काठमाडौँ । नेपालका लागि जर्मनीका राजदूत तथा नेपाल जर्मन उद्योग वाणिज्य संघका मानार्थ अध्यक्ष महामहिम उडो यूजेन भोल्जले लगानी आकर्षित गर्न तथा व्यापार र आर्थिक गतिविधि विस्तार गर्न सुदृढ व्यावसायिक वातावरण अनिवार्य रहेको बताएका छन्।
उनले एनजीसीसीआई तथा नेपाल उद्योग वाणिज्य महासंघसँग आवद्ध व्यवसायीहरूसँगको अन्तरक्रियामा उक्त धारणा व्यक्त गरेका हुन्। एनजीसीसीआई सचिवालयमा आयोजित स्वागत कार्यक्रममा एनजीसीसीआई का अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपाल–जर्मनी व्यापार तथा लगानी प्रवद्र्धनमा संस्थाले विगत ३५ वर्षभन्दा बढी समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले राजदूत भोल्जको मानार्थ अध्यक्षको रूपमा सक्रिय संलग्नताप्रति आभार व्यक्त गरे।
अध्यक्ष कुँवरले जर्मन लगानी नेपालमा वृद्धि गर्ने, नेपाल–युरोपियन युनियन आर्थिक सहकार्य सुदृढ गर्ने तथा श्रम र दक्ष जनशक्ति आप्रवासनसम्बन्धी सम्झौतामा देखिएको स्थिरता तोड्नुपर्ने आवश्यकतामाथि जोड दिए। उनले एनजीसीसीआई ले नीतिगत तहमा सक्रिय भूमिका खेले पनि अपेक्षित प्रगति हुन नसकेको बताए।
उनले १५० भन्दा बढी सदस्यको सुदृढ आधार भएको एनजीसीसीआई द्विपक्षीय लगानी भ्रमण तथा पहलहरू सहजीकरण गर्न तयार रहेको जनाउँदै सहकार्यलाई तीव्रता दिने र ठोस उपलब्धि हासिल गर्ने विषयमा मार्गदर्शनको अपेक्षा व्यक्त गरे।
राजदूत भोल्जले नेपाली उद्यमीहरूले नेपाल र जर्मनी दुवै देशमा आयोजना हुने व्यापार मेला तथा फोरमहरूमा सहभागिता जनाएर आफ्ना व्यवसाय प्रवद्र्धन गर्न सक्ने बताए। उनले जर्मन पर्यटकहरूको नेपालप्रति बढ्दो आकर्षण रहेको उल्लेख गर्दै पर्वतारोहण क्षेत्रमा संयुक्त प्रवद्र्धनको ठूलो सम्भावना रहेको बताए।

उनले भिसा, लगानी प्रवद्र्धन तथा अन्य द्विपक्षीय विषयहरूमा विस्तृत छलफल गरी व्यावहारिक र चरणबद्ध समाधान खोज्न सकिने आश्वासन दिए।

एनजीसीसीआई का निवर्तमान अध्यक्ष अनुप बहादुर मल्लले नेपालले पहिले जर्मनीसँग व्यापार अधिशेष हासिल गरेको भए पनि हाल वस्तु तथा सेवाको प्रवद्र्धनमा चुनौतीका कारण घाटा व्यहोर्नु परेको बताए। उनले समन्वित प्रयासमार्फत निर्यात वृद्धिको ठूलो सम्भावना अझै रहेको उल्लेख गरे। साथै, मापदण्ड, व्यापार अवरोध, प्रमाणीकरण तथा बजार पहुँचसम्बन्धी समस्याहरू समाधान गर्नुपर्ने आवश्यकता औँल्याए।

यसैबीच, एनजीसीसीआई का सल्लाहकार डा. गोपाल प्रसाद तिवारीले नेपाल र जर्मनीमा विगत केही वर्षमा भएका संस्थागत गतिविधिहरूको प्रस्तुति दिए। उनले जर्मनीस्थित दूतावाससहित स्थानीय तथा जर्मन व्यवसायीहरूसँगको सहकार्यमा नेपाल–जर्मनी व्यापार तथा आर्थिक सम्बन्ध विस्तार गर्न एनजीसीसीआई ले महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले साझा समृद्धिका लागि नेपाल र जर्मनीबीचको व्यापार तथा आर्थिक सम्भावनालाई प्रवद्र्धन र पुनर्जीवित गर्न एनजीसीसीआई प्रतिबद्ध रहेको उल्लेख गर्दै नीतिगत वकालत, जर्मन लगानी प्रवद्र्धन तथा अन्य संयुक्त गतिविधिहरू एनजीसीसीआई सचिवालयमार्फत प्रभावकारी रूपमा अगाडि बढाउन सकिने बताए।

त्यसैगरी, एनजीसीसीआईका उपाध्यक्ष तथा एफ्नसिसिआईका कार्यकारिणी सदस्य नरेश लाल श्रेष्ठ, एनजीसीसीआईका उपाध्यक्ष उत्तम भट्टराई, महासचिव एलेक्स लाल मुक्तान, कोषाध्यक्ष शुभाशीष थपलिया, कार्यकारिणी सदस्य भक्त बहादुर हमाल, अवदेश के. दास, राजीव मंगल जोशी र विधाता श्रेष्ठलगायत अन्य कार्यसमिति सदस्यहरूले जर्मन दूतावाससँग समन्वय गरी भिसा सहजीकरण, उच्च आम्दानी दिने पर्यटकलाई नेपालमा आकर्षित गरी पर्यटन प्रवद्र्धन, बजार पहुँच तथा निर्यात प्रवद्र्धनसम्बन्धी विषयहरू उठाएका थिए। यी विषयहरू काठमाडौँस्थित जर्मन दूतावासका उच्चस्तरीय अधिकारीहरूले सकारात्मक रूपमा ग्रहण गरेका थिए।
त्यसैगरी, एनजीसीसीआई का उपाध्यक्ष तथा एफ्नसिसिआई का कार्यकारिणी सदस्य नरेश लाल श्रेष्ठ, उपाध्यक्ष उत्तम भट्टराई, महासचिव एलेक्स लाल मुक्तान तथा कोषाध्यक्ष शुभाशीष थपलियालगायत कार्यसमिति सदस्यहरूले भिसा सहजीकरण, बजार पहुँच र निर्यात प्रवद्र्धनसम्बन्धी विषयहरू जर्मन दूतावाससँग समन्वय गरी उठाएका थिए। ती विषयहरूलाई राजदूतले सकारात्मक रूपमा ग्रहण गरेका थिए।
उक्त कार्यक्रममा जर्मन दूतावासका प्रथम सचिव पिटर स्पेयर तथा लुकास श्मिड्टसहित २५ भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको समापन गर्दै ल्न्ऋऋक्ष् का सल्लाहकार डा. तिवारीले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल–जर्मनी व्यापार तथा आर्थिक सम्बन्धलाई थप गतिशील बनाउन सबै अतिथिहरूको महत्वपूर्ण सुझाव र सहभागिताप्रति आभार व्यक्त गरे।
FACEBOOK COMMENTS