काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्नका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको खारेज गर्दै म्याद थप भएको सोमबारसम्म अनुसन्धान सक्न परमादेश जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईलाई विहिबार चारदिनको म्याद थप गरे अनुसार सर्वोच्चले सो समय अवधिमा अनुसान्धान सकेर मुद्दा चल्ने भएमा सोही बमोजिम गर्न र नभएमा थुनामुक्त गर्न परमादेश दिएको छ ।
यसअघि बुधबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण मागेको थियो ।

प्रसाईंलाई मंगलबार पर्साको वीरगन्जबाट पक्राउ गरिएको थियो । पर्सा प्रहरीले वीरगन्जको दियालो होटलबाट नियन्त्रणमा लिइ विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

प्रसाईंको हकमा अधिवक्ता आशिष लुइटेलले जिल्ला प्रहरी कार्यालय पर्सालाई विपक्षी बनाइ सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।