काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी)ले आगामी १५ मे २०२६ मा अमेरिकाको टेक्सास राज्यको ग्रेपभाइनस्थित एमबेसी स्विटस् वाई हिलटनमा आयोजना हुने ‘नेपाल टेक रोड शो यूएसए २०२६’को घोषणा गरेको छ ।
नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस रोड शोमार्फत नेपालको आईटी क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुका साथै अमेरिकी कम्पनीहरू, लगानीकर्ता तथा गैरआवासीय नेपाली समुदायसँग अर्थपूर्ण व्यावसायिक सम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको आयोजक नास–आईटीले जनाएको छ ।
यस पहलले नेपाललाई सफ्टवेयर विकास, एआई, डाटा तथा डिजिटल रुपान्तरण सेवाका लागि भरपर्दो र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ ।
यसअघि भएका अन्तर्राष्ट्रिय पहलहरूको सफलतापछि आयोजना हुन लागेको नेपाल टेक रोड शो यूएसए २०२६ नेपाली आईटी कम्पनीहरूलाई अमेरिकी बजारसँग प्रत्यक्ष रूपमा जोड्ने लक्ष्यसहित अघि बढाइएको हो ।
कार्यक्रममार्फत नेपालको प्रविधि क्षमता प्रदर्शन, दीर्घकालीन साझेदारी विकास तथा विश्वकै प्रमुख प्रविधि बजारमध्ये एकमा नेपाली कम्पनीहरूको अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।

नास–आईटीका संस्थापक अध्यक्ष तथा कार्यकारी बोर्ड सदस्य रिचन श्रेष्ठले भने, ‘विश्वले भर्खरै मात्र नेपालको प्रविधि उद्योगको वास्तविक क्षमता बुझ्न थालेको छ । हामीसँग विश्वव्यापी व्यवसायहरूका लागि दीर्घकालीन प्रविधि साझेदार बन्न सक्ने प्रतिभा, विश्वसनीय सेवा प्रदान गरेको अनुभव तथा ठूलो महत्त्वकांक्षा छ ।

आगामी ८ मेमा सान फ्रान्सिस्को र १५ मेमा डलासमा आयोजना हुने नेपाल टेक रोड शो यूएसए २०२६ नेपालको प्रविधि उद्योगलाई विश्वमञ्चमा स्थापित गर्ने नास–आईटीको प्रतिबद्धता हो ।’

मुख्य कार्यक्रमअघि, ८ मे २०२६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा ‘नेपाल टेक कनेक्ट सान फ्रान्सिस्को’ आयोजना गरिने समेत आयोजनकले जनाएको छ । उक्त कार्यक्रम बे–एरिया क्षेत्रमा रहेका व्यवसायी, उद्यमी, लगानीकर्ता तथा नेपाली पेशाकर्मीहरूसँग नेटवर्किङ तथा छलफलका लागि केन्द्रित हुनेछ ।
यस कार्यक्रममा नेपालिज अमेरिकन चेम्बर अफ कमर्स आधिकारिक स्थानीय साझेदारका रूपमा रहनेछ भने अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल मुख्य साझेदार रहनेछ ।