काठमाडौं । मोरिस ग्यारेज (एमजी) एमजीले आधुनिक दुई प्रविधिको प्रयोग गर्दै आफ्ना विद्युतीय कारमा ठूलो परिवर्तन ल्याउने भएको छ ।
एमजीले आफ्ना उत्पादनलाई थप शक्तिशाली, सहज, सुरक्षित र किफायती बनाउन कारमा हाइब्रिड प्रविधि र सोलिड कोर ब्याट्रीको प्रयोग गर्ने भएको हो ।
यसैक्रममा एमजीले उन्नत प्रविधि भएका नयाँ हाइब्रिड कारहरू विकास गर्दैछ । यी गाडीहरूमा ‘इलेक्ट्रीक टर्बो’ र विशेष मोटरहरू जडान गरिनेछन् । जसले गाडीको आवाजलाई निकै कम गर्नेछन्।
नयाँ हाइब्रिड प्रणाली जर्मनीको फ्र्याङ्कफर्टमा रहेको एमजीको इन्जिनियरिङ केन्द्रमा तयार पारिँदैछ। यो प्रविधि आउँदै गरेको ‘एमजी एस ९ प्लग(इन हाइब्रिड’ कारमा पहिलो पटक प्रयोग हुन सक्छ। एमजीले आफ्ना विद्युतीय कारहरूमा पनि ठूला सुधार गर्ने योजना बनाएको छ।
त्यस्तै, सेमी सोलिड स्टेट भनिने नयाँ प्रकारको ब्याट्री यसै वर्षको अन्त्यतिर युरोपमा एमजी फोर इलेक्ट्रिक ह्याचब्याकको टप भेरियन्टमा प्रयोग गरिने छ । यो व्यावसायिक रूपमा धेरै मात्रामा उत्पादन गरिएको संसारकै पहिलो सेमी सोलिड स्टेट ब्याट्री हुनेछ ।

एमजीका वरिष्ठ इन्जिनियर किउ जीले नयाँ इलेक्ट्रीक टर्बो ७० हजार आरपीएमसम्मको उच्च गतिमा घुम्न सक्ने जानकारी दिए । यो टर्बोले गाडीको कार्यक्षमता र दक्षता दुवैमा सुधार ल्याउँछ। यसले इलेक्ट्रीक र पेट्रोल इन्जिन बीचको शक्तिको सन्तुलनलाई पनि सहज बनाउँछ। नयाँ हाइब्रिड प्रणालीमा यात्रालाई थप आरामदायी बनाउन विशेष डिजिटल ड्याम्पिङ प्रविधि पनि राखिएको छ।

यसमा रहेको इलेक्ट्रीक मोटरले गाडी गुडाउने मात्र नभई इन्जिनको भाइब्रेन्टलाई पनि कम गर्छ। कारमा भएका सेन्सरहरूले भाइब्रेन्ट पत्ता लगाउँछन् र त्यसलाई रोक्न कति बल चाहिन्छ भन्ने गणना गर्छन्। त्यसपछि मोटरले उक्त भाइब्रेन्टलाई निष्क्रिय पारिदिन्छ। जसले कार शान्त र आरामदायी हुन्छ।

नयाँ प्रणाली र टर्बोलाई राम्ररी चलाउन एमजीले १.८३ किलोवाट आवरको ठूलो ब्याट्री थप्दैछ। यी परिवर्तनहरूसँगै नयाँ हाइब्रिड कारहरू पुराना मोडेलहरू भन्दा सहज, शान्त र छिटो हुने अपेक्षा गरिएको छ।
एमजीको नयाँ सेमी सोलिड स्टेट ब्याट्री जसलाई ‘सोलिडकोर’ नाम दिइएको छ । यो यस वर्षको अन्त्यसम्ममा उपलब्ध हुने अनुमान छ। यो ब्याट्रीमा करिब ९५ प्रतिशत ठोस वस्तु र ५ प्रतिशत मात्र तरल पदार्थ हुन्छ । जसले गर्दा यो साधारण ब्याट्रीभन्दा बढी ठोस हुन्छ ।
यसले धेरै ऊर्जा भण्डारण गर्न सक्छ अर्थात् एक पटकको चार्जमा धेरै टाढासम्म गुड्न सक्छ। यसले छिटो चार्जिङ गर्न र विभिन्न तापक्रममा राम्रो प्रदर्शन गर्न पनि मद्दत गर्छ।
एमजीले आफ्नो नयाँ ब्याट्री धेरै सुरक्षित भएको दाबी गरेको छ। परीक्षणको क्रममा यसलाई किच्दा वा ड्रिलले प्वाल पार्दा पनि यसमा आगो लाग्दैन वा झिल्का निस्कँदैन । यो ब्याट्रीमा लिथियम र म्यागजिन साथै ठोस र जेलजस्तो पदार्थको मिश्रण हुन्छ । जसले गर्दा यो सुरक्षित र स्थिर रहन्छ ।
FACEBOOK COMMENTS