काठमाण्डौ, भदौ ९ – कोरोना नियन्त्रणमा बैतडीमा साढे ११ करोड खर्च गरिएको छ। जिल्लाका १० वटै स्थानीय तहहरुले ११ करोड ५१ लाख रुपैयाँ खर्च गरेका छन्। स्थानीय तहहरुले गत आर्थिक वर्षमा क्वारेन्टाइन व्यवस्थापन तथा निर्माण, आइसोलेसन निर्माण, राहत वितरण, यातायात, औषधि तथा स्वास्थ्य सुरक्षा सामग्री खरिद, जोखिम भत्ता लगायतका शीर्षकमा रकम खर्च गरेका हुन्। सबैभन्दा बढी पाटन नगरपालिकाले १ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ।
राहत वितरणमा मात्रै नगरपालिका ७३ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। नगरपालिकाले गरेको खर्च अस्वाभाविक भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको नेतृत्वमा छानबीन समेत बनाइएको छ। समितिले आफ्नो काम गरिरहेको समितिका संयोजक भट्टले बताए।
यस्तै, जिल्लाको दोगडाकेदार गाउँपालिकाले १ करोड ६५ लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ। पुर्चौंडी नगरपालिकाले १ करोड ५४ लाख ७२ हजार ३९६ रुपैयाँ, मेलौली नगरपालिकाले ६० लाख २० हजार रुपैयाँ खर्च भएको जनाएको छ। यस्तै, दशरथचन्द नगरपालिकाले ९१ लाख ७७ हजार, सुर्नया गाउँपालिकाले ९२ लाख ८५ हजार २९४ रुपैयाँ खर्च गरेको छ।
डिलाशैनी गाउँपालिकाले १ करोड ५० लाख ७१ हजार ८००, पञ्चेश्वर गाउँपालिकाले १ करोड ४१ हजार ७७६, शिवनाथ गाउँपालिकाले ९२ लाख ३९ हजार ६१५ र सिगास गाउँपालिकाले ७० लाख ९० हजार रुपैयाँ खर्च गरेको छ।बैतडीमा हाल ३३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतबाट फर्किएका २४९ जना अझै पनि क्वारेन्टाइनमा बसिरहेका छन्।
FACEBOOK COMMENTS