काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा शनिबार बिहान कोलकाता आइपुगेका छन् । भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् ।
“मार्को रुबियो भारत भ्रमणमा छन् । उनी शनिबार कोलकाता आइपुगेका छन्, यो उनको भारतको पहिलो भ्रमण हो,” सर्जियो गोरले लेखेका छन्, “उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेछन् । बैठकमा व्यापार, प्रविधि, रक्षा, क्वाड र अन्य धेरै मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।”
क्वाड बैठक अमेरिका–भारत साझेदारीलाई अझ बलियो बनाउने ट्रम्पको दृष्टिकोणलाई अगाडि बढाउन बैठक केन्द्रित हुने गोरले बताएका छन् ।
रुबियो मे २६ सम्म भारत भ्रमणमा रहनेछन् । यस अवधिमा उनी कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्नेछन् ।
रुबियो अमेरिका, जापान, भारत र अस्ट्रेलिया सम्मिलित क्वाड समूहका विदेश मन्त्रीहरूको बैठकमा भाग लिन नयाँ दिल्लीमा छन् ।
