काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले उद्धार गरेको छ ।
पाठकले शनिवार राति भावुक गीतमा रुँदै गरेको भिडियो पोस्ट गरेकी थिइन् । उनलाई बालाजुस्थित वनस्थलीबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
प्रहरीले उनलाई काउन्सिलिङका लागि चिकित्सककहाँ लगेको छ । उनलाई मनमोहन अस्पतालमा लगिएको एसपी भट्टराईले बताए । पाठकले नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएकी छन् ।
प्रहरीले उनलाई आज बिहान सवा ९ बजे उद्धार गरेको हो । गएराति पोस्ट गरेको भिडियोमा उनले ‘ए साथी सम्झनामा आऊ है, तिम्रो लागि संसारै रोयो तर तिमी नरोई नरोई जाऊ है’ भन्ने गीतको व्याकग्राउण्डमा आफ्नो भिडियो पोस्ट गरेकी थिइन् । प्रहरीले उनका परिवारका सदस्यलाई पनि बोलाएको छ । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।