काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ र मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले लगायतको टोलीले बुंमती, लेले, नल्लु र ठेचो क्षेत्रका मतदान केन्द्रमा पुगेर निर्वाचन तयारी तथा सुरक्षा अवस्थाबारे जानकारी लिएको हो ।
निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले शान्ति सुरक्षा मजबुत बनाइएको बताउँदै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे । उनले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै मतदान अधिकृत र सुरक्षाकर्मीलाई आफू सुरक्षित रही मतदान स्थल र मतपेटिका सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए ।
कुनै पनि गैरकानूनी गतिविधि भएमा दोषीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गरिने उनको भनाइ थियो । गृहमन्त्री अर्यालले स्थानीय मतदातासँग छलफल गर्दै समग्र अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्न आग्रह गरे । अनुगमनपछि उहाँले शान्तिपूर्ण मतदान हुने र ठूलो संख्यामा नागरिक सहभागी हुने विश्वास व्यक्त गरे ।
यसअघि मन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोलीले बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको निरीक्षण गरेको थियो त्यस्तै मन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले दोलखा, ओखलढुंगा, मोरङ, रौतहट र पर्सामा जिल्ला सुरक्षा समिति, राजनीतिक दल र सरोकारवालासँग छलफल गरेको थियो ।

गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको दैनिक बैठकमार्फत निर्वाचनसम्बन्धी गतिविधिको समीक्षा, रणनीति निर्माण र जनशक्ति परिचालनलाई प्रभावकारी बनाइएको जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अन्तर्गत मतदान अघिदेखि मतपत्र ढुवानी र परिणाम घोषणा सम्मका सम्पूर्ण काम सुरक्षित र व्यवस्थित ढंगले अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ ।

२- सर्लाहीको पर्सा गाउँपालिका-४ स्थित जिगडवा आधारभूत विद्यालयको (क) मतदान केन्द्रका मतदान अधिकृत रघुनाथ महतोको मृत्यु भएको छ । रौतहटको माधवनारायण नगरपालिका-६ घर भइ सर्लाहीको बरहथवा नगरपालिका-५ आधारभूत स्वास्थ्य चौकीमा कार्यरत ४२ वर्षीय महतो मतदान केन्द्रमा अचानक बेहोस भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

३- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-२० साफ च्याम्पियनसिप खेल्ने टिमको घोषणा गरेको छ । एन्फाले धरबेन्द्र कुँवरको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा धरबेन्द्र कुँवर (कप्तान), अलिक श्रेष्ठ, अनुभब पुरी, भक्त बहादुर परियार, विजय उराव, विग्यान खड्का, विनायक थारु, गणेश पुलामी मगर, झोन विष्ट, पवन वंश, निशाण पेम्बा नुरबु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविन कुमार लुङ्गेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम र सुजन सुजन बम रहेका छन् ।

त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन् । साफ यू-२० च्याम्पियनसिप मार्च २३ देखि अप्रिल ४ सम्म माल्दिभ्समा आयोजना हुदैछ । नेपाल प्रतियोगिताको समूह ए मा माल्दिभ्स, भुटान र श्रीलंकासँगै छनोट भएको छ भने समूह बी मा भारत, बंगलादेश र पाकिस्तान छन् । समूह चरण पछि, प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

४- मध्यपूर्वमा बढ्दो तनावका बीच क्रिस्टियानो रोनाल्डो निजी विमानबाट साउदी अरब छोडेर स्पेनको म्याड्रिड पुगेका छन् । रियादमा रहेको अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण भएपछि सुरक्षा चिन्ता बढ्दै जाँदा उनले साउदी अरब छोडेका हुन् । रोनाल्डो हाल साउदी क्लब अल नासरबाट साउदी प्रो लिग खेल्दै आएका छन् ।
उडान विवरणअनुसार उनको निजी बम्बार्डियर ग्लोबल एक्सप्रेस विमान रियादबाट उडेर मध्यरातअघि म्याड्रिड पुगेको थियो । क्षेत्रीय अस्थिरताका कारण धेरै विदेशी नागरिक मध्यपूर्व छोड्ने तयारीमा छन् । बढ्दो हिंसाका कारण एएफसीले पश्चिम क्षेत्रका खेलहरू स्थगित गरेपछि रोनाल्डो पनि परिवारसहित सुरक्षित स्थानतर्फ गएका हुन सक्ने अनुमान गरिएको छ ।
५- संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयले ईरानले अहिलेसम्म देशमाथि १८६ मिसाइल र ८१२ ड्रोन प्रहार गरिसकेको जानकारी दिएको छ । तर मन्त्रालयले अधिकांश आक्रमणलाई एयर डिफेन्स सिस्टमले असफल बनाएको दाबी गरेको छ । मन्त्रालयले दिएको विवरण अनुसार, १८६ मिसाइलमध्ये १७२ वटालाई हवाईमार्गमै रोकेर नष्ट गरिएको थियो । १३ वटा मिसाइल समुद्रमा खसे र एउटा मिसाइल भने युएईको सिमाना भित्र आएर खसेको थियो ।
त्यसैगरी ईरानले पठाएका ८१२ ड्रोनमध्ये ७५५ वटालाई इन्टरसेप्ट गरेर खसालेको मन्त्रालयले जानकारी दिएको छ । रक्षा मन्त्रालयले एयर डिफेन्स सिस्टम पूरै सतर्क अवस्थामा रहेको र देशको सुरक्षा सुनिश्चित गर्न हरेक आवश्यक कदम चालिएको बताएको छ ।
६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान वार्ताका लागि इच्छुक देखिए पनि अहिले भने ढिलो भइसकेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ईरानको हवाई सुरक्षा, वायु सेना, नौसेना र नेतृत्व कमजोर भइसकेको दाबी गरेका हुन् । यसअघि ट्रम्पले ईरानी नेतासँग वार्ताका लागि आफू तयार रहेको बताएका थिए । उनले ईरानले पहिल्यै वार्तामा आउनुपर्ने उल्लेख गर्दै युद्धअघि अमेरिका र ईरानबीच तीन चरणमा छलफल भइसकेको जानकारी दिएको थियो । यसैबीच, रूसी राष्ट्रपति व्लादिमीर पुतिनले पनि ईरानसँग संवाद गर्ने तयारी गरेका छन् ।
क्रेमलिनका अनुसार पुतिनले खाडी क्षेत्रका नेताहरूको बढ्दो चिन्ता तेहरानसम्म पुर्याउनेछन् । पुतिनले मोहम्मद बिन सलमान र शेख तमीम बिन हमद अल थानीसँग टेलिफोन वार्ता गर्दै क्षेत्रीय द्वन्द्व विस्तार हुन सक्ने र त्यसका गम्भीर परिणाम आउन सक्ने विषयमा चिन्ता व्यक्त गरेका थिए । हालैका आक्रमणमा साउदी अरेबियाको तेल प्रशोधन केन्द्र, संयुक्त अरब इमिरेट्सको फुजैराह ऊर्जा केन्द्र र कतारको रस लाफान ग्यास केन्द्र प्रभावित भएको बताइएको छ । यसले विश्व ऊर्जा बजारमा समेत असर पारेको जनाइएको छ ।
७- नेपालमा विदेशी पर्यटकको अगामन फेब्रुअरी महिनामा ८.८ प्रतिशतले बढेको छ । गत बर्षको फेब्रुअरी महिनामा भन्दा यस बर्षको फेब्रुअरीमा नेपाल आउने विदेशी पर्यटकको संख्या ८.८ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको फेब्रुअरीमा कुल एक लाख ५ हजार ४४१ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को फेब्रुअरीमा यो संख्या एक लाख २ हजार ४२३ रहेको थियो ।
फेब्रुअरी महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट फेब्रुअरीमा २२ हजार ७४५ जना अर्थात २१.६ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै फेब्रुअरीमा चीनबाट दोस्रो धेरै १० हजार ८१६ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ । त्यसैगरी अमेरिकाबाट ९ हजार ७१०, श्रीलंकाबाट ७ हजार ५१५ जना, म्यानमारबाट ६ हजार ३५ जना, बेलायतबाट ५ हजार ६१८ जना, अस्ट्रेलियाबाट ४ हजार १२६ जना र थाइल्याण्डबाट ३ हजार ६३८ पर्यटक फेब्रुअरी महिनामा नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ३५ हजार ३४८, एशियाका अन्य देशबाट २९ हजार ८५७ जना, युरोपबाट १७ हजार ४९३ जना, अमेरिका क्षेत्रबाट ११ हजार ८१५ जना, ओसिनियाबाट १ हजार ६८० जना फेब्रुअरी महिनामा नेपाल आएका छन् ।
८- लेबनानको सरकारले हिजबुल्लाहको सैन्य गतिविधिमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको छ । राष्ट्रपति मिशेल औनले युद्ध र शान्तिको निर्णय अब केवल लेबनानी राज्यको हातमा हुने भन्दै हिजबुल्लाहको सैन्य गतिविधिमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिएका छन् । उनले हिजबुल्लाहले आफ्ना हतियार सरकारलाई बुझाउनुपर्ने र यो निर्णयबाट पछाडि हट्ने कुनै विकल्प नभएको स्पष्ट गरेका छन् । यो निर्णय त्यसबेला आएको हो जब लेबनान र इजरायलको सीमामा तनाव निकै बढेको छ । हिजबुल्लाहले हालै इजरायलतर्फ रकेट प्रहार गरेको थियो ।
इजरायलले इरानमा आक्रमण गरेपछि हिजबुल्लाहले इजरायलमा आक्रमण गर्ने निर्णय गरेको थियो । ताजा इजरायली बमबारीमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । हिजबुल्लाहले इजरायल र अमेरिकाले ईरानविरुद्ध चालेको सैन्य कारबाहीको जवाफमा आफूले यो हमला गरेको स्पष्ट गरेको छ । यसैबीच संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय युएनएचसीआरका अनुसार, पछिल्लो लडाइ सुरु भएयता लेबनानमा कम्तीमा ३० हजार मानिस आफ्नो घर छाडेर राहत शिविरमा पुगिसकेका छन् । धेरै मानिस गाडीमै वा सडक छेउमा रात बिताउन बाध्य छन् भने कोही अझै ट्राफिक जाममा फसेका छन् ।
९- आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मानव अधिकार आयोगले देशभर अनुगमन टोली परिचालन गरेको छ । आयोगले निर्वाचनको दिन काठमाडौं उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा अध्यक्ष, सदस्य र पूर्वपदाधिकारीहरू समावेश गरी उच्चस्तरीय अनुगमन टोली खटाएको जनाएको छ । यसअघि विभिन्न जिल्लामा गरिएको निर्वाचनपूर्व अनुगमनको आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाहरूलाई आवश्यक ध्यानाकर्षण गराइसकिएको आयोगले जनाएको छ ।
आयोगले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार मात्र नभई मानव अधिकारसँग प्रत्यक्ष सम्बन्धित विषय भएको स्मरण गराउँदै सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी भई आफ्नो मत प्रयोग गर्न आग्रह गरेको छ । मौन अवधि सुरु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता पालना गर्दै धैर्यता र संयमता अपनाउन राजनीतिक दलहरूलाई पनि अनुरोध गरिएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै आयोगले यस कार्यमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी र आमनागरिकको सहयोग आवश्यक रहेको जनाएको छ ।
निर्वाचन अवधिमा शान्ति-सुरक्षा कायम राख्दै प्रक्रिया मानव अधिकारमैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ । मौन अवधिमा कुनै अवाञ्छित गतिविधि नगर्न तथा सम्भावित गतिविधि रोक्न आयोगले सरकार र निर्वाचन आयोगलाई सतर्क रहन अनुरोध गरेको छ । निर्वाचनका क्रममा स्वास्थ्य सेवा, आकस्मिक उपचार, शव व्यवस्थापन, सञ्चार, खानेपानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताका लागि सवारीसाधन तथा हवाई सेवा जस्ता अत्यावश्यक सेवा नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । आयोगले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित, विश्वसनीय र मानव अधिकारमैत्री हुने विश्वास व्यक्त गरेको छ।
१०- ललितपुरको पुलचोकस्थित दाउरा थकाली रेष्टुरेष्टमा भिषण आगलागी नियन्त्रणमा लिइएको छ । ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा तुरुन्तै परिचालन भएकाले आगलागी तुरुन्तै नियन्त्रणमा लिइएको हो । आगलागी नियन्त्रण गर्न काठमाडौँ महानगर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल पनि घटनास्थलमा परिचालन गरिएको थियो । आगलागीको कारण र नोक्सानी बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
११- मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढ्दै जाँदा तेल र प्राकृतिक ग्यासको मूल्य मंगलबार पनि तीव्र रूपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मुल्य ६ प्रतिशतले बढेर प्रतिव्यारेल ८२ डलर पुगेको छ । यो जुन २०२५ यताकै उच्च स्तर हो । अमेरिकन सूचक डब्लुटीआई (डब्लुटीआई ) पनि ६ प्रतिशतले उकालो लाग्दै ७५.६ डलर प्रतिव्यारेल पुगेको छ । यता युरोपियन प्राकृतिक ग्यासको मूल्य झन् तीव्र रूपमा बढेको छ । युरोपको मानक ग्यास फ्युचर्स ३४ प्रतिशतले बढेर प्रति मेगावाट आवर करिब ५९ युरो (६८ डलर) पुगेको छ ।
कतारको सबैभन्दा ठूलो ग्यास उत्पादक कम्पनीले उत्पादन रोक्ने निर्णय गरेपछि मुल्य चर्किएको हो । इरानले खाडी क्षेत्रमा ऊर्जा पूर्वाधारलाई निशाना बनाएको दाबीपछि यस्तो निर्णय गरिएको जनाइएको छ । विश्लेषकहरूका अनुसार अमेरिका-इजरायल र इरानबीचको द्वन्द्व चौथो दिनमा प्रवेश गरेसँगै मध्यपूर्वबाट हुने तेल र ग्यास निर्यात अवरुद्ध हुन सक्ने चिन्ता बढेको छ । विश्वको महत्वपूर्ण जलमार्ग मानिने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द हुँदा ऊर्जा आपूर्ति प्रभावित हुने देखिएको छ ।
ऊर्जा बजारको उतारचढावको असर विश्व शेयर बजारमा पनि परेको छ । दक्षिण कोरियाको कोस्पी सूचक ७ प्रतिशतभन्दा बढीले घटेको छ । जापान र हङकङका प्रमुख सूचकहरू पनि ओरालो लागेका छन् । युरोपमा लन्डनको एफटीएसई १०० सूचक बिहानको कारोबारमा २.७ प्रतिशतले घटेको छ । जर्मनीको ड्याक्स ३.४ प्रतिशतले झरेको छ भने फ्रान्सको क्याक सूचक २.८ प्रतिशतले तल आएको छ । अमेरिकन फ्युचर्स बजारले पनि तीव्र गिरावटका संकेत देखाएको छ । ऊर्जा आपूर्तिमा अनिश्चितता कायम रहे विश्व अर्थतन्त्रमा थप दबाब पर्न सक्ने विश्लेषण गरिएको छ ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा-१ का प्रतिनिधिसभा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरेको हो । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ ।
१३- नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने पन्चकन्यामाई हाइड्रोको शेयर ९.८९ प्रतिशतले र रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.८२ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी शुभम पावरको शेयर २.५३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३४ करोड ६५ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २७ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।
१४- राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले प्रसाईंलाई थुनामा राख्नुको कारण सोधेको हो । प्रसाईले अधिवक्ता सुरेश बोहरामार्फत् बन्दीप्रत्यक्षीकरणको रिट दायर गराएका थिए ।
प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यसअघि निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनी फागुन ४ गते पक्राउ परेका थिए । फागुन १२ गते सर्वोच्चको आदेशपछि उनी रिहा भएका थिए । रिहाइ भएको एक हप्ता नबित्दै प्रसाईंलाई फागुन १७ गते प्रहरीले फेरि नियन्त्रणमा लिएको हो । निर्वाचनको समय नजिक भइरहेको बेला प्रसाईले भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
१५- गृहमन्त्री ओम प्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित नेपाली सेनाको अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेको थियो । फागुन १८ गते रामेछाप नगरपालिका-२ सिरुबारीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।
मन्थलीबाट कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी लिएर जाँदै गरेको ना. ७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा मतदान अधिकृत डोरप्रसाद घिमिरे र नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको ज्यान गएको प्रहरीले जनाएको छ। गाडीमा कुल ११ जना सवार रहेको बताइएको छ ।
घाइतेहरूलाई उद्धार गरेर छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सक नेपाली सेनाका सहायकरथी डा. नम्रता महराका अनुसार पूजा सुनुवारको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । अन्य घाइते भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन्। घाइतेमध्ये चार महिला र तीन पुरुष रहेका छन् । भेटका क्रममा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनीसँगै गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्ले लगायत उच्च अधिकारीहरू पनि अस्पताल पुगेका थिए ।
१६- अमेरिकाले रियाद र कुवेतस्थित आफ्ना दुताबास बन्द गरेको छ । इरानले आक्रमण गरेपछि अमेरिकाले साउदी अरेबियामा आफ्ना सबै कन्सुलर सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ । अमेरिकी दुताबासले सूचना प्रकशित गरि नियमित तथा आकस्मिक सबै अमेरिकी नागरिक सेवा भेटघाटहरू रद्द गरिएको जनाइएको छ । साउदी अरेबियामा बसोबास गर्ने अमेरिकी नागरिकहरूलाई सुरक्षित स्थानमै बस्न सल्लाह दिइएको छ ।
त्यस्तै कुवेतस्थित अमेरिकी दुताबास पनि अनिश्चितकालका लागि बन्द गरिएको छ । ईरानद्वारा कुवेतमा आक्रमण भएपछि दूतावास नजिक धुवाँ देखिएको एक दिनपछि यस्तो निर्णय सार्वजनिक गरिएको हो । दूतावासले जारी गरेको वक्तव्यमा क्षेत्रीय तनाव जारी रहेकाले अर्को आदेश नभएसम्म दूतावास बन्द रहने उल्लेख गरिएको छ । नियमित तथा आपतकालीन सबै कन्सुलर सेवाहरू रद्द गरिएको पनि स्पष्ट पारिएको छ ।
१७- आइसीसी टी-२० विश्वकपबाट बाहिरिएका वेस्ट इण्डिज र जिम्बाबेका खेलाडी स्वदेश फर्किन नपाएर भारतमै रोकिएका छन् । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण एयरस्पेस बन्द हुँदा दुवै टोलीको यात्रा प्रभावित भएको हो । सेमिफाइनल नपुग्दै बाहिरिएका दुवै टिम निर्धारित तालिकाअनुसार फर्किनुपर्ने थियो । तर ईरान-इजरायलबीचको द्वन्द्वका कारण पश्चिम एसियाको हवाई मार्ग अवरुद्ध भएपछि उनीहरूको उडान रद्द गरिएको हो ।
क्रिकेट वेस्ट इण्डिजले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वका देशहरूमा बढेको सैन्य गतिविधि र सुरक्षाको जोखिमका कारण अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्नुपरेको जनाएको छ । खेलाडी र प्रशिक्षकहरूको सुरक्षालाई प्राथमिकता दिँदै यात्रा स्थगित गरिएको बोर्डले स्पष्ट पारेको छ । जिम्बाब्वे टोलीले आइतबार दक्षिण अफ्रिकाविरुद्ध अन्तिम खेल खेलेको थियो । टोलीका केही सदस्य सोमबार दिल्लीबाट दुबई हुँदै हरारे प्रस्थान गर्ने तयारीमा थिए । तर दुबई क्षेत्रमा एयरस्पेस बन्द भएपछि उडान रद्द गरियो । हाल जिम्बाब्वे टोली दिल्लीस्थित होटलमा बसिरहेको छ ।
उता वेस्टइन्डिज टोली कोलकाताको होटलमा सुरक्षित रहेको बताइएको छ । दुवै देशका क्रिकेट बोर्डहरू आइसीसीसँग समन्वय गरेर सुरक्षित फिर्तीको विकल्प खोजिरहेका छन् । आईसीसीले धेरै खेलाडी र सपोर्ट स्टाफको कनेक्टिङ फ्लाइट दुबईबाट हुने भएकाले समस्या उत्पन्न भएको जनाएको छ । एयरस्पेस बन्द हुँदा वैकल्पिक मार्ग खोज्न कठिनाइ भइरहेको छ । यसका लागि आईसीसीले छुट्टै ट्राभल सपोर्ट डेस्क पनि सक्रिय गरेको छ । यस वर्षको टी-२० विश्वकप भारत र श्रीलंकामा आयोजना भइरहेको छ । सुपर आठ चरणपछि भारत, न्यूजिल्याण्ड, इंग्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलका खेल बुधबार र विहिबार हुदैछन् ।
१८- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको २५ सयले बढेर तोलाको ३ लाख २८ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख २६ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले घटेर तोलाको ५८१५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ६०२० मा कारोबार भएको थियो ।
१९- मध्यपूर्वमा जारी सैन्य कारबाहीका क्रममा अहिलेसम्म ६ जना अमेरिकी सैनिकको ज्यान गएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । प्राप्त जानकारी अनुसार इरानको प्रारम्भिक आक्रमणमा लक्षित गरिएको एक सैन्य संरचनाबाट यसअघि सम्पर्कविहीन रहेका दुई सैनिकको शव हालै फेला पारिएको हो । क्षेत्रमा प्रमुख सैन्य कारबाही अझै जारी रहेको कमाण्डले स्पष्ट पारेको छ । ज्यान गुमाएका सैनिकहरूको परिचय भने परिवारलाई औपचारिक जानकारी दिएको २४ घण्टापछि मात्र सार्वजनिक गरिने जनाइएको छ ।
२०- रियल म्याड्रिड घरेलु मैदानमै स्तब्ध भएको छ । गएराती सम्पन्न ला लिगा अन्तर्गतको घरेलु मैदानमै सम्पन्न खेलमा गेटाफेले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । गेटाफेको जितमा खेलको ३९औं मिनेटमा मार्टिन साट्रीयानोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा रियल म्याड्रिडका फ्रान्को मस्टानटुओनो र गेटाफेका आड्रीयान लिसोले रातो कार्ड पाएका थिए । यो हारपछि रियल म्याड्रिडको २६ खेलमा ६० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफेको यो जितपछि २६ खेलमा ३२ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ ।
FACEBOOK COMMENTS