काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड ले आफ्ना अभिकर्ता लिडरहरूका लागि आयोजना गरेको ‘संगीत र हासोको गुञ्जन, रमाइलो पोखरामा’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
जेठ १३, १४ र १५ गतेसम्म पर्यटकीय नगरी पोखरा मा आयोजित तीनदिने कार्यक्रम विविध सांगीतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिसहित सम्पन्न भएको हो।
कार्यक्रमअन्तर्गत सहभागीहरूले फेवा ताल अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, सांगीतिक साँझ तथा मनोरञ्जनात्मक प्रस्तुतिहरूको भरपुर आनन्द लिएका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रियस्तरका चर्चित कलाकारहरूको उपस्थितिमा आयोजना गरिएको मनोरञ्जनात्मक कार्यक्रमले अभिकर्ता लिडरहरूलाई रिफ्रेसमेन्ट र थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। ताल बाराही मन्दिरमा आयोजना गरिएको भजन कन्सर्टले सहभागीहरूलाई फरक अनुभूति दिलाएको उनको भनाइ थियो।
कार्यक्रममा कम्पनीमा आबद्ध करिब १५० भन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा चर्चित गायिका समिक्षा अधिकारी, गायक प्रकाश सपुत तथा हास्य कलाकार सन्दीप क्षेत्री को प्रस्तुति मुख्य आकर्षण बनेको थियो। साथै पोखराका स्थानीय भजन समूहले ताल बाराही मन्दिर परिसरमा भजन प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापनमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने ले गीत, संगीत, भजन र हास्य प्रस्तुतिले सहभागी अभिकर्ताहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको बताए।

कम्पनीले अभिकर्ताहरूका लागि निरन्तर रूपमा मोटिभेसनल, सम्मान, रिफ्रेसमेन्ट तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ।