काठमाडौं । एलजी इलेकट्रोनिक्सले सीजी इलेकट्रोनिक्स सँगको सहकार्यमा नेपाली बजारका लागि नयाँ “डुअलकूल इन्भर्टर” रेसिडेन्सियल एयर कन्डिसनर (आरएसी) शृङ्खला सार्वजनिक गरेको छ ।
मङ्गलवार ललितपुरको होटेल भिभान्तामा आयोजित कार्यक्रममा उक्त एयर कन्डिसनरको औपचारिक अनावरण गरिएको हो । कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका अध्यक्ष निरञ्जन चौधरीले नयाँ उत्पादन सार्वजनिक गर्दै नेपालमा ऊर्जा दक्ष तथा स्मार्ट घरेलु उपकरणप्रतिको बढ्दो मागलाई सम्बोधन गर्ने दिशामा यो महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
उनले आधुनिक प्रविधियुक्त उपकरण मार्फत उपभोक्तालाई सहज, सुरक्षित तथा ऊर्जा बचत हुने सुविधा उपलब्ध गराउने उद्देश्य रहेको उल्लेख गरे । एलजी इलेकट्रोनिक्सले नयाँ एयर कन्डिसनर शृङ्खलामा “किलोवाट म्यानेजर” नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि समावेश गरेको जनाएको छ ।
कम्पनीका अनुसार उक्त सुविधामार्फत प्रयोगकर्ताले एयर कन्डिसनरको विद्युत् खपत प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्नेछन् । उपभोक्ताले आफू अनुसार विद्युत् खपतको सीमा निर्धारण गर्न सक्ने, सञ्चालन समय व्यवस्थापन गर्न सक्ने तथा एलजी थिनक्यु कनेक्टिभिटी मार्फत वास्तविक समयमै विद्युत् उपयोगको निगरानी गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, अत्यधिक विद्युत् खपत भएमा सूचना प्राप्त हुने र प्रयोग शैली अनुसार स्वचालित ऊर्जा बचत सुविधा समेत उपलब्ध हुने बताइएको छ ।
नयाँ डुअलकूल इन्भर्टर एयर कन्डिसनरमा डुअल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ । जसले ७० प्रतिशतसम्म ऊर्जा बचत तथा ४० प्रतिशतसम्म छिटो शीतलन प्रदान गर्ने दाबी कम्पनीले गरेको छ । यसमा “फ्रिज क्लिन” सुविधा पनि समावेश गरिएको छ । जसले इभापोरेटरलाई सफा राखेर स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । साथै, कनभर्टेबल ५–इन–१ मोड, ऊर्जा बचत प्रणाली, गोल्ड फिन कोटिङ, १०० प्रतिशत कपर ट्युब तथा स्टेबलाइजरबिनै सञ्चालन गर्न सकिने विशेषता पनि यसमा रहेका छन् ।

एलजी इलेकट्रोनिक्स विश्वस्तरमा घरेलु उपकरण, उपभोक्ता इलेकट्रोनिक्स तथा एयर समाधान प्रदायक कम्पनीका रूपमा परिचित छ । कम्पनीले टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर लगायत विभिन्न स्मार्ट घरेलु उपकरण उत्पादन गर्दै आएको छ ।

त्यसै गरी सीजी इलेकट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक हो । कम्पनीले चार दशकभन्दा लामो समयदेखि एलजीसँग सहकार्य गर्दै नेपाली बजारमा एलजीलाई प्रिमियम उपभोक्ता इलेकट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्दै आएको जनाएको छ ।