काठमाडौं, भदौ ५ – चीनको राजधानी बेइजिङका बासिन्दा अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ ।
सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले बिहीबारदेखि अर्को व्यक्तिसँग नजिकै जानुपर्दा बाहेक मास्क लगाउनु नपर्ने व्यवस्था गरिएको हो ।
बेइजिङ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबारदेखि नयाँ नियम लागू गरेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको भन्दै चीनमा पछिल्ला दिनमा विभिन्न प्रतिबन्धहरु हटाइँदै लगिएको छ ।
केही दिनअघि मात्रै हुबेईको वुहानमा एउटा स्विमिङ पुलमा भएको पार्टीमा सयौं मानिस सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप २२ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । बेइजिङमा भने पछिल्लो २४ घण्टामा संक्रमण देखिएको छैन ।
FACEBOOK COMMENTS