कतिपय क्षेत्रमा उम्मेदवारहरूको व्यक्तिगत लोकप्रियताका कारण केही सिट जित्ने सम्भावना रहे पनि, समग्र पार्टीको रूपमा नेकपाको मत परिणाम उत्साहजनक हुने देखिँदैन । बलियो संगठन र जनमतको अभावमा केवल केही व्यक्तिको प्रभावले मात्र पार्टीको राजनीतिक साख बचाउन असम्भव प्रायः छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लागि यो निर्वाचन केवल हार(जितको विषय मात्र नभएर अस्तित्वको लडाइँ बन्ने देखिन्छ । अहिलेका राजनीतिका चतुर खेलाडी प्रचण्डले यो निर्वाचनमा सफलता पाउन वा आफ्नो साख जोगाउने प्रयास गरिरहेपनि अहिलेसम्म ठोस कदम चाल्न सकेको देखिदैन । अब मतदानको दिनसम्म उनले कस्तो भूमिका खेलेर पार्टी र आफ्नो साख जोगाउन कदम चाल्छन् त्यो हेर्न रोचक हुने छ ।
FACEBOOK COMMENTS