काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले संसद भवनको निर्माणाधीन हलमा राखिएका सिटबारे प्रश्न उठाएको छ।
बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा हलका सिटहरू फिल्म हलको जस्तो बनाइएको भन्दै प्रश्न गरेका हुन्।
‘त्यो सभाहल प्रतिनिधि सभाको हल हो। त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन्। त्यसका सिटहरू फिल्म हलको जस्तो बनाइएको छ,’ उनले भने।
त्यहाँका टेबलहरू पनि कक्षाकोठाका जस्तो बनाइएको भन्दै उनले प्रश्न उठाएका छन्।
‘सभाहल जस्तो छैन। फिल्म हल जस्तो बनाउने कोशिस गरिएको छ। त्यसलाई ध्यान पुगोस्,’ उनले भने, ‘त्यसलाई प्रतिनिधि सभाको गरिमामय हलजस्तो बनाइयोस्।’

प्रतिनिधि सभाको अन्तिम चरणमा पुगेको नयाँ हल सभामुख डोलप्रसाद अर्यालले निरीक्षण गरेका थिए।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने जेठ १५ गतेको संसद यही हलबाट गर्ने तयारी छ।